अतिकम विकसित राष्ट्रबाट स्तरोन्नत हुने नेपालको तत्कालको उद्देश्य छः राष्ट्रपति (पूर्ण पाठसहित )



बेइजिङ, वैशाख १३ गते ।राष्ट्रपति विद्यादेवी भण्डारीले अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति हुने नेपालको तत्कालको उद्देश्य भएको बताउनुभएको छ । अन्तरराष्ट्रिय सहयोगका लागि दोस्रो बेल्ट एण्ड रोड मञ्चको आज यहाँ आयोजित उच्चस्तरीय बैठकमा राष्ट्रपति भण्डारीले सन् २०३० अघि नै दिगो विकासका लक्ष्य हासिल गर्दै मध्यम आय भएको राष्ट्र बन्न नेपाल दृढताका साथ अगाडि बढेको बताउनुभयो ।

राष्ट्रपति भण्डारीको मन्तव्यको पूर्ण पाठ–

बेल्ट एण्ड रोड सहयोगः एक उज्ज्वल साझा भविष्यको निर्माण

जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङ,

महामहिमज्यूहरु,

महिला तथा सञ्जनवृन्द

मैले यहाँहरु सबैका लागि बुद्धको भूमि तथा सर्वोच्च शिखर सगरमाथाको देश नेपालको सरकार तथा जनताका तर्फबाट न्यानो अभिवादन तथा शुभेच्छा ल्याएको छु । यस महत्वपूर्ण कार्यक्रममा सहभागिताका लागि आमन्त्रण गर्नुभएकोमा तथा न्यानो आतिथ्य प्रदान गर्नुभएकोमा म महामहिम सी चिनफिङलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । जनगणतन्त्र चीन स्थापना भएको ७० औँ वार्षिकोत्सवको अवसरमा चीन सरकार र चिनियाँ जनतालाई बधाई ज्ञापन गर्न चाहन्छु ।

विश्व आज गम्भीर परिवर्तनको मोडमा छ । संसारका धेरैजसो भागमा गरीबी घटेको छ, स्वास्थ्य तथा शिक्षामा पहुँच सहज बनेको छ र धेरै अर्थतन्त्र समृद्ध बन्दै गइरहेका छन् । अभूतपूर्वस्तरको प्राविधिक क्रान्तिले सम्भावनाको ढोका खोलिदिएको छ । आपसी सहयोग नभएको भए ती उपलब्धि सम्भव हुने थिएनन् । आपसी सहकार्यविना ती सफलता सोच्न सकिने थिएनन् ।

१. यसका बाबजुद नयाँ तथा पुराना चुनौती स्पष्टरुपमा देखा परेका छन् । सम्पत्तिको असमान वितरण व्याप्त छ । धेरैका लागि विकासका प्रतिबद्धता पूरा भएका छैनन् । करोडौँ मानिस गरीबीको अमानवीय चक्रमा बाँधिएका छन् ।

२. सहयोग र सहकार्यको जगले नै सन्देहको सामना गरिरहेको छ । संरक्षणवाद र एकाङ्गी प्रवृत्ति सतहमा आइरहेका छन् ।

३. यस प्रकारको पश्चगामी सोचले कठिन रुपले आर्जन गरिएका उपलब्धिलाई सङ्कटमा पार्ने मात्र नभई भावी पुस्तालाई समेत अन्यायमा पार्नेछ ।

४. विश्वमा कुनै एक कुनामा व्याप्त गरीबी पूरै विश्वका लागि खतरा बन्न सक्छ भन्ने कुरा हामीले स्वीकार गर्नुपर्दछ ।

तसर्थ विविध चुनौतीको बढोत्तरीले कम होइन अझ बढी सहकार्यको माग गर्दछ । सम्पन्न हुन बाँकी विकासले कम होइन अझ बढी आपसी सहयोगको माग गर्दछ । उज्ज्वल र अझ राम्रो भविष्यको खोजले कम होइन अझ बढी कनेक्टिभिटीको माग गर्दछ । एशिया विश्व अर्थतन्त्रको एक प्रमुख शक्ति हो । समृद्ध विश्वको भविष्यका लागि यो क्षेत्र महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने अवस्थामा छ । धेरै समृद्ध सभ्यता भएकाले एशियाको भविष्य समावेशिता र सहकार्यमा आधारित हुनुपर्दछ ।

बेल्ट एण्ड रोड इनिसिएटिभमार्फत मानव जातिको साझा भविष्य निर्माण गर्ने राष्ट्रपति सीको दूरदृष्टिले विशाल सम्भावना बोकेको छ । यो सहकार्य, सहयोग र सम्पर्कको लागि एक महत्वपूर्ण फ्रेमवर्क हो । आपसी हितका लागि संयुक्त प्रयास, न्यायोचित र समतामूलक विश्व व्यवस्थाका लागि समावेशी विकास र मानव जाति तथा पृथ्वीको सुरक्षाका लागि हरित विकास यसको मर्म हो । यसले कनेक्टिभिटीको प्रवद्र्धन, पूर्वाधार विकास, बजारलाई जोड्ने तथा यस क्षेत्र एवं बाहिरका देशमाझ विभिन्न क्षेत्रमा सहयोगको अभिवृद्धिमा जोड दिएको छ ।

यसले एकाङ्गीपनको सट्टा खुलापन, टकरावको सट्टा सहयोग तथा अर्थहीन खेलको सट्टा लाभमा आधारित सहयोगको प्रवद्र्धन गर्दछ । विश्वव्यापी रुपमा स्रोतसाधनको ठूलो अभाव रहेको परिप्रेक्ष्यमा दिगो विकासका लक्ष्य कार्यान्वयन गर्न बिआरआइले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछ ।

साथै विकासको फलबाट कुनै पनि राष्ट्र विमुख नहुने किसिमको समृद्ध भविष्यका लागि बिआरआइ एक संयन्त्र हो । नेपालजस्तो भूपरिवेष्ठित राष्ट्रको सामाजिक आर्थिक विकासका लागि कनेक्टिभिटी सर्वाधिक महत्वपूर्ण छ । बढ्दो कन्क्टिभिटीसँगै व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्बन्धको लागि व्यापक अवसरको ढोका खुल्दछ ।

नेपाल चीन सीमापार रेलवेलगायत हिमालय वारपार बहुआयामिक कनेक्टिभिटीको विकासले नेपाल र चीनबीच मात्र नभई यस क्षेत्रका अन्य देशहरुसँग समेत सम्पर्क सञ्जाललाई प्रवद्र्धन गर्नेछ ।

लामो राजनीतिक सङ्क्रमणपश्चात् नेपालले राजनीतिक स्थायित्व प्राप्त गरेको छ । हाम्रो अबको उद्देश्य भनेको जनताको जीवनस्तरमा देखिने गरी परिवर्तन ल्याउनु हो । हाम्रो राष्ट्रिय चाहना ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्यद्वारा निर्देशित छ । अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति हुनु हाम्रो तत्कालको उद्देश्य हो । सन् २०३० अघि नै दिगो विकासका लक्ष्य हासिल गर्दै मध्यम आय भएको राष्ट्र बन्न चाहन्छौँ । हाम्रा विकासका चुनौती सामना गर्न छिमेकीलगायत अन्य मित्रराष्ट्र तथा विकास साझेदारसँग द्विपक्षीय तथा बहुपक्षीय सहकार्य र सहयोग बढाउन चाहन्छौँ ।

अन्त्यमा दिगो विश्व शान्ति र समृद्धि हासिल गर्न न्यायपूर्ण, निष्पक्ष, समतामूलक, समावेशी र नियममा आधारित विश्व व्यवस्था निर्माण गर्नेतर्फ हाम्रो सामूहिक प्रयास अघि बढाउन अन्तरराष्ट्रिय सहयोगका लागि दोस्रो बेल्ट एण्ड रोड फोरम सक्षम हुनेछ भन्ने विश्वासका साथ यस सम्मेलनको भव्य सफलताको लागि शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद



Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter