• Tuesday, April 08, 2025

‘शिक्षा पूर्वाधारको पनि पूर्वाधार’

काठमाडौँ, वैशाख १४ गते । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीलाई दिइने सार्वजनिक शिक्षा देश विकास गर्ने पूर्वाधारको पनि पूर्वाधार भएकाले सरकार निजी क्षेत्र तथा सामाजिक सङ्घसंस्था एकजुट भई लाग्नुपर्नेमा जोड दिनुभएको छ ।

आफ्ना बालबच्चाका लागि शिक्षा दिन आर्थिकरुपमा कमजोर अभिभावक तथा विद्यार्थीलाई छात्रवृत्ति, शैक्षिक सामग्रीबाट विगत एक दशकदेखि सहयोग गर्दै आएको ‘चेतना’ नामक संस्थाले जगतसुन्दर ब्वनेकुथी लखुतीर्थमा आज आयोजित कार्यक्रममा उहाँले नेपालमा अझै तीन लाख १३ हजार बालबालिका विद्यालयबाट बाहिर रहेको बताउनुभयो ।

उहाँले विसं २०८५ सम्म आधारभूत शिक्षा प्राप्त नगरेका व्यक्तिका लागि बैंकमा खाता खोल्न नपाउनेजस्ता प्रावधानसहित ऐन तर्जुमा गर्ने कार्य भइरहेको उल्लेख गर्नुभयो । मन्त्री पोखरेलले संविधानबाट प्रत्याभूत व्यवस्थाअनुसार राज्यले शैक्षिक उन्नयनको दायित्व लिनुपर्नेमा चेतना नामक सामाजिक संस्थाले चर्को शुल्कबाट पीडित विद्यार्थीलाई शैक्षिक सहयोग गरेकामा प्रशंसा गर्नुभयो ।

चेतनाका अध्यक्ष आनन्दमुनि बज्राचार्यले निजी क्षेत्रबाट उठाइने चर्को शुल्कका कारण सामान्य तथा मध्यम वर्गका अभिभावकले आफ्ना बालबालिकालाई शिक्षा दिने अवस्था नभएको उल्लेख गर्दै सबै जनतालाई सर्वसुलभ ढङ्गले विद्यार्जन गर्नसक्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले विद्यालयको न्यूनतम शुल्क तथा पोशाक राख्न नसक्ने छात्रछात्रालाई आफ्नो संस्थाले छात्रवृत्ति, शैक्षिक सामान, पोशाक आदिजस्ता माध्यमबाट सघाउँदै आएको बताउनुभयो । सो संस्थाका सचिव रिना बज्राचार्यले देशको कर्णधार विद्यार्थीको शैक्षिक भविष्य उज्वल पार्न संस्थाले प्रत्येक व्यक्तिबाट रु १० सङ्कलन गरी जम्मा गरिएको रकमबाट सानोतिनो सहयोग गर्दै आएको जानकारी गराउनुभयो ।

कामपाका प्रवक्ता एवं वडा नं १५ का अध्यक्ष ईश्वरमान डङ्गोलले निजी विद्यालय तथा सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थी कुनै पनि भेदभाव नभएको उल्लेख गर्दै सामुदायिक विद्यालयलाई उठाउन गीतामाता माध्यमिक विद्यालयलाई आफ्नो पहलमा पाँच रोपनी जग्गा हस्तान्तरण गरिएको जानकारी गराउनुभयो ।

गीतामाया माध्यमिक विद्यालयका प्रधानाध्यपक हरिकृष्ण श्रेष्ठले आफ्नो विद्यालयमा पढ्ने दुई हजार २०० विद्यार्थीमध्ये करीब ३०० विद्यार्थी आर्थिकरुपमा कमजोर रहेका र विगत केही वर्षदेखि ती विद्यार्थीलाई चेतनाले सघाउँदै आएको बताउनुभयो ।

कार्यक्रममा मन्त्री पोखरेलले आर्थिकरुपमा कमजोर ५० बालबालिकालाई छात्रवृत्ति तथा शैक्षिक सामान वितरण गर्नुभयो । हरिसिद्धी मावि पाटन, गीतामाता मावि काठमाडौँ, जनउद्धार मावि, सीतापाइला, ईश्वर प्राथमिक विद्यालय, नेपाल आदर्श माध्यमिक विद्यालयका जेहेन्दार तथा आथिकरुपमा कमजोर विद्यार्थीलाई उक्त सामग्री हस्तान्तरण गरिएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter