• Friday, April 11, 2025

पचास प्रतिशत भूकम्प प्रभावित घर प्रवेश : ज्ञवाली

काठमाडौँ, वैशाख १८ गते । गोरखा भूकम्पले प्रभावित भएकामध्ये ५० प्रतिशत परिवार नयाँ घर प्रवेश गरिसकेको राष्ट्रिय पुनःनिमर्माण प्राधिकरणले जनाएको छ । भूकम्प प्रविधि राष्ट्रिय समाज (एनसेट) नेपालको आयोजनामा भएको फोटो प्रदर्शनीको मङ्गलबार समापनका अवसरमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भन्नुभयो, “५० प्रतिशत मानिस घरभित्र छिरिसकेका छन्, ३० प्रतिशत घर बन्दैछन्, कतिपय विविध समस्या रहेकाले समाधानमा लागेका छौँ ।”

एनसेटले भूकम्प गएको दिन वैशाख १२ देखि काठमाडौँको भैँसेपाटीस्थित कार्यालयमा भूकम्पपछिको पुनःनिर्माण अवस्थाको बारेमा फोटो प्रदर्शनी गरेको थियो । एनसेटले काठमाडौँ, नुवाकोट, दोलखा र धादिङमा काम गर्दै आएको छ । सो अवसरमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले ५६ प्रतिशत स्कूल निर्माण सम्पन्न भइसकेको तर पुरातात्विक क्षेत्रमा कम काम भए पनि अहिले गति लिएको जानकारी दिनुभयो । रानीपोखरीको विषयमा उत्पन्न समस्या समाधान गर्दै निकासको बाटोमा लागेको समेत उहाँले बताउनुभयो ।

विगतमा एनसेटसँगको सहयोगमा पुनःनिर्माण मापदण्ड, विधि र नीति तय गरेको र अहिले हेर्दा सो काम सही रहेको जिकिर गर्दै उहाँले सबैको सहयोग भयो भने पुनःनिर्माण सम्पन्न हुने बताउनुभयो ।

विगतमा प्रभावितलाई एकमुष्ट रकम दिन तीव्र दबाब आएको प्रसङ्ग कोट्याउँदै उहाँले विगतमा ठूलो सङ्घर्षका कारण त्यो काम रोकिएर प्रक्रियागतरूपमा गएकाले अहिले महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । एनसेटका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले पुनःनिर्माणको काम प्रभावकारी रहेको बताउँदै समुदायको सहयोग उल्लेखनीय रहेको बताउनुभयो ।

संस्थाका महासचिव आमोदमणि दीक्षितले पुनःनिर्माणमा नेपालको शीर उँचो रहेको उल्लेख गर्दै अब अन्तर्राष्ट्रिय गोष्ठी आयोजना गरेर नेपालको ज्ञान सीपलाई विश्वव्यापी गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा वरिष्ठ चित्रकार किरण मानन्धर, साहित्यकार शान्तदास मानन्धरलगायतले मन्तव्य राख्नुभएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter