लुम्बिनी भ्रमणवर्षको शुभारम्भ, राष्ट्रपतिद्वारा लुम्बिनी घुम्न निम्तो; लुम्बिनी क्षेत्रको विकासका लागि चरणबद्ध कार्यक्रम गरिने : प्रम ओली

रुपन्देही, जेठ ४ गते । लुम्बिनी भ्रमण वर्ष २०७६ शुभारम्भ गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनीमा आज आयोजित बुद्धपूर्णिमा तथा लुम्बिनी दिवस र लुम्बिनी भ्रमणवर्ष २०७६ शुभारम्भ कार्यक्रममा लुम्बिनी भ्रमण वर्ष शुरु भएको घोषणा गर्नुभएको हो ।

उहाँले संसारभरका बौद्धमार्गीलाई बुद्धको जन्मभूमि लुम्बिनी घुम्न आउन निमन्त्रणा गर्नुभएको छ । लुम्बिनीको विकासले प्रदेश नं ५ लाई समृद्ध बनाउन सकारात्मक भूमिका निर्वाह गर्ने उल्लेख गर्दै उहाँले लुम्बिनीलाई विश्वशान्तिको केन्द्र लुम्बिनी गुरुयोजना कार्यान्वयन गर्नु अहिलेको महत्वपूर्ण आवश्यकता रहेको बताउनुभयो ।

स्थानीयवासीको सहयोग र सहकार्यलाईसँगै लिएर अघि बढ्न आग्रह गर्दै राष्ट्रपति भण्डारीले गुरुयोजना छिटो पूरा गर्न लुम्बिनी विकास कोषको ध्यानाकर्षण गराउनुभयो । उहाँले बुद्धस्थललाई जोडेर आन्तरिक पर्यटकीय परिपथ र बाह्य मुलुकसँग जोडेर वृहत पर्यटकीय परिपथ निर्माण गर्न सकिने भएकाले सरकारलाई ध्यान दिन आग्रह गर्नुभयो ।

उहाँले बुद्धपूर्णिमालाई वैशाख दिवसका रुपमा विश्वभर मनाउने वातावरणका लागि पहल गरेकामा सरकारलाई धन्यवाद दिनुभयो । लुम्बिनी क्षेत्रलाई विश्वस्तरको शैक्षिक केन्द्रको रुपमा प्रवर्द्धन गर्नुपर्ने उल्लेख गर्दै राष्ट्रपति भण्डारीले लुम्बिनी क्षेत्रमा शान्ति, स्थिरताकायम गर्दै जानुपर्ने बताउनुभयो ।

लुम्बिनी क्षेत्रको विकासका लागि चरणबद्ध कार्यक्रम गरिने : प्रम ओली

रुपन्देही, जेठ ४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी क्षेत्रको विकास र प्रवर्द्धनका लागि सरकारले चरणबद्ध रुपमा कार्यक्रम सञ्चालन गर्ने बताउनुभएको छ ।

लुम्बिनीमा आज आयोजित बुद्धपूर्णिमा तथा लुम्बिनी दिवस र लुम्बिनी भ्रमणवर्ष २०७६ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले लुम्बिनीलाई ध्यान र ज्ञान क्षेत्रका रुपमा विकास गर्दै विश्व समुदायसँग अन्तर्राष्ट्रिय सम्मेलन गर्नेबारे छलफल भइरहेको बताउनुभयो । उहाँले लुम्बिनी क्षेत्रको तीव्रतर विकासका लागि अन्तर्राष्ट्रिय समुदायको साथको आवश्यकता रहेको उल्लेख गर्नुभयो

प्रधानमन्त्री ओलीले बुद्धस्थल कपिलवस्तुको तिलौराकोटलगायतका स्थलहरुलाई समान ढङ्गलाई विकास गर्दै लैजाने प्रतिबद्धता जनाउनुभयो । उहाँले तिलौराकोटले विश्वसामु नयाँ तथ्य उजागर गरेकाले त्यसको विकास र प्रवर्द्धनका लागि नयाँ ढङ्गले योजना बनाउने बताउनुभयो ।

कार्यक्रममा प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सङ्घीय सरकार र प्रदेश सरकारको साथले लुम्बिनीको विकास र विश्वव्यापी प्रवर्द्धन गर्ने बताउनुभयो । बुद्ध जन्मस्थल लुम्बिनीको काम तीव्र गतिमा हुनुपर्ने उल्लेख गर्दै उहाँले अन्य बुद्धस्थलको समेत उत्खनन् र तथ्य बाहिर ल्याउनुपर्नेमा जोड दिनुभयो ।

प्रदेशका पर्यटनमन्त्री लीला गिरीले प्रदेश नं ५ सरकारले लुम्बिनी क्षेत्रको प्रवर्द्धनका लागि भ्रमण वर्ष घोषणा गरेको र यसले प्रदेश समृद्ध बन्ने आधार तयार पार्न सहयोग पुग्ने बताउनुभयो । लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले अबको तीन वर्षमा लुम्बिनी गुरुयोजना पूरा हुने र त्यसपछि लुम्बिनीको मुहार परिवर्तन हुने बताउनुभयो । कार्यक्रममा लुम्बिनीको प्रवर्द्धनमा सहयोग पुर्‍याएको भन्दै राससकर्मी निरा गौतमसहित आठ जनालाई कदरपत्रले सम्मान गरिएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter