• Monday, April 14, 2025

द्रुतमार्गको डिपिआर तत्काल स्वीकृत गर्न निर्देशन

काठमाडौँ, जेठ १४ गते । प्रतिनिधिसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले काठमाडौँ–तराई मधेश द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तत्काल स्वीकृत गर्न सरकारलाई निर्देशन दिएको छ ।

नेपाली सेनाबाट उक्त द्रुतमार्ग निर्माण सम्बन्धमा भइरहेको कार्यप्रगति र समस्याबारे जानकारी लिएपछि समितिको आजको बैठकले आयोजना समयमै सम्पन्न गर्न तत्काल डिपिआर स्वीकृत गरी सहजरुपमा महत्वपूर्ण काम अघि बढाउन बाटो खोली दिन सरकारलाई निर्देशन दिएको हो ।

कोरियाको सुसुङ इञ्जिनीयरिङ कम्पनीले तयार गरेको डिपिआर स्वीकृतिका लागि रक्षा मन्त्रालयमार्फत् मन्त्रिपरिषद् गएकामा केही समयदेखि त्यहाँ रोकिएको छ । द्रुतमार्गको कामलाई तीव्रता दिने सिलसिलामा देखिएका समस्यालाई हटाउन तिनै तहका सरकार एवं सरोकारवाला निकायसँग सहकार्य र समन्वय गरेर अघि बढाउन पनि समितिले आयोजना प्रमुखलाई सुझाव दिएको छ ।

ललितपुरको खोकना क्षेत्रमा लामो समयदेखि रहिआएको जग्गा अधिग्रहण र मुआब्जासम्बन्धी विवादलाई यथाशक्य छिटो निचोडमा पु¥याउन सरकार र आयोजनाको समितिले ध्यानाकर्षण गराएको छ । करीब ७२ किमि लामो उक्त आयोजना सम्पन्न गर्न नेपाली सेनाले अहिले १० स्थानमा क्याम्प राखेर काम गरिरहेको छ ।

नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन उक्त द्रुतमार्गको ५४ किलोमिटर क्षेत्रमा भिर पहरा फोर्ने, माटो सम्याउने काम अन्तिममा पुगेको आयोजना प्रमुख एवं उपरथी योगेन्द्र खाँडले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “लक्षित कार्ययोजनाको तुलनामा स्टकचर निर्माणको काममा पनि निकै प्रगति भइरहेको छ, अहिले सैनिक र गैरसैनिक गरी करीब चार हजार जनशक्तिबाट अहोरात्ररुपमा काम हुँदै आएको छ, आयोजना क्षेत्रका ९० प्रतिशत रुख कटान भइसकेका छन् ।”

उक्त राजमार्गका लागि ११ हजार १८१ रोपनी जग्गा अधिग्रहण गरी मुआब्जा दिनुपर्नेमा हालसम्म १० हजार ७३३ को मुआब्जा वितरण गरिसकिएको छ । प्रस्तावित डिपिआरले द्रुत राजमार्गमा निर्माण गर्नुपर्ने ८७ पुलमध्ये लम्बाइ र उचाइका हिसाबले १६ पुल विशेष खालको बनाउन प्रस्ताव गरेको छ । हालसम्म उक्त राजमार्गका लागि रु आठ अर्ब ९७ करोड खर्च भइसकेको छ ।

लागत रु दुई खर्ब १३ करोड पुग्ने

कोरियाको सुसुङ कम्पनीले तयार गरेको विस्तृत परियोजना प्रतिवेदनअनुसार राष्ट्रिय गौरवको काठमाडौँ–तराई मधेश द्रुतमार्गको निर्माण लागत रु दुई खर्ब १३ अर्ब लाग्ने सङ्केत गरिएको छ । यसअघि सन् २००८ मा एशियाली विकास बैंकले गरेको सम्भाव्यता अध्ययन प्रतिवेदन तथा प्रारम्भिक डिजाइनका आधारमा उक्त द्रुतमार्ग निर्माण लागत खर्च रु एक खर्ब १२ अर्ब अनुमान गरेको थियो ।

आयोजना प्रमुख खाँडले भन्नुभयो, “विगतमा प्रस्ताव गरिएको भन्दा सडकको चौडाइ निकै बढाइएको छ, त्यो बेलाको तुलनामा अहिले बजारमूल्य र दरभाउ निकै बढेको छ, विगतमा एक दशमलव सैतिस किमि लामो सुरुङ प्रस्ताव गरिएकामा अहिले त्यो बढेर छ किलोमिटर पुगेको छ ।”

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter