दस वर्षमा तीन हजार किलोमिटर रेलमार्ग

सविता शर्मा / काठमाडौँ, असार १४ गते । सरकारले आगामी एक दसकमा झन्डै तीन हजार किलोमिटर रेलमार्ग निर्माण गरी देशका प्रमुख सहरलाई जोड्ने योजना अगाडि सारेको छ ।

राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिकोे बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले रेलको भावी योजनाबारे विस्तृतमा जानकारी दिनुभयो ।

मन्त्री महासेठका अनुसार सरकारले १० वर्षभित्र दुई हजार आठ सय किलोमिटर रेलमार्गद्वारा देशको प्रमुख सहरी भूभाग विद्युतीय रेल सेवाले जोड्ने लक्ष्य लिएको छ । उहाँले पूर्वपश्चिम रेलमार्गको ९४५ किलोमिटर डीपीआर तयार भइसकेको जानकारी दिनुभयो । त्यसै क्रममा बर्दिवास–निजगढको दुई सय किलोमिटरमध्ये ३५ किलोमिटरभन्दा बढीको ट्र्याक खोलिसकिएको र पुलहरूसमेत बनिसकेको जानकारी गराउनुभयो । समितिमा सांसदले उठाउनुभएका प्रश्नको जवाफमा मन्त्री महासेठले सो जानकारी दिनुभयो ।

यसैगरी मन्त्री महासेठले नौबिसे–नागढुङ्गा सुरुङमार्ग निर्माणका लागि आवश्यक सबै प्रक्रिया सकिएको र निर्माण कम्पनीसँग सम्झौता गर्न मात्र बाँकी रहेको बताउनुभयो । उहाँले सो आयोजना जापान सरकारको ऋण सहयोगमा बन्न लागेको र निर्माणको जिम्मा पनि जापानी निर्माण व्यवसायीलाई दिइने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यसको अन्तिम टुङ्गो लगाउन भने बाँकी नै छ । ”

यस्तै मन्त्री महासेठले टोखा–खहरे–गुर्जुभञ्ज्याङको काम अगाडि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “टोखा–खहरे सुरुङमार्गको सम्भाव्यता र विस्तृत परियोजना प्रतिवेदन तयार गर्न परामर्शदाताहरूको छनोट प्रक्रिया सुरु गरिसकिएको छ । ” यसका लागि बजेट छुट्याइएको र आर्थिक वर्ष २०७६÷७७ मा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुने जानकारी गराउनुभयो ।

अरनिको राजमार्गको कोटेश्वर–जडीबुटी खण्डमा अन्डरपास र कभर्ड अन्डरपास गरेर ललितपुर, भक्तपुर र काठमाडौंँ तीनकुनेतिरबाट आउने÷जाने गरी कभर्ड अन्डरपास बनाउन जाइकालाई प्रस्ताव गरिएको उहाँले जानकारी गराउनुभयो । उहाँले भक्तपुरतर्फबाट आउने सवारी साधनलाई मनोहरा पुलबाट डाइभर्सन बनाइसकिएको, बेलिब्रिज जडान भइरहेको र केही दिनमा तयार हुनेछ भन्नुभयो ।

बीपी लोकमार्ग खुर्कोट चियाबारीको प्रगतिका सम्बन्धमा स्पष्ट पार्दै मन्त्री महासेठले बजेट व्यवस्थापन गरिसकेको र दु्रत गतिमा काम अगाडि बढाउँदै गरेको जानकारी गराउनुभयो । बीपीनगर–खुटिया–दिपायल खण्डको सुरुङमार्ग अध्ययन र डीपीआरका लागि बजेट छुट्याइएको जानकारी उहाँले दिनुभयो ।

गणेशमान सिंह मार्ग थानकोट–चित्लाङ खण्डमा सर्भेक्षण गरी सुरुङमार्ग निर्माण गर्ने सम्बन्धमा रातो किताबमा आइसकेको र त्यसको सम्भाव्यता अध्ययन र डीपीआर यसै वर्ष सुरु हुने उहाँले बताउनुभयो । उत्तर–दक्षिण नदी करिडोरको भौतिक प्रगति भइरहेको छ । अधिकांश कोरिडोरको ट्र्याक खोल्ने काम दु्रत गतिमा अगाडि बढेको जानकारी उहाँले गराउनुभयो ।

कर्णाली करिडोरको कुल लम्बाइ २९५ किलोमिटरमध्ये २२० किलोमिटर सडकको ट्र्याक खुलेको उहाँले जानकारी दिनुभयो । त्यसैगरी कोसी कोरिडोरको १६२ किलोमिटरमध्ये १४८ किलोमिटरको र कालीगण्डकी करिडोरको १४५ किलोमिटर नै ट्र्याक खुलिसकेको जानकारी गराउनुभयो । बेनी–जोमसोम कोरला खण्डको १८६ किलोमिटरमध्ये १७१ किलोमिटर ट्र्याक खोलिएको र आगामी आर्थिक वर्षसम्म यसको कालोपत्रेको काम सम्पन्न गर्ने लक्ष्य लिएको स्पष्ट पार्दै उहाँले थप्नुभयो, “सबै कोरिडोरको ट्र्याक खोल्ने र पुल निर्माण सम्पन्न भएपछि कालोपत्रे गर्नेछौँ । ”

मन्त्री महासेठले पूर्व–पश्चिम राजमार्गको साँघुरो सडकलाई विस्तार गर्ने कार्य सुरु भएको छ भन्दै पहिलो चरणमा बुटबल–नारायणघाट सडक खण्डलाई चौडा पार्ने काम थालिसकेको बताउनुभयो । मन्त्री महासेठले २५ वर्षदेखि कायम सिन्डिकेट अन्त्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्घ समितिको आधिपत्य थियो, रुट परमिट पनि सरकारले दिन सक्ने अवस्था थिएन । अब तोडियो । ”

नेपालको यातायातलाई व्यवस्थापन गर्न यातायात प्राधिकरणको अवधारणा ल्याइएको जानकारी दिँदै मन्त्री महासेठले मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति पाइसकिएको र संसद्मा पठाउने तयारी गरिरहेको पनि जानकारी गराउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter