• Monday, June 16, 2025

राजनीतिमा अपराधिकरणको कुनै स्थान हुँदैनः मन्त्री बाँस्काेटा

काठमाडौँ, कात्तिक ७ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सुशासन र कानुनको पालना गराउने कार्यमा सरकार अगाडि बढेको बताउनुभएको छ । उहाँले राजनीतिमा हुने अपराधिकरण र भ्रष्टिकरणलाई कसैले पनि प्रोत्साहित गर्न नहुने र दोषीमाथि कानुनअनुसार हुने छानविन एवं कारवाहीलाई ‘प्रतिशोध साँधेको’ भन्ने दृष्टिकोणबाट हेरिन नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “राजनीतिमा हुने अपराधिकरण र भ्रष्टिकरणलाई राज्यले प्रोत्साहित गर्न सक्दैन, त्यस्ताले पाउने दण्ड, सँजाय नै हो । दोषीहरु कानुनभित्रै आउनु पर्छ ।” सरकारका प्रवक्ता बाँस्कोटाले नेपाल सरकारले गरेका निर्णयहरु सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, “न्याय स्थापित गर्न, सामाजिक मूल्य पद्दतिको रक्षा गर्न र त्यसलाई थप व्यवस्थिति एवं मर्यादित बनाउन सरकार लागेको छ ।

जनताको सर्वाङ्गिण विकासका निम्ति सहयोग गर्न सरकार क्रियाशील छ ।” वलत्कार आरोपमा निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि भइरहेको छानविन र कारवाहीका विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नमा मन्त्री बाँस्कोटाले भन्नुभयो, “अनुसन्धान र छानविन भइरहेको छ । त्यसले के टुङ्गो लगाउँछ, त्यही हुन्छ । कानुनी उन्मुक्ति कसैलाई पनि हुँदैन । सुशासन र कानुनी राज चल्छ ।”

उहाँले दर्शन, सिद्धान्तका आधारमा गरिने राजनीति समाजसेवा भएकाले राजनीतिमा अपराधिकरणको कुनै स्थान नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाएर, डर त्रास देखाएर, ज्यान लिएर प्राप्त हुने राजनीतिक सफलता भनेको पानीको फोका हो । फू गरेर ढल्छ ।” उहाँले सरकार सुशासन र न्याय कायम गर्न सक्रिय रहेको बताउनुभयो ।

उहाँले विप्लव नेतृत्वको माओवादीले संविधान मान्छौं, शान्तिपूर्ण गतिविधि गछौं र हिंसा छाड्छौं भनेर आए छिनभरमा समस्याको समाधान हुने बताउनुभयो । उहाँले विप्लव माओवादीको हिंसा नेपालको अहितमा चालिएको एकप्रकारको राष्ट्रघाती कदम भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हिंसा नेपाली समाजको निम्ति अस्वीकार्य छ । हिंसाको निम्ति कुनै स्थान छैन । यतिकुरा उहाँहरुले पनि बुझ्नु पर्छ । शर्त नै चाहिदैन ।

वक्तव्य जारी गरेर हिंसा छाड्यौं, शान्ति रोज्यौं भने पुग्छ ।” सञ्चारकर्मीको अर्को एक प्रश्नमा प्रवक्ता बाँस्कोटाले नेपालले दौत्य सम्बन्ध कायम भएका मुलुकहरुसँगको सम्बन्धलाई अझ विकसित गर्न, त्यसबाट लाभ लिन र साझा हितको विषयमा विना कुनै दवाव निर्णय लिदैआएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “चीन, भारत, अमेरिकालगायत विश्वका धेरै मुलुकसँग नेपालको दौत्य सम्बन्ध कायम भएका छन् । ति मुलुकसँगका सम्बन्धलाई विकसित गर्न र साझा हितको विषयमा निर्णय लिदै आएका छौं । हामी कसैको दवावमा पर्दैनौं ।” उहाँले भन्नुभयो, “देश, जनता, परराष्ट्र सम्बन्ध र राष्ट्रले लिएको लक्ष्य, आकांक्षालाई पूरा गर्नको निम्ति जो कोहीसित पनि सुरक्षा, आर्थिक प्रगति, प्रविधि हस्तान्तरण वा सहयोग र संयुक्त लगानीका प्रश्नमा सँगसँगै सबैसित अगाडि बढ्छौ ।”

उहाँले चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउँदा २० बुँदे सहमति कसैको दवावमा होइन दुई देशको इच्छाशक्ति, आवश्यकता र हाम्रा परियोजनालाई सफल बनाउन गरिएको स्पष्ट पार्नुभयो । उहाँले थप्नुभयो, “त्यसैगरी ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ मा नेपाललाई अमेरिकाले सहयोग गर्ने कुरा पनि कसैको दवावमा होइन । नेपाल अमेरिकाको सद्भाव, सहकार्य र लामो दौत्य सम्बन्धको परिणाम हो

धानको मूल्य तोकियो

सरकारले चालु आर्थिक वर्ष २०७६÷७७ को लागि धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । कात्तिक ५ गते बसेको मन्त्रिपरिषद् बैठकले यस आर्थिक वर्षका लागि प्रति क्विन्टल मोटा धानको मूल्य दुई हजार ५३२ रुपियाँ ८० पैसा तोक्ने निर्णय गरेको छ । यस्तै, मध्यम धानको मूल्य दुई हजार ६७३ रुपियाँ १६ पैसा रहेको छ ।

टेलिफोन तार भूमिगत

मन्त्रिपरिषद् बैठकले काठमाडौँ उपत्यकाभित्रका विभिन्न १५ वटा रुटमा तार व्यवस्थापनसम्बन्धी कार्य गराउन नेपाल दूरसंचार प्राधिकरणलाई निर्देशन दिएको छ । सो परियोजनाअन्तर्गत राजधानीमा १५ स्थानमा टेलिफोन तारलाई भूमिगत रुपमा व्यवस्थापन गरिने जनाइएको छ । यस्तै, सूचना महामार्ग निर्माण सम्बन्धी कर्णाली र सुदूरपश्चिम प्रदेश खण्डको परियोजना कार्य नेपाल दूरसञ्चार कम्पनी लिमिटेडबाट गराउन नेपाल दूरसञ्चार प्राधिरकणलाई निर्देशन दिइएको छ ।

नियमावली र आदेश स्वीकृत बैठकले रोजगारीको हक सम्बन्धी (पहिलो संशोधन) नियमावली, २०७६ स्वीकृत गरेको छ । यस्तै, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौं संशोधन) नियमावली, २०७६ एवं डिजिटल नेपाल फ्रेमवर्क, २०७६ स्वीकृत गरिएको छ । नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समिति (गठन) आदेश, २०७६ स्वीकृत गरिएको छ । त्यस्तै, माराकेश सन्धी, २०१३ अनुमोदनका लागि संघीय संसदमा पेश गर्ने निर्णय समेत बैठकले गरेको छ । बैठकले मालपोत नियमावली, २०३६ को नियम ५ ख (१) को समितिले गरेको न्यूनतम मूल्याङ्कन सम्बन्धी निर्णय परिमार्जन गर्न स्वीकृति दिनुका साथै गैर करका दरहरु पुनरावलोकन स्वीकृत गरेको छ ।

यस्तै, नेपाल सरकार र बंगलादेश सरकारबीच सम्पन्न द्वैध कराकाे प्रावधान मुक्ति तथा वित्तीय छल निरोध सम्बन्धी सम्झौता संघीय संसदमा जानकारीका लागि पेश गर्न स्वीकृति दिएको छ । यस्तै, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र भारतको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चबीच अनुसन्धानको क्षेत्रमा सहकार्य गर्ने विषयको समझदारी पत्रमा हस्ताक्षर गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अख्तियारी दिने निर्णय गरिएको छ ।

बढुवा र राजीनामा सहसचिव रामकृष्ण सुवेदीलाई नेपाल प्रशासन सेवा तर्फको बिशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ । यस्तै इन्जिनियर तुलाराम पौडेललाई सार्क इनर्जी सेन्टर इस्लामावादको प्रोफेसनल स्टाफ रिसर्च फेलोका रुपमा काजमा खटाउने निर्णय बैठकले गरेको जनाइएको छ । यसैगरी, नेपाली सेनाका लेखा उपरथी भुवनबहादुर अधिकारी क्षेत्री र महासेनानी आशिष प्रसाद उपाध्यायको राजीनामा स्वीकृत गरिएको छ । त्यस्तै, सुनसरी जिल्लास्थित देवानगञ्ज गाउँपालिकालाई सोही गाउँपालिकाको वडा नम्बर २ मा रहेको नौ कठ्ठा जग्गा ३० वर्षका लागि निःशुल्क उपलब्ध गराउन स्वीकृति दिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter