जुवाडेलाई नछाड्न सर्वोच्चको आदेश

काठमाडौं । कार्तिक १३ : महाराजगञ्जमा जुवाको खालबाट पक्राउ परेका ६ जना जुवाडेलाई नछाड्न अदालतले आदेश दिएको छ।
सर्वोच्चमा बुधबार थप ६ जुवाडेले बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेपछि सबै मुद्दालाई एकसाथ राखेर सुनुवाई गर्ने आदेश सर्वोच्चले गरेपछि उनीहरु बस्नु पर्ने भएको हो।
‘बन्दीप्रत्यक्षीकरणका निवेदनहरु साथै राखि एकैपटक हेर्नुपर्ने देखिएकाले’ उनीहरु बुधबार नै छुट्न नपाएका हुन्। सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले उक्त आदेश दिएको हो।
रिट दायर गर्नेमा क्यासिनो किङका रुपमा चिनिने गुण्डा नाइके बलराम सापकोटा उर्फ बले, उद्योगी श्रवणकुमार गोयल, एयर डाइनेस्टीका सञ्चालक पवित्रकुमार कार्की, ठेकदार पवनकुमार गुप्ता, जुवा खेलाउने विक्रम गौतम र मुक्ति लामा रहेका छन्। पक्राउ परेका मध्ये ६ जना भीआईपी जुवाडेको तर्फबाट आइतबार अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट परेको थियो।
प्रहरीले छापा मार्ने क्रममा जुवाडेको साथबाट दुई करोड ६७ लाख नगद, बैंक अफ काठमाडौंको ३ लाख रुपैयाँको चेक, ३२ थान कौडा र ४ बुक तास बरामद गरेको थियो। पक्राउ परेका २४ जनाविरुद्ध जुवा ऐनअन्तरगत मुद्दा चलाउने प्रहरी तयारी छ ।