• Wednesday, June 11, 2025

रातदिन काम , पुल र सुरुङ बाहेक ८० प्रतिशत भाैतिक प्रगति

रमेश लम्साल / निजगढ मंसिर २८ गते । तोकिएको समयमा सम्पन्न गर्ने लक्ष्यका साथ नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौँ–तराई मधेश द्रुतमार्ग निर्माणमा असाधारण प्रगति भएको छ । तराईलाई काठमाडौँ जोड्ने सबैभन्दा छोटो मार्गका रुपमा निर्माण भइरहेको आयोजनाको सुरुङ र पुलबाहेकको भौतिक प्रगति ८० प्रतिशतको हाराहारीमा रहेको छ ।

सेनाले विभिन्न १० स्थानमा वेसक्याम्प खडा गरेर निर्माणलाई गति मात्रै दिएको छैन, मुलुकको पहिलो द्रुत मार्ग निर्माणलाई प्रत्यक्ष रुपमा नेतृत्वसमेत गरेको छ । निर्माणको गति र भइरहेको कामको प्रगतिका आधारमा चालु आवको अन्त्यसम्म सेनाले सडकतर्फको सबै काम सम्पन्न हुनेछ । कालोपत्र गर्नेसम्मको सडक आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ विभिन्न ३० प्याकेजमा काम भइरहेको छ ।

सडक निर्माणको काम अन्तिम चरणमा पुग्ने क्रममा रहेसँगै सेनाले सुरुङ र पुल निर्माणका लागिसमेत प्रक्रिया शुरु गरिसकेको छ । द्र्रुत मार्गमा तीन वटा सुरुङ निर्माण हुनेछ । आयोजनाको स्वीकृत विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार महादेवडाँडामा ३.३५५ किलोमिटर लामो सुरुङ निर्माण हुनेछ ।

यस्तै धेद्रेमा १.६३० र लेनडाँडामा १.४३० किलोमिटर लामो सुरुङ निर्माण गर्ने तयारी छ । सुरुङ मार्ग निर्माणका लागि परामर्शदाता छनोटको प्रक्रिया शुरु भइसकेको छ । त्यसका लागि अन्तर्राष्ट्रियस्तरका कूल छ वटा संस्थाले आशयपत्र पेश गरेका छन् । परामर्शदाता छनोटसँगै सुरुङ र पुल निर्माणको प्राविधिक तयारीले पूर्णता पाउनेछ ।

आगामी फागुनसम्म सो कार्य सम्पन्न गरी पुल र सुरुङका लागि निर्माण व्यवसायी छनोट गर्ने प्रक्रिया अगाडि बढ्नेछ । कालोपत्र गर्ने तहको सडक निर्माण सम्पन्न भएसँगै सुरुङ र पुल निर्माणका लागि निर्माण व्यवसायी परिचालन गर्ने लक्ष्य सेनाले राखेको छ । कूल ७२.५ किलोमिटर लामो द्रुतमार्गमा पहिले ९६ वटा पुल निर्माण हुने भनिए पनि स्वीकृत डिपिआरमा ८६ पुल निर्माण हुने उल्लेख छ ।

चार लेनको सडकमा समथर भू–भागमा २७ मिटर चौडाइ र अरू ठाउँमा २५ मिटर चौडाइ हुनेछ । आयोजनामा तीनवटा सुरुङको लम्बाइ छ दशमलव ४१ किलोमिटर र पुलको लम्बाइ १० दशमलव ५९ किलोमिटर हुनेछ । सेनाले जटिल मानिएका ठूला १६ पुलको निर्माण आगामी २०७७ सालको पुसमा शुरु गर्नेेछ भने ती बाहेकका अरू पुलको निर्माण आगामी भदौदेखि शुरु गर्ने बताइएको छ ।

नेपाली सेनाको द्रुत मार्ग आयोजना कार्यान्वयन तथा अपरेशन महाशाखाका प्रमुख सेनानी विश्वबन्धु पहाडीले भन्नुभयो, “राष्ट्रिय गौरवको त्यसमाथि हालसम्मकै ठूलो आयोजना निर्माण प्रक्रिया द्रुत रुपमा नै अगाडि बढेको छ । हाल आयोजनाको सडक खण्डमा पर्ने क्षेत्रमा कटान तथा माटो भर्ने काम भइरहेको छ । यो काम आगामी असार मसान्तभित्रै सम्पन्न हुँदैछ ।”

आयोजनामा पुल र सुरुङ बाहेकको खण्ड ५५.५ किलोमिटर हुनेछ । त्यसमध्ये कूल ३१ किलोमिटरको काम करीब सम्पन्न भएको छ । दु्रत मार्ग आयोजना कार्यान्वयन तथा अपरेशन महाशाखा प्रमुख पहाडीका अनुसार बाँकी सडकको ‘ट्र्याक’ खोल्ने काम पनि ८० प्रतिशत सकिएको छ ।

पहाडीले भन्नुभयो, “हाल सडकका लागि खन्ने, सम्याउने काम भइरहेको छ । यस्तै कतिपय स्थानमा सेना आफैँले उत्पादन गरेको विस्फोटक पदार्थ प्रयोग गरी ‘ब्लास्टिङ’ गर्ने, पर्खाल लगाउने लगायत काम पनि भइरहेको छ । आयोजनाको पहाडी भागमा २५ मिटर र समथर भागमा २७ मिटर चौडा हुने प्रमुख सेनानी पहाडीको भनाइ छ । उहाँका अनुसार हालसम्म कूल एक करोड ३५ लाख घनमिटर माटो ‘कटिङ’ भएको छ भने भने १५ लाख घनमिटर ‘फिलिङ’ गरिएको छ ।

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले आयोजनाको महत्वलाई आत्मसात् गर्दै पारदर्शी एवम् निष्ठापूर्वक काम गर्न आफूहरुलाई दिनुभएको निर्देशनअनुसार नै आफूहरु पूर्णरुपमा कटिबद्ध भई परिचालित भएको प्रमुख सेनानी पहाडीको भनाइ छ । सेनाले राष्ट्रिय निर्माण व्यवसायीलाई जिम्मा दिएको खण्डमध्ये अधिकांश स्थानमा दिनरात नभनी काम भइरहेको छ । असारसम्म सडकको काम सक्ने लक्ष्यका साथ दिनरातै काम भइरहेको निर्माण व्यवसायीको भनाइ छ । कालिका, दिवा गीताञ्जली जेभीका कर्मचारी अञ्जन केसीले रातको समयमा समेत काम भइरहेको बताउनुभयो ।

डोजर र एक्साभेटरले दिनरात सडक खन्ने, सम्याउने, काट्ने काम गरिरहेका छन् । दिनमा हुने काम दिनमा र रातको समयमा समेत गर्न मिल्ने काम राति भइरहेको नेपाली सेनाको महादेवटार बेसक्याम्पका प्रमुख एवम् प्राविधिक सेनानी निरोज केसीले जानकारी दिनुभयो ।

यस्तै सिस्नेरी बेस क्याम्पका प्रमुख एवम् प्राविधिक सेनानी राजेशकुमार देवका अनुसार आयोजनालाई गति दिने लक्ष्यका साथ ब्लास्टिङ लगायतको काम द्रुतत्तर गतिमा अगाडि बढिरहेको बताउनुभयो । “कठिन पहाडमा सडकको ‘एलाइनमेन्ट’ मिलाउनका लागि ‘ब्लास्टिङ’ गरिएको छ । सेनाको आफ्नै उत्पादनमा तयार पारेको विस्फोटक पदार्थ प्रयोग गरिएको छ”, प्रमुख देवले भन्नुभयो । आयोजनाको कूल खण्डमध्ये ललितपुरमा ७.९ किलोमिटर, काठमाडौँमा चार किलोमिटर, मकवानपुरमा ५३ किलोमिटर र बारामा ७.६ किलोमिटर पर्दछ ।

तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २०७४ वैशाख १२ गते आयोजना निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा सोही वर्षको जेठ १४ गते निजगढमा आयोजनाको शिलान्यास तत्कालीन प्रधानमन्त्रीले गर्नुभएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter