५७ हजार पर्यटक मुस्ताङमा

मुस्ताङ, पुस १८ गते । सन् २०१९ मा ५७ हजार विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जोमसोमस्थित कार्यालयका प्रमुख तुलसी दाहालले सन् २०१९ को जनवरीदेखि डिसेम्बरसम्म ५७ हजार ५६५ विदेशी पर्यटक मुस्ताङ भ्रमणमा आएका जानकारी दिनुभयो ।

सन् २०१८ मा ५९ हजार ८३८, २०१७ मा ५२ हजार ४७५ र २०१६ मा ३९ हजार १७ ले मुस्ताङ भ्रमण गरेका थिए । पुरानो पदमार्ग सडकमा परिणत भएको र उपल्लो मुस्ताङ भ्रमणको शुल्क महँगो भएका कारण पर्यटक आगमनमा असर परेको लोमान्थाङका होटल व्यवसायी रामबहादुर गुरुङले बताउनुभयो ।

हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ मन्दिर रहेको मुस्ताङ भ्रमणमा आउनेमा सबैभन्दा बढी भारतीय पर्यटक छन् । एक्यापले मुस्ताङ भित्रिने बाह्य पर्यटकको जोमसोम र कागबेनीबाट तथ्याङ्क सङ्कलन गर्दै आएको छ । मे महिनामा १२ हजार १४० र अप्रिलमा १० हजार २६६ भित्रिएको तथ्याङ्क छ । जनवरीमा ५०५, फेब्रुअरीमा ४४५, मार्चमा पाँच हजार ३७८, जुनमा तीन हजार ६१०, जुलाईमा दुई हजार १४०, अगस्टमा दुई हजार २७८ आएका छन् ।

यसैगरी सेप्टेम्बरमा पाँच हजार ११८, नोभेम्बरमा पाँच हजार ८६२ र डिसेम्बरमा एक हजार ८९ ले मुस्ताङ घुमेका छन् । मुस्ताङ भ्रमण गर्ने पर्यटकमा सार्क मुलुकका पर्यटक बढेका छन भने पश्चिमी देशका पर्यटक आगमन घटेको देखिएको छ । करिब चार हजार पर्यटक अर्धनिषेधित क्षेत्र मानिएको उपल्लो मुस्ताङ घुम्न गएका छन् ।

माटोको शहर लोमान्थाङ, तिब्बती र थकाली कला संस्कृति, मुक्तिनाथ, ठिनी, धुम्बा ताल, कागबेनी, दामोदरकुण्ड र फरक भू–बनोटलगायत मुस्ताङमा थुप्रै पर्यटकीय आकर्षण छन् । मुस्ताङ अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) र गण्डकी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य हो ।

मुस्ताङमा प्राकृतिक सुन्दरता र पदयात्रामा रमाउने, लोमान्थाङ, पूर्वमुस्ताङी राजदरबार, तिब्बती कला संस्कृतिको अध्ययन र मुक्तिनाथ दर्शनका लागि विभिन्न मुलुकबाट पर्यटक आउने गरेका छन् । पर्यटकको सुविधाका लागि मुस्ताङको लेते, कोवाङ, टुकुचे, मार्फा, जोमसोम, कागबेनी, मुक्तिनाथ, छुसाङ, चराङ, लोमान्थाङमा करिब ३०० होटल तथा लज सञ्चालनमा छन् । असोज–कात्तिक र फागुन–चैत–वैशाख महिना मुस्ताङ भ्रमणका लागि उपयुक्त मौसम हो ।

पोखरा–जोमसोम हवाई र म्याग्दीदेखि बेनी–जोमसोम सडक भएर मुस्ताङ पुग्न सकिन्छ । पर्यटकको बसाई अवधि र आकर्षण बढाउन सडकमा परिणत भएका पदमार्गको विकल्पमा नयाँ पदमार्गको पहिचान, पूर्वाधार निर्माण र प्रचारप्रसारमा जोड दिइएको एक्याप जोमसोमका प्रमुख दाहालले बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter