छेन्दु– भैरहवा सिधा उडानका लागि चिनियाँ सहयोग रहन्छ- राजदूत होउ

बुटवल, माघ १ गते । मुख्यमन्त्री शङ्कर पोखरेलले लुम्बिनी र चीनका सम्पदा क्षेत्रको सम्बन्धलाई अझ जीवन्त बनाउनका लागि आपसमा सहकार्य र सहयोगको खाँचो रहेको बताउनुभएको छ ।

नेपालका लागि चीनका राजदूत होउ यान्छीसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको भेटमा मुख्यमन्त्री पोखरेलले नेपाल र चीनलाई बौद्ध संस्कृतिले जोडेको र लुम्बिनी दुई देशको सम्बन्धको महत्वपूर्ण माध्यम रहेको उल्लेख गर्नुभयो ।

प्रदेश नं ५ का रुपन्देहीको मोतीपुर, बाँकेको नौबस्ता र दाङको घोराहीमा ठूला औद्योगिक क्षेत्र बनाउने सरकारको योजनामध्ये एक चिनियाँ ढाँचाको औद्योगिक क्षेत्र होस् भन्ने आफूले चाहेको बताउँदै मुख्यमन्त्री पोखरेलले बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल र तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालको स्तरोन्नति र सेवा सुधारमा पनि चिनियाँ अनुभवबाट सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले चीनको सिचुवानले गरेको कृषिको व्यावसायीकरण र औद्योगिक विकासको अनुभव आफूहरुलाई काम लाग्ने बताउँदै सिचुवानका गभर्नरलाई प्रदेश ५ भ्रमणको निमन्त्रणा पनि राजदूतमार्फत दिनुभयो । प्रदेश नं ५ र सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध छ ।

मुख्यमन्त्रीले कृषिको व्यावसायीकरण र पर्यटन प्रवद्र्धनमार्फत प्रदेशको समृद्धि गर्दै सिङ्गो मुलुकको विकासमा योगदान गर्ने लक्ष्य लिइएको जानकारी दिनुभयो । केही महिनाअघि सिचुवान भ्रमणका क्रममा आफूले कृषिको नयाँ प्रविधि सम्बन्धमा त्यहाँका कृषि विज्ञसंँग भेटेको बताउँदै त्यहाँका विज्ञ यहाँ ल्याएर प्रविधि हस्तान्तरणका लागि सहयोग गर्न राजदूतलाई आग्रह गर्नुभयो ।

उहाँले लुम्बिनी बौद्ध विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालय तथा चीनमा परम्परागत शिक्षाको महत्वपूर्ण संस्था मानिने कन्फ्युसियस विश्वविद्यालयबीच विद्यार्थी आदानप्रदान गर्न सकिने बताउँदै लुम्बिनी भ्रमण वर्षको समापन तथा बुद्धजयन्ती समारोहमा चिनियाँ राजदूतलाई लुम्बिनीमा निमन्त्रणा पनि गर्नुभयो ।

सो अवसरमा चिनियाँ राजदूत होउले प्रदेश नं ५ ले आर्थिक विकासमा हासिल गरेको उपलब्धिप्रति बधाई दिनुभएको भेटपछि मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जारी गरेको प्रेसनोटमा बताइएको छ ।

राजदूत होउले नेपालको विकास प्रयासमा चीन सधैंँ सहयोगी रहेको बताउँदै अहिले दु्रत विकासको बाटामा हिँडेको नेपालका प्रयासमा चिनियाँ साथ रहेको स्पष्ट गर्नुभयो । उहाँले केही महिनाअघि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण र नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणले दुई देशबीचको सम्बन्ध अझ उचाइमा पुगेको उल्लेख गर्नुभयो ।

लुम्बिनी चिनियाँका लागि एउटा प्रमुख गन्तव्य भएको बताउँदै राजदूत होउले सिचुवानको छेन्दु– भैरहवा सीधा उडानका लागि सहयोग र अभिप्रेरित गरिने बताउँदै त्यसबाट प्रदेश नं ५ र सिचुवानबीचको सम्बन्ध अझै राम्रो हुने विश्वास व्यक्त गरेको प्रेसनोटमा उल्लेख छ । राजदूत होउले लुम्बिनी, कपिलवस्तुको तिलौराकोटसहित बौद्ध सम्पदास्थलको भ्रमण गर्दै हुनुहुन्छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter