• Monday, April 21, 2025

पर्यटकको पूर्ण सुरक्षा सरकारले गर्छ : मन्त्री भट्टराई

काठमाडौँ, माघ ६ गते । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल आएका पर्यटकको पूर्ण सुरक्षा सरकारले गर्ने बताउनुभएको छ । राष्ट्रिय फोटो पत्रकार समूहको ‘नेपाल दर्शन–२०२०’ फोटो पुस्तक तथा पुरस्कार विवतरण कार्यक्रममा उहाँले नेपालमा अहिलेसम्म पर्यटक सुरक्षित रुपमा रहेका बताउनुभयो । उहाँले पर्यटकलाई कुनै आपतविपत् परे सरकारले जुनसुकै बेला पनि उद्धार गर्ने उल्लेख गर्नुभयो ।

“दश वर्ष जनयुद्धका बेलामा पनि कुनै पर्यटकलाई केही भएन, त्यसले पनि नेपाल पर्यटकका लागि सुरक्षित भन्ने देखाउँछ”, उहाँले भन्नुभयो, “नेपाल भ्रमण वर्षमा पनि कोही पर्यटक सङ्कित हुनुपर्दैन ।” उहाँले पर्यटकलाई आपतविपत्मा चाँडो सुरक्षा गर्न व्यवस्था मिलाइएको जानकारी गराउनुभयो । उहाँले अन्नपूर्ण पदमार्गमा करीब दुई सय पर्यटकलाई सुरक्षित ठाउँमा स्थान्तरण गरिएको बताउनुभयो ।

उहाँले नेपाल भ्रमण वर्षलाई केहीले असफल बनाउने प्रयास गरेको उल्लेख गर्दै भौतिक पूर्वाधारको काम गुणात्मक रुपले अगाडि बढेको बताउनुभयो । उहाँले भ्रमण वर्षले सबै लक्ष्य पूरा गर्न नसक्ने भन्दै भ्रमण वर्षलाई आधार वर्षका रूपमा मानेर एक दशक नेपाल भ्रमण वर्ष मनाउने सरकारको तयारी रहेको धारणा राख्नुभयो । उहाँले पुस्तकमा समावेश फोटाले नेपाल चिनाएको उल्लेख गर्दै पुस्तकले पर्यटकलाई नेपाल चिन्न सहयोग मिल्ने बताउनुभयो ।

“पुस्तकमा नेपालको हिमाल, पहाड, तराईदेखि सबै जातजाति भाषा संस्कृति झल्काउने फोटो रहेका छन्”, उहाँले भन्नुभयो, “पुस्तकमा रहेका फोटा हेरेर पर्यटकले घुम्ने ठाउँको छनोट गर्नेछन् ।”

मन्त्री भट्टराईले पुस्तकलाई नेपालमा मात्र नभएर विदेशस्थित नेपाली कूटनीतिक नियोगमा पनि पु¥याउनुपर्नेमा जोड दिँदै भ्रमण वर्ष सफल बनाउने पुस्तकको भूमिकासमेत रहने बताउनुभयो ।

कार्यक्रममा नेपाल भ्रमण वर्ष–२०२० सचिवालयका सदस्य– सचिव बच्चुनारायण श्रेष्ठले पुस्तकमा नेपालका सबै भाषा, धर्म, संस्कृति, पर्यटन गन्तव्य उल्लेख गरिएकाले पर्यटकलाई नेपाल बुझ्न सजिलो हुने बताउनुभयो । उहाँले पुस्तकले भ्रमण वर्षको प्रचारप्रसारमा समेत सहयोगी भूमिका खेल्ने जानकारी गराउनुभयो ।

समूहका अध्यक्ष राजेन्द्र चित्रकारले सरकारले घोषणा गरेको भ्रमण वर्षको प्रचारप्रसार र प्रवद्र्धन गर्ने उद्देश्यले फोटो पुस्तक निकालिएको बताउनुभयो । कार्यक्रममा मन्त्री भट्टराईले सांस्कृतिक तथा पर्यटन फोटो प्रतियोगितामा उत्कृष्ट फोटो पत्रकारलाई पुरस्कार प्रदान गर्नुभएको थियो । प्रतियोगितमा कपिलवस्तुस्थित कान्तिपुर दैनिकका मनोज पौडेलले प्रथम स्थान हासिल गरी रु २५ हजार राशिको पुस्कार पाउनुभएको थियो ।

यसैगरी मुगुका कविराज कार्की द्वितीय भई नगद रु २० हजार र सुनिल शर्माले तृतीय भई नगद रु १५ हजारसहित पुरस्कार पाउनुभएको थियो । प्रदेश नं– १ बाट भवानी शिलाकार, प्रदेश नं २ बाट सुशील श्रेष्ठ, बागमती प्रदेशबाट आर्यन धिमाल, गण्डकी प्रदेशबाट राधिका कँडेल, प्रदेश नं ५ बाट अमरराज पुन, कर्णाली प्रदेशबाट हिक्मतबहादुर नेपाली र सुदूरपश्चिम प्रदेशबाट विनोदसिंह विष्टले प्रदेशस्तरीय उत्कृष्ट फोटो पुरस्कार पाउनुभएको छ । उहाँहरु सबैले रु १० हजारसहितको पुरस्कार पाउनुभएको हो ।

समूहका महासचिव प्रदीपकुमार वन्तका अनुसार पुस्तकमा समूहका सदस्यले नेपालको संस्कृति, कला, पर्यटन झल्कने खालका विभिन्न समयमा खिचेका फोटो करीब १९० रहेका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter