घराना मिल्ने र एकै प्रकृतिका बैंक मर्जरमा जान बैंक मर्जरमा अर्थमन्त्रीको आग्रह

काठमाडौं, माघ ११ गते । बैंक तथा वित्तीय संस्थालाई एकापसमा गाभिन अभिप्रेरित गर्दै आएको सरकारले त्यसलाई थप गति दिने संकेत गरेको छ।

अर्थमन्त्री डा युवराज खतिवडाले घराना मिल्ने तथा एकै प्रकृतिका कारोवार गर्ने बैंक तथा वित्तीय संस्थालाई एकापसमा गाभिन पुनः सुझाव दिएका हुन्। बैंक तथा वित्तीय संस्थाको सङ्ख्या कम गर्दै गुणात्मक सेवा विस्तार गर्नु जरुरी रहेको भन्दै उनले सबल र समृद्ध बैंकिङका लागि एकापसमा मिल्न आग्रह गरेका हुन्।

सरकारको आग्रहलाई स्वीकार गर्दै ग्लोबल आइएमई बैंक र जनता बैंक एकापसमा गाभिएर संयुक्त कारोवारसमेत शुरु गरिसकेका छन्। अन्य केही बैंक तथा वित्तीय संस्थासमेत गाभिने प्रक्रियामा छन्। सरकारले बैंक तथा वित्तीय संस्थाको सङ्ख्या घटाउन प्रेरित गरिरहेको भन्दै उनले सरकारको आग्रहलाई स्वीकार गरेको खण्डमा थप सहुलियतसमेत दिलाउने विश्वास व्यक्त गरे। राष्ट्रिय वाणिज्य बैंकको ५५ औँ वार्षिकोत्सवको अवसरमा उनले भने, “घराना मिल्ने र एकै प्रकृतिका कारोवार गर्ने बैंक तथा वित्तीय संस्था एकापसमा गाभिनुपर्छ, त्यसतर्फ नगई सुखै छैन।”

२७ वटै वाणिज्य बैंक चाहिन्छ भन्ने नरहेको उल्लेख गर्दै उनले नेपाल राष्ट्र बैंकले पनि संस्था एकापसमा गाभिन प्रोत्साहित गरिरहेको उल्लेख गरे। उनले गुणस्तरीय बैंकिङमा ध्यान दिन, सेवाको क्षेत्र विस्तार गर्नसमेत सरकारी लगानी भएकाले वाणिज्य बैंक अझै अब्बल हुनुपर्नेमा जोड दिए। उनले दीर्घकालीन प्रकृतिका कर्जामा ब्याजदर करिडोर बनाउनुपर्ने आवश्यकता रहेको बताए। उनले, “कर्जाको आकार होइन, अब कर्जाको गुणस्तर वृद्धिमा लाग्नुपर्छ । आकार मात्रै वृद्धि गरेर हुँदैन कर्जाले उत्पादकत्व पनि बढाउनुपर्छ। त्यसमा भूमिका खेल्नुस्।”

वाणिज्य बैंकको आइपिओ आउने

अर्थमन्त्री खतिवडाले सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको साधारण शेयरको प्राथमिक निष्काशन हुनसक्ने बताए। उनले साधारण शेयर बिक्री हुन सक्नेतर्फ सङ्केत गर्दै त्यससम्बन्धी प्रक्रियाका बारेमा हाल छलफल मात्रै भइरहेको बताए।

उनले भने, “पूँजीका हिसाबले साधारण शेयर बिक्री गर्नुपर्ने अवस्था भने छैन तर कम्पनी ऐनअनुसार सबैलाई समान व्यवहार गर्नुपर्ने भएकाले वाणिज्य बैंक पनि त्यसमा आउनै पर्छ।” उनले अन्य बैंक तथा वित्तीय संस्थालाई झै राष्ट्रिय वाणिज्य बैंकलाई पनि कम्पनी कानून र बैंक तथा वित्तीय संस्था ऐनमा भएको व्यवस्था लाग्ने स्पष्ट पारे।

उनले भने, “बैंकको शेयर स्वामित्व संरचना कस्तो हुन्छ भनेर हामी छलफलमा नै छौं। कानूनको सबैले पालना गर्नुपर्छ । त्यसो हुँदा सर्वसाधारणमा साधारण शेयर बिक्री गर्नुपर्छ ।” उनले सामाजिक सुरक्षा कोषमा दोहोरो कर नलाग्ने गरी नीतिगत व्यवस्था गरिन लागेको जानकारी दिए। अर्थमन्त्रीले बैंक तथा वित्तीय संस्थालाई आफ्नो निक्षेपकर्ताको चित्त दुखाउने गरी काम नगर्नसमेत आग्रह गरे। नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले सरकारी स्वामित्वको बैंक भएकाले पनि राष्ट्रिय वाणिज्य बैंकको भूमिका थप सबल हुनुपर्ने बताए।

उनले बैंकलाई अझ थप सबल, सक्षम बनाएर लैजानुपर्ने तथा नीतिगतरुपमा स्पष्टता तथा प्रविधिको प्रयोगमा पनि उल्लेख्य सुधार गरेर जानुपर्नेमा जोड दिए। कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको नाफा बढेर रु पाँच अर्ब चार करोड ६५ पुगेको जानकारी दिए।

बैंकले रु एक खर्ब ४६ अर्ब ऋण प्रवाह गरेको छ । यस्तै बैंकले निक्षेपतर्फ रु एक खर्ब ९० अर्ब सङ्कलन गरेको छ। यसैगरी बैंकको खुद ब्याज आम्दानी रु ९९ करोड हुँदा शाखा सङ्ख्या २३८ रहेका छन् । यस्तै २०५ एटिएम रहेको बैंकले ३२ लाख ग्राहकलाई सेवा पु¥याएको छ । त्यस्तै ९५४ वटा सहुलियत कर्जा स्वीकृत गरी रु ७८ करोड ७८ लाख ८० हजार ऋण प्रवाह गरेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter