चौधौँ महाधिवेशनको तयारीमा काँग्रेस

काठमाडौं, माघ १३ गते । नेपाली काँग्रेसले पार्टीको १४औँ केन्द्रीय महाधिवेशनको मिति तय गर्दै त्यसको तयारीलाई तीव्र बनाएको छ । काँग्रेसले केन्द्रीय महाधिवेशन विसं २०७७ फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ ।

काँग्रेसको गत पुस ११ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले गाउँ÷नगर वडा अधिवेशन २०७७ साल मङ्सिर ९ गते, गाउँ÷नगरपालिका अधिवेशन मङ्सिर ११ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन मङ्सिर १५ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन मङ्सिर १७ गते, जिल्ला अधिवेशन मङ्सिर २५ गते, प्रदेश अधिवेशन पुस १५ गते र केन्द्रीय महाधिवेशन विसं २०७७ फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको थियो ।

केन्द्रीय समितिको सो बैठकले बहुमतका आधारमा उक्त निर्णय गरेपछि पार्टीमा आन्तरिक विवाद उत्पन्न भएको थियो । विवाद समाधानका लागि शीर्ष नेताहरुले सोबारेमा यही माघ १० गते सहमति गरेका थिए । काँग्रेसको आज अपराह्न बस्ने केन्द्रीय समिति बैठकले सो सहमतिलाई सर्वसम्मतरूपमा पारित गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

सभापति शेरबहादुर देउवा निवास बूढानीकण्ठमा गत शुक्रबार भएको शीर्ष नेताहरुको बैठकले पार्टीको केन्द्रीय महाधिवेशन तोकिएको मितिमै गर्ने तथा केन्द्रीय महाधिवेशन अघि विभिन्न तहका अधिवेशनसम्बन्धी कार्यतालिका र कार्यविधि परिमार्जनसहित नयाँ प्रस्ताव केन्द्रीय समितिमा पेश गर्ने सहमति गरेको थियो । साथै पार्टीको क्रियाशील सदस्यता छानबिन समिति गठन गर्ने, छ महिनाभित्र महाधिवेशन गर्ने गरी नेपाल विद्यार्थी सङ्घको केन्द्रीय तदर्थ समिति गठन गर्नेलगायतका सहमति गरी उक्त सहमति केन्द्रीय समिति बैठकबाट सर्वसम्मतिले पारित गर्ने निर्णय भएको थियो ।

गत पुस ११ गते केन्द्रीय समिति बैठकले पार्टीको महाधिवेशन, केन्द्रीय विभाग, भ्रातृ संस्थासम्बन्धी निर्णय गरेपछि पार्टी सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच विवाद देखिएको थियो । वरिष्ठ नेता पौडेल पक्षको अनुपस्थितिमा बसेको केन्द्रीय समितिको सो बैठकले पार्टीको केन्द्रीय विभाग २८ बाट बढाएर ४७ बनाउने, नेपाल तरुण दल केन्द्रीय कार्यसमितिको पदावधि छ महिना थप गर्ने, काँग्रेसको सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि एक वर्ष थप गर्ने, पार्टीको विभिन्न तहका अधिवेशन गर्ने कार्यतालिका, विधानका केही दफा निलम्बन गर्नेलगायतका निर्णय गरेको थियो ।

गत मङ्सिर २६ गतेको केन्द्रीय समिति बैठकमा १४औँ महाधिवेशनको कार्यतालिका पेश गर्नुपर्ने आफ्नो माग पूरा नभएको भन्दै वरिष्ठ नेता पौडेल पक्षका नेताहरु बैठकमा उपस्थित भएनन् । त्यसपछि सहमतिका लागि शीर्ष नेताहरुबीच पटकपटक छलफल भएका थिए । शीर्ष नेताबीचको सहमति भएको झण्डै डेढ महिनापछि आज वरिष्ठ नेता पौडेल पक्ष पनि केन्द्रीय समिति बैठकमा सहभागी हुँदैछ ।

काँग्रेसको १३औँ महाधिवेशन विसं २०७२ फागुनमा काठमाडौँमा सम्पन्न भएको थियो । काँग्रेसको विधानको दफा ४३ मा पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरूको पदावधि चार वर्षको हुने उल्लेख छ । साथै सोही दफामा असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्ने व्यवस्था उल्लेख छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter