राष्ट्रभक्ति चेतना अभिवृद्धि गर्न सरकारको भूमिका आवश्यक – राष्ट्रपति

हेटौंडा, माघ १४ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा युवा पुस्तालाई राष्ट्रभक्ति र लोकतान्त्रिक पद्धतिका बारेमा चेतना अभिवृद्धि गर्न सङ्घीय र प्रदेश सरकारको भूमिकाको आवश्यकता रहेको बताउनुभएको छ ।

राष्ट्रपति भण्डारीले वाग्मती प्रदेशअन्तर्गत मकवानपुर, हेटौंँडा उपमहानगरपालिका वडा नं ११ नवलपुरस्थित शहीद स्मारकमा नवनिर्मित प्रजातान्त्रिक उद्यानमा स्थापित विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, पुष्पलाल र मनमोहन अधिकारीको पूर्ण कदको शालिकको आज अनावरण गर्दै ती सरकारले राष्ट्रभक्ति, शहीदका योगदान, गणतन्त्र एवं लोकतन्त्र आदि विषयमा सबैलाई प्रशिक्षित तुल्याउनुपर्नेमा जोड दिनुभयो । राष्ट्रपति भण्डारीले मानवअधिकारको सम्बद्र्धन, विकासको पूर्वाधार, सामाजिक न्याय वितरण र जनतालाई आर्थिक समृद्धितर्फ उन्मुख गराउन तथा उद्योगमैत्री र ऊर्जा उत्पादनमा निजी क्षेत्रका लगानीकर्तालाई प्रोत्साहन गर्ने दिगो कार्यक्रम ल्याउन आग्रह गर्नुभयो ।

समारोहमा राष्ट्रपति भण्डारीले स्मारक समितिको प्रवेशद्वारमा नवनिर्मित रजतस्तम्भको पनि आजै अनावरण गर्दै शहीद स्मारकमा स्थापित जननेता मदन भण्डारीको शालिकमा पुष्पगुच्छा अर्पण गर्नुभयो । राष्ट्रपति भण्डारीले स्मारकको निर्माणका क्रममा शहीदको आकृति कुँद्ने कलाकार कमलेश महर्जन, गोविन्द चौधरी र पृथ्वी श्रेष्ठलाई सम्मानपत्र प्रदान गर्दै शहीद स्मारक विकास समितिमा कार्यरत प्रमुख रामचन्द्र न्यौपानेलाई दीर्घसेवा पदक तथा शहीद स्मारक स्थापना गर्ने क्रमका प्रथम उपभोक्ता समितिका उपाध्यक्ष हरिशरण सुवेदीलाई पनि सम्मान गर्नुभयो ।

सो अवसरमा वाग्मती प्रदेशका मुख्यमन्त्री तथा शहीद स्मारक विकास समितिका अध्यक्ष डोरमणि पौडेलले प्रदेश सरकार अब भ्रष्टाचारजन्य कार्यलाई निरुत्साहन गर्दै जनतालाई आर्थिक समृद्धितर्फ उन्मुख गराउन र उद्योगमैत्री वातावरण तयार गर्ने काममा लागेकाो बताउनुभयो । उहाँले हेटौंँडामा २०५१ साल माघ १७ गते प्रजातान्त्रिक आन्दोलनका शहीदको सम्झनामा एउटा ठूलो ढुङ्गामा कुँदिएको भक्ति थापालगायत अन्य १२ शहीदको आकृति रहेको शहीद स्मारक स्थापना भएको र अब त्यो पर्यटन गन्तव्य रहेको पनि जानकारी दिनुभयो ।

मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले प्रदेशका १३ जिल्लामा राष्ट्रको गौरव आयोजनाको छनोट गरी कार्यान्वयन गर्दै हेटौंँडा–काठमाडौं सुरुङ मार्ग, काठमाडौं–निजगढ द्रुतमार्ग र हेटौंडा–कुलेखानी हुँदै काठमाडौं जोड्ने मदन भण्डारी राजमार्ग निर्माणलाई तीव्रता दिन अनुगमन शुरु गरिसकेको पनि जानकारी दिनुभयो ।

वाग्मती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणकुमार नेपालले प्रदेशमा कृषि, पर्यटन र उद्योग क्षेत्रमा दिगो विकास गर्न ११९ स्थानीय तहमा रु एक अर्ब ६५ करोड विनियोजन गरिएको, मकवानपुरको इन्द्रसरोवर, दोलखाको गौरीशङ्कर हिमाललगायत अन्य क्षेत्रमा दिगो पर्यटन विकासका लागि गुरुयोजना तर्जुमा भएको र पर्यटकलाई विभिन्न स्थानको भ्रमण गराउने लक्ष्य रहेको जानकारी दिनुभयो । वाग्मती प्रदेश, नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले जनताप्रति जिम्मेवार हुन सबैलाई आग्रह गर्दै प्रदेशमा औद्योगिक क्षेत्रको विस्तार, पर्यटनको गुरुयोजना, ऊर्जा उत्पादन र जनतालाई आत्मनिर्भर हुने योजनालाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्न जोड दिनुभयो । त्यस अवसरमा शहीद स्मारक विकास समितिका उपाध्यक्ष रामेश्वर रानाले स्मारकका शालिक शहरी विकास मन्त्रालय र शहिद स्मारक विकास समितिबाट संयुक्त रुपमा रु एक करोड पाँच लाखको लागतमा स्थापना गरिएको जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter