महाशिवरात्रिमा पशुपति दर्शनका लागि पाँच स्थानबाट लाइन

पूर्णप्रसाद मिश्र / काठमाडौं, फागुन ७ गते । यसवर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि पाँच वटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–ईंटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एअरपोर्ट–तिलगङ्गा भएर पिङगलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट एक/एक लाम गरी बाहिरी रुपमा दर्शन गर्ने व्यवस्था मिलाइएको सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो ।

यसैगरी तिलगङ्गा राममन्दिरतर्फसमेत आवश्यकता अनुसार एक लामको व्यवस्था गर्न सकिने गरी व्यवस्थापन मिलाउन लागिएको उहाँले बताउनुभयो । नित्य दर्शनार्थीका लागि बिहान ७ बजे अगावै भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको छ । जुन दर्शनमार्गबाट मन्दिर प्राङ्गण प्रवेश गरिन्छ सोहीमार्ग हुँदै मन्दिर प्राङगणबाट बाहिरिने व्यवस्था मिलाइएको छ ।

महाशिवरात्रिमा लाखौँको सङ्ख्यामा आउने दर्शनार्थी, भक्तजन र समग्र व्यस्थापनलाई मध्यनजर गरी कोषले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री एवं कोष सञ्चालक परिषद्का अध्यक्ष योगेशकुमार भट्टराईको संयोजकत्वमा १११ सदस्यीय मूल समिति –२०७६ गठन गरेको छ । यसवर्ष महाशिवरात्रिलाई नेपाल भ्रमण वर्षसँग जोडेर मनाउन मन्त्रीकै अध्यक्षतामा समिति गठन भएको हो ।

यसैगरी सुरक्षा व्यवस्था, आवास, भोजन तथा भौतिक पूर्वाधार, प्रचारप्रसार, साधुसन्त तथा धार्मिक, वातावरण, सरसफाइ तथा जुत्ता चप्पल व्यवस्था, स्वास्थ्य सेवा व्यवस्था, मेला बजार तथा साज सजावट, स्वयंसेवा, दर्शन, चन्दन तथा मन्दिर एवं रात्रिकालीन व्यवस्था, स्वयंसेवा परिचालन एवं अनुगमन, सरकारी निकाय समन्वय, अनुगमन, मूल्याङ्कन तथा तथ्याङ्क सङ्कलन उपसमिति गठन गरिएको छ ।

नेपाल प्रहरीको अगुवाइमा सशस्त्र तथा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी, जनशक्ति मेला अवधिभर परिचालन गरिने छ । सादा पोशाकमा प्रहरी परिचालन गरी मेला क्षेत्रको विशेष अनुगमन गरिने कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले बताउनुभयो ।

पशुपतिमा पाँच हजार स्वयंसेवक

नेपाल स्काउट समेतका गरी करिब पाँच हजार स्वयंसेवक परिचालन गरिने कोषले जनाएको छ । दर्शन लाइनको सहजीकरणका लागि मुख्य क्षेत्र बाहिर मात्र स्वयसेवक परिचालित हुनेछन् । पशुपतिनाथको मन्दिर नजिक हुनेगरी मुख्य क्षेत्रमा डाक्टर, नर्स, औषधि र श्यया सहितको नेपाली सेनाको मूल स्वास्थ्यशिविर रहनेछ । महाशिवरात्रिमा ३३ वटा स्वास्थ्यसँग सम्बन्धित संस्थाले सेवा प्रदान गर्नेछन् । त्यसैगरी एम्बुलेन्स र आपत्कालीन अवस्थाका लागि दमकल समेत तयारी अवस्थामा रहने गरी व्यवस्था मिलाइएको छ ।

कोषका सफाइ कर्मचारीबाट गरिने नियमित सरसफाइका अतिरिक्त सेना, प्रहरी, सशस्त्र प्रहरी, स्थानीय तह र स्थानीय स्वयंसेवी संस्थाको सहभागितामा एक हप्ता अघिदेखि विशेष सरसफाइ अभियान सञ्चालन भइरहेको छ ।

चार ठाउँमा जुत्ता चप्पल

दर्शन लाइनलाई पायक पारेर कैलाशमुनि रूद्रगाडेश्वर दर्शनमार्ग, भुवनेश्वरी नजिक, बज्रघर दक्षिण तर्फ, राममन्दिर नजिक (बागमतीपारी) गरी चार ठाउँमा जुत्ता चप्पल कक्षको व्यवस्था गरिने छ । दर्शन सकेर बाहिर निस्कने स्थान नजिक मुख्य क्षेत्रभित्र सानो सदावर्त सत्तलअगाडि र बाहिरी क्षेत्रमा उमाकुण्ड, मित्रपार्क, तिलगङ्गा, गौशालामा गरी पाँच ठाउँमा चन्दन वितरणको व्यवस्था मिलाइने छ ।

मन्दिर प्राङ्गणभित्र रात्रिकालीन व्यवस्थासहित कोषको आफ्नै निगरानी र नेतृत्वमा विशेष जनशक्ति परिचालन गरिने सदस्य सचिव ढकालले बताउनुभयो । हंशमण्डप, वनकालीको खुलास्थान, तिलगङ्गाको क्षेत्रलाई आवास क्षेत्र तोकी करिब १०० वटा सङ्घ संस्थाले निःशुल्क भोजन, पानी, चिया वितरणको व्यवस्था हुने जनाइएको छ । साधुसन्तका लागि निःशुल्क भोजन, पानी, चिया र बसोवास समेतको व्यवस्था छ । चिसोबाट बच्नका लागि धुनीको व्यवस्था पनि मिलाइएको छ । महाशिवरात्रि पर्वको पर्सीपल्ट प्रतिपदाका दिन बाटो खर्चसहित साधुसन्तका लागि बिदाइको व्यवस्था कोषले समेत गर्नेछ ।

पार्किङ तथा ट्राफिक व्यवस्थापन

तिलगङ्गा क्षेत्र, कोषको कार्यालय, महानगरीय प्रहरी वृत्त÷ट्राफिक प्रहरी प्रभाग, गौशाला, सिफलचौर, गुह्येश्वरी पारी गरी पाँच स्थानमा पार्किङको व्यवस्था मिलाइएको छ । एअरपोर्ट, गौशाला, चावहिल चक्रपथमा दर्शनार्थीको चापलाई ध्यानमा राखी आधा सडकमा मात्र सवारी गुड्न दिने वा डाइभर्सन गरी सवारी सञ्चालन गर्ने व्यवस्था समेत मिलाइने छ ।

हंशमण्डप वनकालीमा नेपाल तथा भारतका ख्याति प्राप्त कलाकारद्वारा धार्मिक गतिविधिसहित भक्तिसङ्गीत प्रस्तुति रहनेछ । महाशिवरात्रि पर्वका अवसरमा भगवान् पशुपतिनाथको मन्दिर परिसर र मुख्य क्षेत्र विशेष किसिमका वत्ती र फूलले समेत सिगारिने छ । पशुपति क्षेत्र कानूनद्वारा नै मांस, मदिरा तथा कुनै पनि प्रकारका नशालु पदार्थ निषेधित क्षेत्र भएकाले महाशिवरात्रि पर्वमा समेत गाँजा–भाङ, जाँडरक्सी जस्ता नशालु पदार्थको बिक्री वितरण, ओसारपसार, भण्डारण एवं प्रयोग वा सेवन नगर्न कोषले सबैलाई अनुरोध गरेको छ ।

पशुपति क्षेत्र प्लाष्टिक निषेधित क्षेत्र भएकाले मेला क्षेत्रमा सेवा प्रदान गर्ने सबै संस्थालाई भोजन, पानी, चिया वितरण गर्दा प्लास्टिकका कप प्रयोग नगर्न कोषले आह्वान गरेको छ । महाशिवरात्रिमा पशुपति आउने भक्तजन र विभिन्न सेवामा खटिने कर्मचारीलगायत स्वयंसेवकलाई नेपालीको मौलिक संस्कार नमस्कारलाई गर्वका साथ अवलम्बन गर्न समेत अनुरोध गरिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताउनुभयो । पशुपति क्षेत्रमा पर्ने काठमाडौँ महानगरपालिकाका वडा कार्यालयले पशुपति मन्दिर आसपास बसोवास गर्ने स्थानीय बासिन्दाका लागि स्थानीय परिचयपत्र (पास) जारी गरिएको कोषले जनाएको छ । यसका आधारमा आफ्नो बसोवास रहेको स्थानसम्म आवतजावत गर्न दिने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा करिब तीन हजारभन्दा बढी साधुसन्त आइसकेको कोषले जनाएको छ । ४०० भन्दा बढी नागा बाबा आजैदेखि पशुपति मूल मन्दिर प्रवेश गरी बसेको प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter