अबको परिवर्तित गन्तव्य समृद्धि हो-प्रधानमन्त्री

दीपक श्रेष्ठ / काठमाडौँ, फागुन १० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले गरिवीबाट समृद्धितर्फको यात्रा थालनी भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले विकास र समृद्धिसम्बन्धी दृष्टिकोण संग्रहित आफ्नो पुस्तक ‘भिजन टु एक्सन’ सार्वजनिक कार्यक्रममा भन्नुभयो, “निरंकुशताबाट लोकतन्त्रको यात्रा सम्पन्न भएको छ । अबको परिवर्तित गन्तव्य समृद्धि हो ।”

उहाँले विकासको सामथ्र्यको रुपमा प्राकृतिक स्रोत साधन, युवा श्रमशक्ति मुलुकमा भए पनि मुलुकमा विकासको स्पष्ट दृष्टिकोण आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीमा दृष्टिकोण आवश्यक छ । त्यसलाई कार्यान्वयन गर्न योजना, कार्यक्रम चाहिन्छ । प्रतिबद्धता र प्रभावकारी कार्यान्वयनको आवश्यकता छ । उहाँले मुलुकको समृद्धिका लागि सन्तुलित, प्रभावकारी र उचित प्रकारको छिमेक र वैदेशिक सम्बन्ध विकास गर्न समेत आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “दुई भिन्न राजनीतिक, सामाजिक र आर्थिक प्रवृत्तिका छिमेकी छन् । दुईवटा छिमेकीसँग मुख्य रुपमा सन्तुलन मिलाउने ठूलो कुरा होइन । हामी सन्तुलन, सार्वभौम, पारस्परिक लाभ र सम्मानका आधारमा जानुपर्छ ।” उहाँले सार्वभौमसत्ता जनतामा रहेको राजनीतिक प्रणाली मुलुकमा स्थापित गरिएकाले मुलुकको विकासमा ढंग पुर्याउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले साधन स्रोतको उपयोग गर्न सक्ने, समुचित प्रयोग गर्नसक्ने गरी शिक्षा, तालिमका क्षेत्रतिर ध्यान दिनु पर्ने बताउनुभयो । उहाँले तानाशाहीदेखि लोकतन्त्रसम्मको राजनीतिक, सामाजिक अवस्था देखेको र भोगेको चर्चा गर्दै उत्पादन र वितरणमा समुचित व्यवस्थापन गर्न नसकिएका कारणले मुलुकले विगतमा आर्थिक समृद्धि हासिल गर्न नसकेको बताउनुभयो ।

उहाँले केही वर्षभित्रै मुलुकमा आवासविहीन भन्ने नै रहन नदिने भन्दै अव्यवस्थाकै कारण ढुंगा, माटो, बाँस, काठ, खर, पराल भएर पनि कतिपय नागरिकको घर नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “विकासका सम्भावनाहरु छन् । हामीसँग प्रकृति अत्यन्तै उर्वर, समृद्ध छँदैछ । हिमाल, पहाड, तराई चुरेलगायतको विविधतायुक्त हावापानी, वनस्पति, जीवजन्तु छन् ।

दीगो विकासका निम्ति यसको खास अर्थ छ ।” उहाँले प्राकृतिक स्रोत र साधनको वैज्ञानिक उपयोगबाट दीगो विकासमा जान सकिने र जसले भविश्यमा कुनै पनि खालको आर्थिक संकट टार्ने बताउनुभयो । उहाँले सार्वजनिक पुस्तकमा अबको नेपाल कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा आफ्नो दृष्टिकोणहरु प्रस्तुत गरेको भन्दै प्राकृतिक स्रोत साधनको समुचित प्रयोग गर्न सक्नेगरी मानव स्रोत साधनको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले मुलुकको विकासमा सहयोगी र शुभेच्छुकको सहयोग लिदै लगानीकर्तालाई अनुकूल र लगानीमैत्री वातावरण बनाउँदै विकास केन्द्रित गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “लगानी बृद्धिले रोजगारी सिर्जना, उत्पादकत्व बृद्धि, आत्मनिर्भरतर्फ अग्रसर बन्दै निर्यात बृद्धितिर जान सकिन्छ । आयातकर्ता होइन निर्यात कर्ता देशका रुपमा मुलुकलाई बदल्न आवश्यक छ ।”

उहाँले लोकतन्त्रलाई राजनीतिक अधिकारको रुपमा मात्र होइन सम्पूर्ण रुपमा अधिकारको प्राप्ति, अधिकारसम्म पुग्ने पहुँचको व्यवस्था, सबैले सुरक्षित र सम्मानित जीवन विताउन पाउने, सामाजिक न्याय र समानतासहितको समृद्धिका रुपमा लिनुपर्ने बताउनुभयो । उहाँले रासायनिक पदार्थ मिसिएका पेय पदार्थ आयात गर्दा नेपालीको स्वास्थ्य र अर्थतन्त्रसमेत बिगारेको प्रसङ्ग चर्चा गर्दै हामीले आफ्नो आनीवानी पनि बदल्न जरुरी रहेको बताउनुभयो ।

उहाँले पुस्तक पढेर टिप्पणी गर्न, विचारलाई मरिमार्जित र परिस्कृत बनाउन विद्वान वर्गमा आग्रह गर्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भिजन टु एक्सन’ पुस्तक राष्ट्रकवि माधवप्रसाद घिमिरे र शताब्दी पुरुष सत्यमोहन जोशीले बालुवाटारमा शनिबार सार्वजनिक गर्नुभएको हो । पुस्तकमा भिजन एन्ड एक्सन, फेन्डसीप एन्ड डिप्लोमेसी, ट्रेड एन्ड इन्भेस्टमेन्ट, वर्क एन्ड लेवरगरी चार खण्ड रहेका छन् । पुस्तकमाथि डा.विन्दु लोहनी र डा.शम्भुराम सिंखडाले चर्चा गर्नुभएको थियो । पुस्तक रत्नपुस्तक भण्डारले प्रकाशन गरेको हो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter