नीति, विधि र विचार निर्माणमा सञ्चार माध्यमकाे भूमिका महत्वपूर्ण : मन्त्री खतिवडा

काठमाडौँ, फागुन ११ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएका अर्थमन्त्री डा.युवराज खतिवडाले नीति, विधि र विचार निर्माणमा सञ्चार माध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।

मन्त्री खतिवडाले शासकीय प्रवन्धको जग निर्माणमा सञ्चार माध्यमको भूमिका चर्चा गर्दै भन्नुभयो, “कस्तो नागरिक समाज तयार पार्छौ, त्यस्तै किसिमको प्रतिनिधित्व मुलुकले पाउने हो । त्यसैले सहि निर्णय गर्न सक्ने सवलिकृत नागरिक बनाउन सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुन्छ ।”

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आइतबार पदभार ग्रहण गर्दै मन्त्री डा.खतिवडाले संविधानले नै सुनिश्चित गरेको प्रेस स्वतन्त्रता र लोकतन्त्रको आधार स्तम्भ सञ्चार माध्यम भएकाले यो स्वतन्त्र, निर्भिक र सत्यमा तटस्थ रहनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “बढी जिम्मेवारी आम नागरिकप्रति सञ्चार माध्यमको रहन्छ । जे हो त्यही कुरा जनताको सामु पुर्याउने । भएको कुरा पुर्याउने । नभएको कुरा नपुर्याउने ।”

उहाँले नागरिकलाई सवलिकरण गर्न सूचना र प्रविधिको पहुँच महत्वपूर्ण चर्चा गर्दै सूचना र प्रविधिकै माध्यमबाट शासकीय प्रवन्धलाई पारदर्शी र व्यवस्थित तुल्याउदै लैजानु पर्ने एवं त्यसका लागि सबै खालका सञ्चार माध्यमलाई व्यवस्थित समेत गर्दै लैजानु पर्ने बताउनुभयो । उहाँले निजी क्षेत्रका सञ्चार माध्यमसमेत सशक्त रुपमा रहेको परिप्रेक्ष्यमा सरकार मातहत रहेका सञ्चार माध्यमले गुणस्तरीयता कायम राख्दै सामाजिक जवाफदेहिता पनि निर्वाह गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सञ्चार मन्त्रालय मातहतका आमसञ्चारका क्षेत्रहरुमा थप जिम्मेवारी छ ।” उहाँले सरकारको संस्था भएकाले यसका केही मान्यता र विधि विधान भएको चर्चा गर्दै भन्नुभयो, “स्रोतमा भर पर्नु पर्ने भएकाले स्वायत्तता कायम गरिराख्नलाई थप प्रयास गर्नुपर्ने चुनौति छन् ।

निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्दै सरकारमाथिको निर्भरता घटाउँदै लैजानुपर्ने चुनौती पनि देखेको छु ।” उहाँले सरकारी सञ्चार माध्यमप्रति सरकारको अपेक्षा प्रष्ट पार्दै भन्नुभयो, “सरकारले गरेका राम्रा कामहरु जनतासमक्ष पुर्याइदिनुस् । नराम्रो गरेको छ भने नराम्रो पनि पुर्याउनुस् तर राम्रोलाई नराम्रो र नराम्रोलाई राम्रो भनेर नपुर्याउनुस् । हामी पनि सकेसम्म नराम्रो काम नगर्ने हो ।”

उहाँले सरकारको मात्रै गुणगान गाउने नभई सबैको साझा सञ्चार माध्यमको रुपमा अगाडि बढ्न आग्रह गर्दै भन्नुभयो, “यति मात्र हो कि तपाईहरु स्वतन्त्र, निष्पक्ष र व्यवसायिक जिम्मेवारीमा रहेर काम गर्नुहुन्छ ।” उहाँले भन्नुभयो, “सरकारको मात्रै गुणगान गर्नुपर्छ भन्ने अपेक्षा गर्दैनौ । कुन सूचना जनतामा जाँदा सुसूचित हुन्छन् र उनीहरुले राज्य संचालनमा राम्रो भूमिका निर्वाह गर्न सक्छन्, त्यस कुरामा ख्याल राखिदिनुपर्छ ।”

उहाँले शासकीय स्वरुप, राज्य र समाजको पुर्नसंरचनाका लागि सरकारको दुई वर्ष छोटो अवधि भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारको दोस्रो वर्षमा आधारभूत कानुनी संरचना तयार गरेर संघ, प्रदेश र स्थानीय तहमा बाझिने जिम्मेवारीहरु, बाझिने करका अधिकार, द्विविधा उत्पन्न भएका अधिकारका क्षेत्रहरुमा स्पष्टहुँदै अघि बढ्ने चरणमा आइपुगेका छौ ।”

उहाँले भन्नुभयो, “अब संघीयता कार्यान्वयनमा कुनै द्विविधा नरहने गरी अघि बढ्दै छौ । यो शासकीय प्रणालीको उत्पन्न संरचनाको एउटा पाटो हो । संघीय प्रणालीमा जाने गरी पूर्णत हामी तयार भइसक्ने स्थिति बनेको छ ।” उहाँले छोटो समयमा संघीयता कार्यान्वयनमा सफलता प्राप्त गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “संघीयतामा गएपछि व्यवसायिक वातावरण बिग्रन्छ कि ? धेरैवटा निकायले कर उठाउनेहुँदा करमा विवाद सिर्जना हुन्छ कि ? प्राकृतिक स्रोत साधनको बाँडफाँड र अधिकार क्षेत्रको बारेमा विवाद हुन्छ कि ? सामाजिक र आर्थिक स्रोतमाथिको द्वन्द्व सुरु हुन्छ कि ? भन्ने शंकाहरु थिए ।”

उहाँले थप्नुभयो, “ती शंकाहरुलाई छोटो अवधिमा निवारण गर्यौ । संघीयता कार्यान्वयन गर्न र त्यसभित्रको वित्तीय संघीयता कार्यान्वयन गर्नमा सफलता पाएका छौं ।” उहाँले अबको विषय भनेको चरम गरिवी अन्त्य गर्ने, विकासको प्रक्रियालाई समावेशी र समन्यायिक बनाउँदै समृद्ध मुलुक बनाउने तर्फ अगाडि बढ्नु नै हो भन्नुभयो । अर्थमन्त्री खतिवडाले आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पदभार ग्रहण गर्नुभएको थियो । मन्त्री डा. खतिवडालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीलगायत मन्त्रालय कर्मचारीहरुले स्वागत गर्नुभएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter