भजन संस्कृति लोप हुने चिन्ता

File Photo

सानेबहादुर नेपाली तनहुँ, चैत ४ गते । भजन संस्कृति र चुड्का लोप हुँदै गएपछि यहाँका ज्येष्ठ नागरिक चिन्तित हुन थालेका छन् । पश्चिमा संस्कृतिको प्रभावले नेपाली संस्कृति ओझेलमा पर्दै गएपछि यसको संरक्षणका लागि ज्येष्ठ नागरिक चिन्तित भएका हुन् ।

मौलिक संस्कृति संरक्षणमा युवा पुस्ता सजग नहुँदा पुरानो पुस्ता चिन्तितसमेत बन्न थालेको व्यास नगरपालिका–५ की ७८ वर्षीय कृष्णमाया वाग्लेले बताउनुभयो । “धेरै भो मध्यरातमा शङ्ख फुकेको सुनिन छाडिएको, धेरै भो घरआँगनमा बालन गीत गाउन छोडिएको र धेरै भो भजन चुट्काको आवाज गुञ्जिन छोडेको”, उहाँले भन्नुभयो । यसको संरक्षणको लागि युवापुस्ताले तदारुकता देखाउनुपर्ने उहाँको भनाइ छ ।

नेपाली समाज आफ्नै संस्कार र शैलीका कारण धनी छ तर अब समाजसँग जोडिएका यस्ता सम्पत्ति विलिन हुन थालेको उहाँको अनुभव छ । “बूढापाका सुस्ताउने चौतारा, साँझ बिहान भजन गुञ्जिने पाटीपौवा भेटिन छाडिसके”, उहाँले भन्नुभयो । पूजापाठ तथा धार्मिक कार्यक्रममा भजन, चुड्का, बालन गाउने र विभिन्न किसिमका नृत्य प्रदर्शन गर्ने चलन धेरै पहिलेदेखि चल्दै आइरहेको पाइन्छ तर पछिल्लो समय तनहँुँका गाउँघरमा यो संस्कृति ओझेलमा पर्नुका साथै विस्तारै लोप हुने स्थितिमा पुगेको देखिन्छ ।

यस्तै संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यले तनहुँका ज्येष्ठ नागरिक मिलेर भजन गाउने र पौराणिक पात्रको कथा सुन्ने अवसरको व्यवस्था गरिएको छ । भजनकीर्तनको संरक्षण गर्नका लागि भजनकीर्तन व्यास समितिसमेत गठन गरिएको छ । समाजबाट मूल्यमान्यता हराउन नदिन उनीहरुले चालेको कदम अनुकरणीय रहेको छ ।

शिवरात्रि, बालाचतुर्दशी, हरिबोधनी एकादशी, सत्यनारायण पूजालगायत धार्मिक उत्सवमा आयोजना गरिने भजनकीर्तनबाट पुण्य मिल्ने वाग्लेको विश्वास छ । भजनकीर्तनमा पौराणिक कथाका पात्रको महिमा तथा चरित्र वर्णन गरी भजनको माध्यमबाट व्यक्त गरिन्छ । उहाँले भन्नुभयो, “भजनकीर्तन भनिने कुरा हराएर, अहिलेको समयमा आधुनिक गीतका दोहोरी मात्र गाउने गरेको भेटिन्छ ।”

अहिलेका युवापुस्तालाई खासै भजनकीर्तनमा चासो नदेखाउँदा लोप हुने अवस्थामा पुगेको छ । देवीदेवताको गुणगानमा केन्द्रित यस्ता भजनकीर्तनको रौनकले मनमा शान्ति मिल्ने र दिन कटाउनसमेत सजिलो हुने गरेको ज्येष्ठ नागरिकको अनुभव छ । पछिल्लो पुस्ता यसप्रति उदासीन हुँदा भजन संस्कृति नै लोप हुने हो कि भन्ने चिन्ता रहेको भजनकीर्तन संरक्षण समितिका अध्यक्ष हर्कमान श्रेष्ठले बताउनुभयो । वरपर छरछिमेकका मानिस जम्मा भएर धार्मिक भाव झल्किने भजन गाउँदै एकअर्कामा सुखदुःखसमेत साटासाट गर्दा बैग्लै आनन्द महसुस हुने उहाँले बताउनुभयो ।

पछिल्लो समयमा उत्सव, महोत्सव तथा विशेष समारोहमा पनि भजन संस्कृतिका झलक देखाउने गरिएको छ । भजनकीर्तनमा शिव महिमा, बालन, महाभारतजस्ता धार्मिक कथालाई गीतका रूपमा गाइन्छ । सृष्टिदेखिका भगवान्का लीला र अवतारको वर्णन भजनमा प्रस्तुत गर्ने गरिन्छन् ।

देवीदेवताको गुणगानमा केन्द्रित भजनकीर्तनको रौनकले थकाइबिना रात र दिन सजिलै बिताउने गरेको ज्येष्ठ नागरिकको अनुभव छ । जनसंस्कृतिलाई लोकसाहित्यको एउटा महत्वपूर्ण पक्ष मानिने भएकाले यसको संरक्षण गर्न समिति गठन गरिएको समितिका अध्यक्ष श्रेष्ठले बताउनुभयो । बाबुबाजेको पालादेखि चल्दै आएको भजन संस्कृति धर्मशास्त्रमा आधारित भएको र धार्मिक महत्व रहेकाले यसको संरक्षणका लागि विशेष चासो दिनुपर्ने सरोकारपक्ष बताउँछन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter