• Saturday, April 19, 2025

रगतको कमी हुन नदिन मोबाइल टोली

भीष्मराज ओझा / काठमाडौँ, चैत १९ गते । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण रोकथामका लागि लागू गरिएको ‘लकडाउन’ अवधिमा रगतको कमी हुन नदिन नेपाल रेडक्रस सोसाइटीले मोबाइल टोलीमार्फत रगत सङ्कलन गरिरहेको छ ।

लकडाउनका कारण अहिले विभिन्न सङ्घसंस्थाले गर्दै आएको रगत सङ्कलनसमेत रोकिएपछि रगतको अभाव हुन नदिन नियमित काठमाडौँ उपत्यकामा रक्तदाता (स्वयंसेवी)लाई तम्तयारी रहन आग्रह गरिएको छ ।

केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रका निर्देशक डा मनिता राजकर्णिकारले दैनिक रगत अभाव हुन नदिन टोलटोलबाट युवा क्लब, समूहले बोलाएको बेला सम्बन्धित स्थानमा गएर भीडमाड नगरी रगत सङ्कलन गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “लकडाउन लागू भएदेखि दैनिक २५ देखि ५० युनिटसम्म रगत सङ्कलन भइरहेको छ ।” सामान्य अवस्थामा दैनिक २०० देखि ३०० युनिट रगत सङ्कलन गरेर मौज्दात हुने गरिएको र सोही अनुपातमा माग पनि रहेको थियो । लकडाउनका कारण अहिले रगतको माग पनि कम भएको रेडक्रसले जनाएको छ ।

नेपालमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि रेडक्रसले रक्तदातामा ज्वरो परीक्षण गर्ने र यसबारेमा अन्य सोधपुछ गरेरमात्र रक्तदान गर्न आग्रह गर्ने गरेको निर्देशक डा राजकर्णिकारले बताउनुभयो । रेडक्रसमा रगत मौज्दात नभएकाले कमी हुन नदिन विभिन्न रगत समूहका आफ्ना नियमित स्वयंसेवीलाई तयारी अवस्थामा राखेको रेडक्रसका सूचना तथा सञ्चार शाखाका निर्देशक दिव्यराज पौडेलले जानकारी दिनुभयो ।

कुनै रगतको समस्या नहोस् भनेर अहिले उपत्यकामा रहेका रक्तदातालाई सम्पर्क गरेर तयारी अवस्थामा बस्न भनिएको छ । रक्तसञ्चार सेवा केन्द्रसँग अहिले २५ हजार नियमित रक्तदाता रहेको उहाँले बताउनुुभयो । निर्देशक पौडेलका अनुसार काठमाडौँमा मात्र यही चैत १५ गते ४५ युनिट, १६ गते ३२ युनिट, १७ गते ४४ युनिट र १८ गते ४५ युनिट रगत सङ्कलन गरिएको थियो भने चैत १५ गते ६८, चैत १६ गते ५६, चैत १७ गते ४४ र चैत १८ गते ५५ युनिट रगत वितरण गरिएको छ ।

राजधानीका प्रसूति गृह, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, कान्ति बालअस्पताल, पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठान अस्पताललगायत करिब एक दर्जन ठूला अस्पतालले रक्तसञ्चार एकाइमार्फत बिरामीलाई चाहिने रगत सकेसम्म बिरामीका आफन्तबाट सट्टामा लिन्छन ।

रगत अभाव हुन नदिन अस्पतालले बिरामीका आफन्तसँग सट्टामा रगत सङ्कलन गरी मौज्दात रगत वितरण गर्दै आएको त्रिवि शिक्षण अस्पतालका प्रशासन प्रमुख माधव घिमिरेले जानकारी दिनुुभयो । सकेसम्म बिरामीका आफन्तसँग सट्टामा रगत लिने र कुनै उपाय नभएमात्र सट्टामा रगत नलिई रगत उपलब्ध गराउने गरेको उहाँले बताउनुुभयो ।

पाटन अस्पतालका शैक्षिक प्रशासन प्रमुख प्रकाश खड्काले अहिलेसम्म अस्पतालमा रगतको कमी नभएको बताउँदै बिरामीलाई चाहिने आवश्यक रगत रेडक्रसको केन्द्रीय रक्त सञ्चार केन्द्रबाट ल्याउने गरेको जानकारी गराउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter