ब्लफ कल, मिस कल, तथा जिस्कने ख्याल ठट्टा गर्ने गर्छन्

शान्ति लामा / काठमाडौँ, वैशाख २४ गते । ‘लक डाउनले पसल खुलेको छैन । रिचार्ज कार्ड हालिदिनुस् न ।’

‘कोरोनाबाट बच्न स्यानिटाइजर नै किन लगाउनुपर्ने ? त्यसको सट्टा रक्सी खाए हुँदैन ?’

टेकुस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोल फ्रि नं १११५ मा हिजोआज कर्मचारीहरु यस्तै हाँस्यास्पद प्रश्न झेल्न वाध्य छन् । कोरोना भाइरस (कोभिड–१९) बारे परामर्श तथा जानकारी दिन सञ्चालन गरिएको निःशुल्क फोनमा यस्ता ठट्यौला फोन कलबाट कर्मचारीहरु दिक्क छन् ।

लक डाउनको बेला पहिलेभन्दा फोन गर्नेको संख्या निकै बढेको भए पनि नचाँहिदो टेलिफोन कलले कर्मचारीलाई दुःख दिने गरेको महाशाखाका जनस्वास्थ्य अधिकृत अच्युत रेग्मीले बताउनुभयो ।

‘ब्लफ कल र मिस कलले कर्मचारी हैरान भएका छन्,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत अच्युत रेग्मीले भन्नुभयो, ‘साँच्चिकै आपत परेर वा जानकारी र परामर्श आवश्यक भएर फोन गर्नेको संख्या न्यून छ ।’

उहाँका अनुसार अधिकांश टेलिफोन कल जिस्किन उद्देश्यले गर्ने गरिएको छ । टेलिफोनमा बोल्न नजान्ने बालबालिकालाई बोल्न लगाउने जस्ता काम सर्वसाधारणबाट भएको उहाँको भनाइ छ ।

‘फोन गरेर साना बच्चाहरुलाई बोल्न दिइन्छ । त्यस्ता फोन कलको उद्देश्य के हो भन्ने नै थाहा हुँदैन । फोन गरेर चुपचाप बसेर होल्डमा राख्छन् ।’ उहाँले भन्नुभयो, ‘यस्ता कलहरुले हाम्रो समयको बर्बादी मात्र हुन्छ ।’

कतिपयले भने कर्मचारीलाई जिस्काउनका लागि समेत फोन गर्ने गरेका छन् । अधिकृत रेग्मीका अनुसार किशोर तथा युवाहरुले समूहमा बसेर हटलाईनमा फोन गरी महिला कर्मचारीलाई जिस्काउने गरेका छन् । उहाँले भन्नुभयो, ‘हामीसँग टेलिफोन उठाउने महिला कर्मचारीहरु पनि छन् । महिलाको स्वर सुनेपछि ‘केटी बोलिराछ सुन’ भन्दै समूहमा बसेर जिस्कन्छन् ।’ जिस्काउने नियतले फोन गर्नेहरुको कोरोना संक्रमणबारे भने कुनै जानकारी वा परामर्श लिन खोज्दैनन् ।

कोरोना भाइरस संक्रमणबारे जानकारी दिन स्वास्थ्य मन्त्रालयले ११३३ र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले १११५ मा नागरिकलाई आपतकालीन परामर्श तथा जानकारी प्रवाह गर्दै आएको छ । यी नम्बरमा सर्वसाधारणले निशुल्क फोन गरी कोरोना भाइरसबारे जुनसुकै आधिकारिक जानकारी लिन सकिन्छ ।

आपतकालमा विषयगत सूचना प्रवाहका लागि सञ्चालन गरिएको टेलिफोन सेवाप्रति नागरिक भने संवेदनशील नभईदिएको अधिकृत रेग्मी गुनासो गर्नुहुन्छ । यहाँ कोरोनासम्बन्धी भन्दा धेरै अन्य विषयमा कुरा गर्न फोन आउने गरेको उहाँको भनाइ छ । ब्लफ कल, मिस कल, होल्डिङ कल तथा जिस्कने नियतले फोन नगर्न उहाँले आग्रह गर्नुभयो ।

लक डाउन किन गर्नुपरेको ? यो कहिले खुल्छ ? २५ गतेपछि लक डाउन खुल्छ कि खुल्दैन भन्नेजस्ता नीतिगत प्रश्नहरु प्नि आउने गरेका छन् । यस्ता प्रश्न गर्नेलाई कोरोनाबाट बच्न लकडाउनको महत्वबारे सम्झाई सामाजिक दूरी कायम गर्न, हात धुन, मास्क लगाउन अनुरोध गर्ने गरिएको रेग्मीले बताउनुभयो ।

कोरोनाका लक्षण के हुन् ? कसरी बच्ने ? जस्ता प्रश्न सोध्न भने कमैले फोन गर्ने गरेको कर्मचारी बताउँछन् । हाल कोरोना फैलिएका ठाउँका भन्दा अन्यत्रबाट बढी फोन आउने गरेको जनस्वास्थ्य अधिकृत रेग्मी बताउनुहुन्छ । बैतडी, काठमाडौँ, डडेलधुरा, रौतहटबाट अधिकांश फोन आएको उहाँले जानकारी दिनुभयो । महाशाखाले विहान छ बजेदेखि बेलुका १० बजेसम्म टोल फ्रि नम्बरमार्फत सूचना र परामर्श प्रवाह गर्ने गरेको छ । लक डाउनको सुरुसुरुका दिनमा दैनिक १० हजारभन्दा बढी फोनहरु आउने गरेपनि अहिले दैनिक झण्डै एक हजार आठ सय वटा फोन आउने गरेको छ । स्टाफ नर्स, हेल्थ असिस्टेन्ट जस्ता स्वास्थ्यकर्मीले सूचना तथा परामर्श दिन्छन् ।

उता स्वास्थ्य मन्त्रालयको टोल फ्रि नं. ११३३ मा पनि अनावश्यक फोनहरु धेरै आउने गरेका छन् । जिस्काउने, फोन गरेर नबोल्ने, बालबालिकालाई बोल्न लगाउने, एउटै नम्बरबाट घरीघरी फोन गरी नचाहिँदो प्रश्न सोध्ने, मिसकल गरिरहने गरेको कर्मचारी बताउँछन् ।

दुई कल सेन्टरले द्विविधा

महाशाखाको १११५ नं. पहिले नै सञ्चालनमा रहेको सेवा हो । यो सञ्चालनमा रहेकै बेला मन्त्रालयमा समानान्तर किसिमको ११३३ नम्बर स्थापना गर्दा मानिसमा द्विविधा उत्पन्न भएको महाशाखाका जनस्वास्थ्य अधिकृत रेग्मीको भनाइ छ । एउटै मानिसले दुईतिर कुरा गर्दा कहिलेकाहिँ जवाफ फरक पर्न गए त्यसले नकारात्मक परिणाम ल्याउन सक्ने भएकोले एउटै टोल फ्रि नं. चलाउँदा राम्रो हुने उहाँ सुझाव दिनुहुन्छ ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter