लुम्बिनीमा बौद्ध प्रार्थना

भैरहवा, बैशाख २५ गते । २५६४ औं बुद्धजयन्तीका अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर परिसरमा बिहीबार सामाजिक दूरी कायम गरी प्रार्थना गरिएको छ । बौद्ध भिक्षु÷भिक्षुणी तथा लामा÷गुरुआमाहरुबाट विश्वशान्तिको कामना गर्दै प्रार्थना गरिएकाे हाे ।

त्यस अवसरमा प्रधानमन्त्री केपि शर्मा ओली र संंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पठाएको शुभकामना सन्देश वाचन गरिएको थियो । साँझ पाँच÷सात जनाको उपस्थितिमा पूजापाठसहित २५ सय ६४ वटा दीप प्रज्वलन गरिने भएकाे छ लुम्बिनी विकास कोषका कामु सदस्यसचिव ज्ञानिन राइले बताउनुभयो ।

कोषले सम्पूर्ण बौद्ध समुदाय र बौद्धमार्गीहरुलाई सरकारबाट जारी भएको निर्देशनको पूर्णरुपमा पालना गर्दै आ–आफ्नो घरमा दीप प्रज्वलन, प्रार्थना एवं पूजापाठ गरी बुद्ध जयन्ती मनाउन अपिल गरेको छ ।

यसैबीच २५ सय ६४ औं बुद्ध जयन्तीका अवसरमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले विज्ञप्ति मार्फत शुभकामना दिंदै बुद्धका उपदेश बौद्ध धर्मावलम्बीका लागि मात्रै नभएर सम्पूर्ण मानव जातीकै लागि अमूल्य निधि भएको उल्लेख गर्नुभएको छ ।

बुद्धकालीन सम्पदाका रुपमा रहेका ऐतिहासिक स्थलहरु तिलौराकोट, रामग्राम, देवदह, निग्लिहवा, गोटिहवा, सग्रहवा, अरौराकोटको खोज अनुसन्धान तथा पर्यटकीय हिसावले ती क्षेत्रको विकास जरुरी रहेको मुख्यमन्त्री पोखरेलले उल्लेख गर्नुभएको छ ।

बुद्धजयन्तीमा सुनसान बन्यो लुम्बिनी

हरेक वर्षको बुद्ध जयन्तीमा लुम्बिनीमा पर्यटकहरुको बाक्लो चहलपहल हुन्थ्यो । आन्तरिक र बाह्य पर्यटकले भरिभराउ हुने लुम्बिनी यस वर्षको बुद्धजयन्तीमा भने सुनसान रह्यो । कोरोना भाइरसको महामारीका कारण सरकारले लकडाउन घोषणा गरेकाले २५६४ औं बुद्ध जयन्तीमा लुम्बिनी सुनसान बनेको हो ।

हरेक वर्षको बुद्धजयन्तीका दिन राष्ट्रपति, प्रधानमन्त्री लगायत स्वदेश र विदेशबाट विशिष्ट पाहुनाहरुको आगमन हन्थ्यो भने बुद्ध जन्मस्थल लुम्बिनीमा मायादेवी मन्दिरको दर्शन, पूजापाठ र प्रार्थना लगायतका औपचारिक कार्यक्रम हुने गर्थे । तर यसवर्ष भने लुम्बिनीमा कुनै औपचारिक कार्यक्रम गरिएन । लुम्बिनी विकास कोषका अनुसार मायादेवी मन्दिर बनेयता लुम्बिनी सुनसान भएको यो पहिलोपटक हो ।

हरेक वर्ष बैशाख शुक्ल पूर्णमाका दिन आयोजना गर्ने बुद्ध जयन्ती मूल समारोह र यसवर्ष आयोजित तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन समेत कोषले बैशाख १९ गते सूचना प्रकाशित गरी स्थगित गरेको थियो ।

लुम्बिनीका होटलहरुले बुद्ध जयन्तीमा राम्रो आम्दानी गर्थे । तर यसपटक होटल क्षेत्र पूर्णरुपमा सुनसान रहेको लुम्बिनी होटल संघका अध्यक्ष मिथुनमान श्रेष्ठले बताउनुभयो । “लुम्बिनीका होटलहरु बुद्धजयन्तीमा भरिभराउ हुन्थे, तर यसपटकको सुनसानले होटलहरु संकटमा परे”–उहाँले भन्नुभयो ।

लुम्बिनी क्षेत्रबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद फकरुद्धिन खानले आफूले पहिलोपटक लुम्बिनी सुनसान बनेको बताउनुभयो । “पर्यटकबिहीन बुद्धजयन्ती र सुनसान लुम्बिनी यसअघि कहिल्यै भएको थिएन”–उहाँले भन्नुभयो ।

कोषका कामु सदस्यसचिव ज्ञानिन राइका अनुसार चैत ११ गतेदेखि सरकारले लकडाउन घोषणा गरेपछि नै लुम्बिानी सुनसान बनेको हो । बुद्ध जयन्तीमा मात्रै स्वदेशी र विदेशी गरी कम्तीमा दशहजार मानिस लुम्बिनी भ्रमणमा आउने गरेको कोषको तथ्यांक छ । बुद्धजयन्तीमा मायादेवी मन्दिर, अशोक स्तम्भ, पवित्र पुष्करनी कुण्ड, विश्व शान्ति दीप, केन्द्रीय नहर, शान्ति स्तुपा, सेन्टर क्यानल, ग्रेट लाटर स्तुपा मात्र होइन, यहाँ रहेका विभिन्न बिहारहरु पनि पूर्णरुपमा खाली रहे ।

बुद्धजयन्ती मनाउन सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईकाृे अध्यक्षतामा एक समिति बनाई एक करोड बजेट समेत बिनियोजन गरी तयारी अघि बढाएको थियो । अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्रेयले गौतमबुद्धले सोंचेको शान्त भूमि अहिले लकडाउनको समयमा शान्त भएको बताउनुभयो ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठीले लुम्बिनीमा ठूला ध्यान गराएर ध्यानको महत्व दर्शाउने गरी कोरोनाको महामारी सकिएपछि कार्यक्रम गर्ने योजना बनाएको बताउनुभयो ।

कोषका अनुसार सन २०१९ को जनवरीदेखि डिसेम्बरसम्म यहाँ १५ लाख ५८ हजार पर्यटक भित्रिएका थिए । यो पर्यटक आउने मौसम पनि हो । तर गत चैत ११ गतेदेखिको लकडाउनपछि सबै होटल बन्द छन् । होटलमा काम गर्ने श्रमिकहरु बिदामा छन् । लकडाउन खुलेपनि तत्काल होटलको अवस्था माथि उठ्न सक्ने देखिंदैन । लुम्बिनीमा एकसय २० होटल, ३० ट्राभल एजेन्सी, एकसय ६० रिक्सा र एकसय १० हेन्डिक्राफ्टका पसलहरु लकडाउनका कारण प्रभावित छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter