• Friday, April 18, 2025

संघीय संसदको बजेट अधिवेशन शुरु

काठमाडौं, वैशाख २६ गते । संघीय संसदको बजेट अधिवेशन आज शुरु भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेअनुसार आज शुक्रबार दिउँसो ४ बजे अधिवेशन शुरु भएको हो ।

देशमा कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि हिजो संघीय सांसदहरु र कर्मचारीहरुको स्वाबको नमूना लिइएको थियो । यसैबीच, राससका अनुसार सामाजिक दूरी कायम गर्दै कोभिड–१९ को सङ्क्रमणबाट जोगिने भरमग्दुर प्रयास र उपाय अपनाउँदै सङ्घीय संसद्, प्रतिनिधिसभाको छैटौँ अधिवेशन प्रारम्भ भएको छ । बजेट अधिवेशनका शुरुमा सबै सदस्यलाई स्वागत गर्दै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा सदनलाई जानकारी गराउनुभयो ।

त्यसपछि बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीबाट ‘काठमाडौँ उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६’ र ‘पारमाणविक विधेयक, २०७६’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिएको थियो ।

सभामुख र उपसभामुखको अनुपस्थितिमा सदन सञ्चालन गर्न सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) अनुसार सांसद डिला शर्मा, मानबहादुर विश्वकर्मा, राधा ज्ञवाली, रेखा शर्मा, रेणु यादव र सोमप्रसाद पाण्डेयलाई बैठकको अध्यक्षता गर्ने सदस्यमा मनोनयन गरिएको छ ।

बैठकमा प्रधानमन्त्रीका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)’सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ तथा आफ्नातर्फबाट ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७’ पेश गर्नुभयो । त्यसैगरी कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री शिवमाया तुम्वाहाङ्फेले वर्तमान परिस्थितिमा केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन वाञ्छनीय भएको बताउँदै ‘केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउने अध्यादेश, २०७७’ प्रस्तुत गर्नुभयो ।

त्यसअघि गणतन्त्र र लोकतन्त्र प्राप्तिका निम्ति आफ्नो जीवन उत्सर्ग गरेका ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै सभाले उहाँहरूप्रति एक मिनेट शिर झुकाएर मौन रही सम्मान प्रकट गरेको थियो । बैठकमा उपस्थित सभामुखसहित सांसदले बोल्ने बेलामा मात्र मास्क आफ्नो अनुहारबाट हटाउनुभएको थियो । सांसदले आफ्नो अभिव्यक्ति प्रकट गरेपछि हरेकपटक वक्ता उभिनुभएको स्थल र ‘पोडिएम–माइक’ लाई निर्मलीकरण गरिएको थियो । मर्यादापालकले पनि पूर्ण सुरक्षा व्यवस्था अपनाएर बैठक सञ्चालनमा सहयोग गरिरहनुभएको छ ।

विश्वव्यापीरुपमा महामारीको रुप लिएको कोभिड –१९ बाट जोगिन नेपाली समाजका सबै तह र तप्का सचेत भई जनस्वास्थ्यसम्बन्धी सुरक्षाका सम्पूर्ण उपाय अपनाउन संसद्को बर्खे अधिवेशनले सबैमा सन्देश प्रवाह गरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter