बन्दाबन्दीले घट्याे मान्छेकाे चहलपहल, शुरू भयाे पार्कमा चराको चिरबिर

वासुदेव पौडेल / पोखरा, वैशाख २६ गते । पर्यटकीय नगरी पोखराको फेवाताल किनारस्थित कोमागाने पार्क होस् वा वसुन्धरा पार्कमा यतिखेर दिउँसोको समयमै विविध चराको चिरबिर आवाज सुन्न थालिएको छ । बन्दाबन्दी (लकडाउन) पूर्व दिउँसोको समयमा पार्कमा हुने भीडभाड एवं बजार क्षेत्रमा हुने मानिस एवं सवारी साधनको चहलपहलका कारण यहाँका चराको बास फेवाताल पारिको रानीवन क्षेत्रमा हुने गर्दथ्यो । पार्क क्षेत्रमा नै गुँड बनाएर बस्ने अधिकांश चराको पनि दिउँसोको गन्तव्य रानीवन नै हुने गर्दथ्यो ।

झण्डै डेढ महिनायता जारी बन्दाबन्दीले पार्कमा विगतमा झैँ मानिस जान छाडेका छन् र बजार क्षेत्रमा सवारीसाधन एवं मानिसको चहलपहल पनि रोकिएको छ । जसका कारण विगतमा दिउँसोको समयमा रानीवनतिर जाने चराहरू पार्क परिसरमा नै रमाउँदै चिरबिर गरिरहेका देखिन्छन्, सुनिन्छन् ।

बन्दाबन्दीका कारण पार्क चौबीसै घण्टा सुनासान बनेपछि रोकिएको मानिसको आवतजावत एवं सवारी साधनको आवागमन बन्द भएका कारण चराचुरुङ्गीहरू दिउँसोको समयमा पनि पार्क परिसरमा रमाउने गरेको पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले बताउनुभयो ।

उहाँकाअनुसार यो समय विशेषतः अधिकांश पानी चराका लागि गुँड बनाउने र बच्चा कोरोल्ने समय हो”, उहाँले भन्नुभयो, “यसै समयमा भारतीय उपमहाद्वीपको तल्लो तटीय क्षेत्र, अफ्रिका, श्रीलङ्कालगायतका स्थानबाट बच्चा कोरल्नकै लागि चराहरू आउँछन् ।” ती चराहरू करिब तीन महिना बिताएर बच्चा कोरलेर पुनः आफ्नो घर फर्किने गरेको उहाँले जानकारी दिनुभयो । गाउँ बस्तीमा विगतमा नदेखिने चरा पनि अहिले देखिने गरेको बताउँदै घिमिरेले गुँड लगाउने, बच्चा कोरल्ने समय भएकाले जारी बन्दाबन्दीपछि यसपटक चराको सङ्ख्यामा वृद्धि हुने देखिएको बताउनुभयो ।

“शान्त वातावरणका कारण शहरी क्षेत्रका पार्कमा धेरै चराको चिरबिराहट दिउँसोको समयमा पनि सुन्ने गरिएको छ”, उहाँले भन्नुभयो, “बन्दाबन्दीका कारण मानिसको आवतजावत रोकिएका कारण यतिखेर चरालाई पार्कमा विचरण गर्ने राम्रो अवसर मिलेको छ ।” नेपालमा आउने पर्यटकमध्ये आठ प्रतिशत विदेशी पर्यटक चरा हेर्नकै लागि आउने गरेका छन् र पाँच प्रतिशत पोखरामा आउने गरेको पाइन्छ ।

पोखरा आसपासका क्षेत्रमा पानीमा पाइने चराका ४६७ प्रजाति पाइन्छन् । जाडोको समयमा अन्य स्थानबाट १५० प्रजातिका चरा आउँछन् भने गर्मीमा २४ प्रजातिका चरा आउँछन् । पोखराको प्रमुख पर्यटकीय आकर्षण फेवातालमा मात्रै ४५ प्रजातिका पानीचरा पाइन्छन् । हरिया वनजङ्गलका साथै रामसार सूचीमा सूचीकृत यहाँका नौवटै तालतलैयाका कारण पोखरा र आसपासमा विभिन्न प्रजातिका चरा पाइन्छन् । बढ्दो सवारी साधनको चापका कारण वर्षेनी बढिरहेको वायु तथा ध्वनि प्रदूषणका कारण पोखरा आसपासमा यसअघि दैनिक २३५ प्रजातिसम्मका चरा एउटै चरा गाइडले पर्यटकलाई देखाउने गरेकामा पछिल्लो समयमा उक्त सङ्ख्या घटेर लगभग १२५ प्रजाति पुगेको जनाइएको छ ।

पोखराको फेवातालमा मात्रै २९ प्रजातिका हाँस पाउने गरिएकामा अहिले उक्त सङ्ख्या घट्दै गएको छ । पोखराको रानीवन, फिष्टेल बगैँचा, फेवातालको सिमसार, सराङकोट, नौडाँडा, छिनेडाँडा, कमलपोखरी, लेखनाथका बेगनास, रुपा, खास्टे, मैदी, दीपाङलगायतका ताल तथा स्थानमा धेरै प्रजातिका चरा पाइन्छन् । त्यस्तै घाचोक गिद्ध रेष्टुरेन्ट, दोभिल्ला, ठूलाखर्क, सराङ्कोट, वनपाले डाँडा र कन्ननी डाँडा यहाँका मुख्य चरा अवलोकनस्थल हुन् । तालतलैया, वनजङ्गल र पहाडी भूगोलका कारण पोखरा उपत्यका विभिन्न प्रजातिका चराको बासस्थान र फिरन्ते प्रजातिका चराका लागि अन्यत्र जाने गन्तव्य विन्दु बनेको घिमिरेले बताउनुभयो ।

विश्वमा नेपालमा मात्रै पाइने चरा काँडे भ्याकुर पोखरा उपत्यकाका विभिन्न स्थानमा सजिलै अवलोकन गर्न सकिन्छ भने यस क्षेत्रमा ४२ वटा मांसाहारी प्रजातिका चरा पाइन्छन् । पोखरा आसपासमा अतिसङ्कटापन्न देवहाँस, डङ्गोर गिद्ध, सानु खैरो गिद्ध, सुनगिद्ध, लामो ठुँडे गिद्ध र बगाले बगेडी चरा छन् भने तोप बाज, सेतो गिद्ध, गोमायु र महाचीलजस्ता सङ्कटापन्न चरा छन् ।

त्यस्तै सङ्कटको नजिक रहेका चरामा रणमत्त महाचील, बोक्सी चील, कालीकण्ठे सारस, कैलोटाउके हाँस, लोभीपापी गरूड, वन चाहा, लघु महाचील, जीवाहार महाचील र राग महाचील यस आसपासका पाइन्छ । हिउँदको समयमा हिमाली क्षेत्रमा पाइने चरा जाडो छल्नका लागि यहाँ हुँदै तराईसम्म पुग्ने गर्दछन् भने साइबेरिया, मङ्गोलिया, तिब्बतलगायतका स्थानबाट पनि हिउँदको समयमा पोखरा उपत्यका आसपासका चरा आउने गरेका छन् ।

फेवाताल किनाराको रानीवनदेखि पोखरा नजिकै तनहुँको दुलेगौँडाबाट स्याङ्जाको रामबाछा जोडिने ७२ किलोमिटर दूरीको सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) का अधिकांश भूभाग पनि पर्याप्त चरा देखिने स्थान हुन् । पदमार्गअन्तर्गत स्याङ्जाको सादीखोलाबाट गहते मनकानासम्म एक लहरमा जोडिएको झण्डै ५८ किमी दूरीमा घनाजङ्गल चरा पर्यटनका लागि आकर्षक गन्तव्य मानिने मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङ बताउनुहुन्छ ।

नेपालमा मात्रै पाइने चरा काँडे भ्याकुर पनि ठाउँ–ठाउँमा देख्न सकिने र अन्य विभिन्न प्रजातिका चरा पाइने भएकै कारण सहस्राब्दी पदमार्गमा चरा पर्यटनको पनि विकास गर्न लागिएको उहाँको भनाइ छ । पोखरा पक्षी समाजसँगको सहकार्यमा मिलेनियम ट्रेक व्यवस्थापन समितिले गरेको पछिल्लो चरा गणनाका क्रममा यस पदमार्ग क्षेत्रमा १३४ प्रजातिका चरा पाइएको छ ।

समुद्री सतहबाट एक हजारदेखि एक हजार ५०० मिटरको उचाइमा नेपालमा मात्रै पाइने काँडे भ्याकुर पोखरा र आसपासका पाइने भएकाले यो क्षेत्र चरा पर्यटनका लागि पनि आकर्षक गन्तव्यका रुपमा विकास गर्न सकिने देखिएको छ । चरा पर्यटनकै विकासका लागि सहस्राब्दी पदमार्गको राङभाङ–भैँसेगौँडा क्षेत्रमा गत माघ महिनामा लाटोकोसेरो तथा हुचिल महोत्सव गरिएको थियो ।

बन्दाबन्दीले सर्वसाधारणको दैनिकी कष्टकर बने पनि विगतमा हुने गरेको मानवीय गतिविधि रोकिएपछि चराचुरुङ्गीका लागि भने निकै सहज भएको प्रकृतिका साथीहरूका निर्देशक राजु आचार्य बताउनुहुन्छ । “बन्दाबन्दीका कारण शहरी क्षेत्रमा पनि चराचुरुङ्गीको गतिविधि बढेको छ”, उहाँले भन्नुभयो, “सवारी साधनको आवागमन रोकिएसँगै हल्लाखल्ला र वायु एवं ध्वनि प्रदूषण नहुनु चराचुरुङ्गीका लागि निकै सहज भएको छ ।”

चराचुरुङ्गीसहित अन्य जीवजन्तुका प्रजाति पनि विगतको तुलनामा घर तथा बगैँचामा बढी मात्रामा देखिने गरेको निर्देशक आचार्यले बताउनुभयो । उहाँका अनुसार पोखराको कुँडहरस्थित गौँडाको मुख क्षेत्रमा विगतमा सात÷आठ थरि पुतली मात्र देखिने गरेकामा अहिले भने १२ थरिका पुतली पाउन थालिएको छ । प्रकृतिका साथीहरूसँग आवद्ध अन्य सदस्यहरूबाट विगतका तुलनामा गाउँ बस्तीमा बढ्दो सङ्ख्यामा चराचुरुङ्गी पाउने गरिएको जानकारी प्राप्त भएको उहाँले बताउनुभयो ।

बन्दाबन्दीका कारण दर्शनार्थी जान छोडेका कारण मठमन्दिर क्षेत्रमा परेवासहितका चराचुरुङ्गीको आहारामा समस्या बढ्दै गएको अवस्थालाई दृष्टिगत गरी पोखराका मुख्य मन्दिरमा नियमित चारो तथा पानी दिन थालिएको छ । पोखराका तालबाराही, विन्ध्यवासिनी, भद्रकाली, गुप्तेश्वर महादेवलगायतका मन्दिरमा परेवालगायतका विभिन्न चराचुरुङ्गी ठूलै सङ्ख्यामा रहेका छन् ।

चराचुरुङ्गीको आहारामा पर्नसक्ने समस्यालाई दृष्टिगत गरी विन्ध्यवासिनी मन्दिर परिसरमा दैनिक चारो दिनुका साथै यहाँका चार ठाउँमा पानीको व्यवस्था गरिएको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभयो । “बन्दाबन्दीपछि मन्दिर परिसरमा चराको सङ्ख्या बढेको पाइएको छ”, उहाँले भन्नुभयो, “नियमित चारो तथा पानी दिन थालेसँगै अन्य स्थानबाट पनि चरा आउने क्रम दिनानुदिन बढिरहेको छ ।” चारा खान पाउने आशाले विगतमा नदेखिएका केही चराका प्रजाति यतिखेर मन्दिर परिसरमा देखिने गरेको श्रेष्ठले बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Govt. to resume Vaccination Campaign from May 16

CAAN asks not to charge high fare in name of Emergency Flight

NRNA to supply Oxygen Concentrators to Nepal

Kami Rita scales Everest 25 times; Tourism Ministry appeals not to disseminate fake information

Humla section of Karnali Corridor built in timeframe




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter