प्रधानमन्त्री ओलीद्वारा कोभिड – १९ सङ्कट व्यवस्थापन केन्द्रको निरीक्षण; परीक्षणको दायरा बढाउन निर्देशन

काठमाडौँ, जेठ ७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले छाउनीस्थित कोभिड – १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)को भ्रमण गर्नुभएको छ ।

छाउनी पुग्नुभएका प्रधानमन्त्रीलाई कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक तथा उपप्रधानमन्त्री इश्वर पोखरेलले त्यहाँको गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो ।

कोरोना परीक्षणको दायरा बढाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ का कारण तत्काल स्वदेश फर्कने नागरिकको सङ्ख्या यकिन गरी आवश्यक गुणस्तरीय क्वारेन्टाइन निर्माण गर्न निर्देशन दिनुभएको छ । छाउनीस्थित कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी)बाट महामारी नियन्त्रणका लागि हालसम्म भइरहेको एकीकृत प्रयासबारे जानकारी लिएपछि उहाँले कोरोना परीक्षणको दायरासमेत बढाउन निर्देशन दिनुभएको हो ।

एकीकृतरुपमा कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सूचना प्राप्त गर्न र जोखिम नियन्त्रणका प्रयासमा आवश्यक कदम चाल्न सहज तुल्याउने उद्देश्यले उक्त केन्द्र स्थापना गरिएको हो । ठीक समयमा लकडाउन भएको र नागरिकबाट त्यसको पालनामा सहयोग प्राप्त भएकाले महामारी नियन्त्रणमा हालसम्मको प्रगति सन्तोषजनक रहेको समीक्षा गरिएको थियो । कोभिड १९ सङ्क्रमणको स्थिति, आगामी दिनमा चाल्नुपर्ने कदम, हालसम्म प्राप्त सूचनाका बारेमा प्रधानमन्त्रीले विस्तृत जानकारी लिनुभएको केन्द्रका संयोजक महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिनुभयो । लकडाउन हटेलगत्तै बाहिरबाट आउनेकाे सङ्ख्या ठूलो हुनसक्ने र त्यसको व्यवस्थापनका लागि आवश्यक साधन स्राेतकाे व्यवस्था गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको उहाँले बताउनुभयो ।

कोरोना जोखिम नियन्त्रणका सन्दर्भमा निजी क्षेत्रका चिकित्सक र स्वास्थ्यकर्मीलाई आवश्यकताका आधारमा प्रयोग गरिने केन्द्रको भनाइ रहेको छ । हालसम्म अपनाइँदै आएको रणनीतिमा परिवर्तन गरी क्वारेन्टाइनमा रहेका व्यक्तिको स्वास्थ्य स्थिति बिग्रन नदिन खानपान, सरसफाइ, शौचालयलगायतको उचित व्यवस्थापन गर्न केन्द्रलाई प्रधानमन्त्री ओलीले निर्देशन दिनुभएको थियो ।
बन्दाबन्दी भए पनि केही व्यक्ति विभिन्न गाउँमा पुगेका कारण सङ्क्रमण फैलिएको सूचना प्राप्त भएकाले त्यस्ता सङ्क्रमित व्यक्तिको पहिचान गर्न पनि उहाँले निर्देशन दिनुभएको थियो । कोरोनाको रोकथामका लागि हालसम्म कुनै औषधि यकिन नभएको अवस्थामा सामाजिक दूरी कायम गर्ने, खानपान र नियमित शारीरिक अभ्यासबारे सर्वसाधारणलाई जानकारी गराउन प्रचारप्रसारमा जोड दिनुपर्ने आवश्यकता औँल्याइएको छ । सङ्क्रमित व्यक्ति आवतजावत र सम्पर्क भएको क्षेत्रलाई प्राथमिकीकरण गरी परीक्षणको दायरा बढाइएको केन्द्रले जनाएको छ । योजनाबद्ध रुपमा परीक्षणको दायरा बढाउन आवश्यक रहेको निष्कर्ष निकालिएको छ ।

रोजगारीलगायतका कारण विदेशमा रहेका र कोरोनाका कारण स्वदेश फिर्ता हुन चाहने व्यक्तिको पहिचान गर्न परराष्ट्र मन्त्रालयबाट सम्बन्धित देशमा रहेको कूटनीतिक नियोगलाई निर्देशन भइसकेको छ । विदेशबाट फर्कने नागरिकलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे केन्द्रले प्रारम्भिक गृहकार्य गरिरहेको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले क्वारेन्टाइनको क्षमता र गुणस्तर एवम् परीक्षणको दायरा बढाउन निर्देशन भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पृतनाबाट कोरोना रोकथाम र उपचारका लागि प्रस्तुत गरिएको प्रारम्भिक योजनामाथि छलफल भएको छ । त्यसलाई परिमार्जन गरेर अघि बढ्ने भएको छ ।”

प्रधानमन्त्रीका साथ उपप्रधान तथा रक्षामन्त्री, गृहमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीलगायत केन्द्रमा पुगेर कोभिड नियन्त्रणमा भइरहेको प्रयासबारे जानकारी लिनुभएको हो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter