• Monday, April 21, 2025

लकडाउनको सदुपयोगः बिरुवा बेचेर लाखौँ आम्दानी

गलेश्वर, जेठ ८ गते । म्याग्दीका कृषकले सुन्तला र कागतीका बिरुवा बेचेर लाखौं आम्दानी गरेका छन् ।

सुन्तला र कागतीका बिरुवाको किनबेच फस्टाउँदै गएकाले कृषकको आम्दानी बढेको हो । अन्नपूर्ण गाउँपालिका—२ दानाको फगाम गाउँका जोगबहादुर विकले घरमा बसीबसी बिरुवा बेचेर वार्षिक रु १० लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । उहाँको कुनै जागिर पनि छैन र विदेश गएर कमाउनु पनि भएको छैन् । बिरुवा बेचेर भएको आम्दानीले उहाँले शहरमा घर घडेरीसमेत किन्नुभएको छ ।

त्यस्तै फगाम गाउँकै दिलमाया पुनका श्रीमान् विदेशमा हुनुहुन्छ । श्रीमान्ले विदेशमा कमाएको पैसा श्रीमान्कै उपचारमा खर्च हुने गरेको छ । तर दिलमायाले गाउँमा नै वार्षिक रु तीनदेखि चार लाखसम्म कमाएर घरखर्च चलाउनाका साथै छोराछोरीलाई पढाउनुभएको छ ।

विदेश पनि नगएका र जागिर पनि नखाएका जोगबहादुर र दिलमायाहरुले कसरी घरमै बसीबसी पैसा कमाउन सके त ? संस्कृतमा एउटा उक्ति (भनाइ) छ ‘उद्यमेन सिद्धयन्ति कार्याणी वा मनोरथै’ अर्थात् ‘उद्यम (परिश्रम) गर्ने मानिसका सम्पूर्ण कार्य र मनोरथ (इच्छा) पूरा हुन्छन् ।’ जोगबहादुर र दिलमायाँले पनि गाउँमा नै बसेर गरेको उद्यमले उनीहरुले यस्तो सफलता पाएका हुन् ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट बच्न सरकारले लागू गरेको लकडाउनमा कैयौँ मानिस काम नपाएर छटपटिइरहेका छन् । तर अन्नपूर्ण गाउँपालिका–२ दानाको फगाम गाउँका बासिन्दा भने नर्सरीमा सुन्तला र कागतीका बिरुवा हुर्काउन र बिक्री गर्न व्यस्त छन् । फगामका किसानले सुन्तला र कागतीका बिरुवा बेचेर लाखौँ आम्दानी गरेका छन् । फगामका अधिकांश घरले आफ्नो बारीमा नर्सरी स्थापना गरेर वार्षिक लाखौँ आम्दानी गर्दै आएका हुन् ।

करिब ७० घरधुरी रहेको फगाममा सुन्तला र कागती राम्रो हुने भएकाले किसानले बिरुवा बेचेर नै मनग्य आम्दानी गर्न सफल भएको बताएका छन् । आफ्नै खेतीयोग्य जमिन र घर नजिकको खरबारीमा तयार गरेको नर्सरीमा उत्पादन भएका बिरुवा बिक्रीबाट वार्षिक रु १० लाखसम्म कमाउने गरेको फगामका जोगबहादुर विकले बताउनुभयो ।

“यही बिरुवा बेचेर मैले पोखरा, चितवन, काठमाडौँमा घर घडेरी जोडेको छु”, उहाँले भन्नुभयो, “तीन दशकभन्दा बढी भयो, तरकारी र बिरुवाको खेती गर्न थालेको, यसले राम्रो भएको छ । छोरीले कृषि कार्यालयमा जागिर गर्छे, छोराले विज्ञान विषय लिए पठ्दैछ, काठमाडौँमा सबै खर्च यही बिरुवा र तरकारी बेचेर कमाएको हुँ ।” आफ्नै खेतीयोग्य जमिन र घर नजिकको खरबारीमा तयार गरेको नर्सरीमा उत्पादन भएका बिरुवा बिक्रीबाट वार्षिक रु १० लाखसम्म कमाउने गरेको उहाँको भनाइ छ ।

त्यसैगरी फगामकी दिलमाया पुनले सुन्तला र कागतीको बिरुवा बेचेर नै लाखौँ आम्दानी गर्नुभएको छ । उहाँका श्रीमान् दुई दशकदेखि वैदेशिक रोजगारीका लागि खाडीमुलुकमा हुनुहुन्छ । श्रीमान्कोे राम्रो कमाइ नहुने र भए पनि आफ्नै उपचारमा खर्च हुने भएपछि पुनले श्रीमान्को आम्दानीवाहेक वैकल्पिक आम्दानीका लागि शुरु गरेको नर्सरीबाट अहिले वार्षिक रु तीनदेखि चार लाख आम्दानी गरेको बताउनुभयो ।

दिलमायाले प्रगतिशील मल्टी एग्रो तथा फलफूल नर्सरी सञ्चालन गर्नुभएको छ । नर्सरीमा कागती र सुन्तलाका १५ हजारभन्दा बढी बिरुवा छन् । “मैले यही बिरुवा बेचेर घरको खर्च र छोराछोरीको पढाइ खर्च पु¥याएकी छु, श्रीमान्को विदेशमा राम्रो कमाइ छैन”, उहाँले भन्नुभयो, “दुई दशक हुन लाग्यो उहाँ विदेश गएको तर बिरामी भएर उहाँलाई आफूले कमाएको पैसा आफैँलाई उपचार गर्न ठिक्क भएको छ, मैले यहाँ बिरुवा बेचेर घर चलाएकी छु ।”

विक र पुनजस्तै फगामका दुई दर्जनभन्दा बढी कृषकले सुन्तला र कागतीका बिरुवा बिक्री गरेर मनग्य आम्दानी गर्ने गरेका छन् । गाउँमा उनीहरुको अलग अलग सुन्तला र कागतीको नर्सरी छ । बिरुवा किन्न किसान नर्सरीमा नै आउने गरेका छन् । लकडाउनको समयमा पनि कागती र सुन्तलाका बिरुवा धमाधम बिक्री भइरहेको विकले बताउनुभयो । “टाढाटाढाबाट माग आएको छ तर यातायातका साधन सञ्चालन नहुँदा पठाउन सकिएको छैन”, उहाँले भन्नुभयो ।

गाउँपालिकाभित्र व्यावसायिक कृषि पेशा गर्ने किसानका लागि गाउँपालिकाले अनुदानको व्यवस्था गर्ने र बजारीकरणका लागि सहजीकरण गर्न सहयोग गर्ने अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष केशमाया पुनले बताउनुभयो । आगामी आवमा गाउँपालिकाले पकेट क्षेत्र विभाजन गरी किसानलाई राहतको प्याकेज बनाउने उपाध्यक्ष पुनको भनाइ छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter