विश्वका सबै शक्ति र सङ्घसंस्थाको सहयोग आवश्यक छ : प्रधानमन्त्री ओली

चाँदनी हमाल / काठमाडौँ, जेठ १६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ नियन्त्रण र त्यसपछिको विकासका लागि विश्वव्यापी रुपमा बहुपक्षीय सहकार्यको आवश्यकता रहेको बताउनुभएको छ ।
संयुक्त राष्ट्र सङ्घको पहलमा भएको कोभिड–१९ र त्यसपछाडिको युगमा विकासका लागि लगानी शीर्षकमा भएको उच्चस्तरीय भर्चुअल बैठकमा सम्बोधन गर्नुहुँँदै उहाँले संयुक्त रुपमा अघि बढ्नुको विकल्प नरहेको उल्लेख गर्नुभयो ।
उहाँले यो समय बहुपक्षीय संघसंस्थाको विकास गर्नुपर्ने समय भएकामा जोड दिदैँ यो समय ती संघसंस्थाको भूमिका कमजोर पार्ने समय नरहेको प्रष्ट पार्नुभयो । हाम्रा प्रयासहरु बलियो पार्ने समय पनि यही रहेको औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “हामी संयक्त राष्ट्रसङ्घ तथा यसका एजेन्सी र विश्व स्वास्थ्य सङ्गठनले यस सङ्कटमा गहन भूमिका निर्वाह गरेको हेर्न चाहन्छौँ । हामी इन्टरनेशनल मनिटरी फण्ड र जी २० का पहलकदमीकाे पनि स्वागत गर्न चाहन्छाैँ ।” तर यो पनि पर्याप्त नरहेको भन्दै प्रधानमन्त्री ओलीले यतिबेला विश्वका सबै अन्तराष्ट्रिय सहयोग प्रणालीहरू ओडिए, प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई), व्यापार तथा ऋण सहायता, विकास तथा प्रविधिको हस्तान्तरणका क्षेत्रहरूलाई बढावा दिनुपर्नेमा जोड दिनुभयो ।
‘यही समयमा हामी हाम्रो देशको दिगो सामाजिक, आर्थिक आधार बलियो बनाउन रियो ओरेन्टेसन एण्ड इकोनोमिक्स नीतिसँगै आन्तरिक स्रोत साधनको परिचालन भएको देख्न चाहन्छौँ, उहाँले प्रष्ट्याउनुभयो ।
‘हामी कोभिड–१९ ले मानवीयतामाथि गम्भीर खतरा उत्पन्न गराएका बेला भेट गरिरहेका छौँ । कोभिडले विशेष गरी विकास उन्मुख, अति कमविकसित तथा साना मुलुकमाथि बढी असर गरिरहेको छ’, उहाँले अगाडि भन्नुभयो । गुणस्तरीय स्रोतसाधन, सीमित सामाजिक सुरक्षा र विकासाेन्मुख स्वास्थ्य पूर्वाधारका बावजुद पनि मानवजीवन रक्षालाई पहिलो प्राथमिकता दिनुपरेको दर्शाउनुभयो । उहाँले हाल विकसित भैरहेका कोभिड १९ का खोपहरू केवल विज्ञानको परीक्षणका लागि भइरहेको औँल्याउनुभयो ।
तिनीहरू कम लागतको र विश्वव्यापकताको आधारणमा सही परीक्षण गरिएको मानवीय गुणयुक्त हुनुपर्नेमा जोड दिनुभयो । अँध्यारोलाई हटाउँदै सुन्दर भविष्यका लागि सामाजिक सुरक्षामा बलियो लगानी चाहेको सुनाउनुभयो । नेपाल यो भाइरस व्यवस्थापनका लागि सही पहिचानसँगै निको पार्ने, साथै लड्ने र कसैलाई पछाडि नछाडी अघि बढ्ने रणनीतिमा रहेका जानकारी गराउनुभयो ।
नेपालले कुनै पनि प्रकारको व्यापारिक द्वन्द्व र संरक्षणवाद नचाहेको उहाँले प्रष्ट पार्नुभयो । तर अन्तर्राष्ट्रिय व्यापार सही र न्यायोचित ढङ्गले होस् र सहकार्यात्मक समृद्धि होस भन्ने चाहेको उल्लेख गर्नुभयो ।
“हामी विश्वभर समावेशी अार्थिक प्रणाली चाहन्छौँ, जसले विश्वका हरेक अर्थतन्त्र गरिब र धनी तथा साना र ठूलो सबैकाे उत्थान गर्नेछ,” समान विकासमा सघाउन उहाँले आग्रह गर्नुभयो । वर्तमान अर्थतन्त्रको मोडल अत्याधुनिक हुन जरुरी रहेको यो प्राप्त गर्न सकिने पनि बताउनुभयो ।
यसैबीच सोही सम्मेलनमा बोल्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले अहिले सहकार्य नगरे यस महामारीले संसारभरि अकल्पनीय विनाश र पीडा निम्त्याउने बताउनुभएको छ । भोक र अनिकालसँगै ६० अर्ब मानिसलाई चरम गरिबीमा धकेलेको प्रष्ट पार्नुभयो । त्यस्तै ८.५ ट्रिलियनको घाटा विश्वव्यापी रुपमा गराइरहेको उहाँले बताउनुभयाे ।
उहाँले भाइरसका कारण हालका दशकहरूमा सबै प्राविधिक र वैज्ञानिक प्रगतिहरूको बाबजुद पनि एक अभूतपूर्व मानव सङ्कटमा रहेको बताउनुभयो । यस्तो अवस्थामा हामीले एकता र एकताका साथ प्रतिक्रिया दिन जरुरी रहेको र एकताको एक प्रमुख पक्ष आर्थिक समर्थन रहेको उल्लेख गर्नुभयो ।
अन्तर्रा्ष्ट्रिय मुद्रा कोष, विश्व बैङ्क समूह, क्षेत्रीय विकास बैङ्कहरू र अन्य अन्तर्रा्ष्ट्रिय वित्तीय संस्थाहरू र जी २० ले अँगालेका कार्यहरूको स्वागत गर्नुभयो । “तर धेरै विकासोन्मुख देशहरूमा महामारीसँग लड्न, पुर्नप्राप्तिमा लगानी गर्न साधन छैन । आज हामी महत्वपूर्ण क्षेत्रहरूमा तत्काल, सामूहिक कार्यको लागि आग्रह गरिरहेका छौँ,” उहाँले भन्नुभयो ।