सरकारको प्रवक्तामा ज्ञवाली, प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकारमा खतिवडा, लामाे दूरीका बस असाेज १ बाट चल्ने

लक्की चाैधरी / काठमाडौं, भदौ ३० गते । आन्तरिक हवाई उडान तथा लामो दूरीका यातायातका साधन असोज १ गतेदेखि चल्न दिने सरकारले निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मंगलबार नियमित पत्रकार सम्मेलनमा सो कुरा बताउनुभएको हो । आन्तरिक हवाई उडान सञ्चालन गर्दा र लामो तथा छोटो दूरीका यातायात सञ्चालन गर्दा स्वास्थ्य मन्त्रालयले तोकेको स्वास्थ्य मापदण्ड भने अनिवार्य गरिएको प्रवत्ता ज्ञवालीले बताउनुभयो । स्वास्थ्य मापदण्ड तोक्दा सिटमा कम यात्रु हुने भएकाले ५० प्रतिशतसम्म भाडादर बढाउन पाउने अनुमति सरकारले दिएको छ ।

त्यस्तै, सोमबार बसेको मन्त्रिपरिषदको बैठकले प्रवक्तामा परराष्ट्रमन्त्री ज्ञवालीलाई तोक्ने निर्णय गरेको छ । सोहीअनुसार पूर्व अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा। युवराज खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार तोक्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ । खतिवडाको सेवा सुविधा मन्त्रीले पाउने सरह हुने प्रवक्ता ज्ञवालीले बताउनुभयो ।

त्यस्तै, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको नयाँ भर्ना अभियानलाई खुला गर्ने, राष्ट्र बैंकलाई १ र २ रुपियाँको सिक्का प्रकाशनका लागि स्वीकृति दिने, नयाँ नक्सा अङ्कित चिन्ह राखेर सिक्का निकाल्ने सरकारले अनुमति दिने निर्णय गरेको छ ।

सोहीअनुसार बाढी तथा पहिरोमा परी ज्यान गुमाउनेलाई आर्थिक सहयोग गर्ने निर्णय सरकारले गरेको छ । प्रवक्ता ज्ञवालीका अनुसार परिवारका एक जनाको मृत्यु भएमा दुई लाख रुपियाँ सहयोग गर्ने, अन्य सदस्यको थप मृत्यु भएको अवस्थामा एक लाखका दरले थप सहयोग गर्ने सरकारले निर्णय गरेको छ । बाढी पहिरोका कारण स्थानान्तरण हुने परिवारलाई एक लाख रुपियाँका दरले सहयोग गर्ने, उपचार तथा यातायात खर्च पनि उपलब्ध गराउने सरकारले निर्णय गरेको छ । त्यस्तै, बढ्दै गएको एसिड पीडितका घटनाबारे सरकारले ऐतिहासिक निर्णय गरेको छ ।

सरकारका प्रवक्ता ज्ञवालीकाअनुसार पीडितको उपचार निःशुल्क गर्ने, पीडितको शिक्षा निःशुल्क गर्ने, रोजगारको व्यवस्था गर्ने, आजीवन औषधि गर्नुपर्ने भएमा सरकारले खर्च व्यहोर्ने निर्णय सरकारले गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा एसिड पीडितसँग छलफल गरेको दिन भाद्र २५ गतेलाई एसिड जागरण दिवसको रुपमा मनाउने निर्णय पनि सरकारले गरेको छ । त्यस्तै, नेपालको हिमाल आरोहण तथा पदयात्रामा आउन चाहनेहरुका लागि आगामी कात्तिक १ गतेदेखि खुला गर्ने तर पीसीआर टेष्ट अनिवार्य गरेको हुनुपर्ने सरकारले भनेको छ । प्रवक्ता ज्ञवालीका अनुसार बैठकले दूरशिक्षा तथा अनलाइन शिक्षा सिकाई कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ ।

मुलुकले आर्थिक र स्वास्थ्य संकट भोगिरहेकाले त्यसमा सञ्चार माध्यमले आवश्यक सहयोग गर्नुपर्ने प्रवक्ता ज्ञवालीले बताउनुभयो । केही मिडियामा कोभिड–१९ केही पनि होइन भन्ने खालको अन्तरवार्ता र समाचार सम्प्रेषण तथा प्रकाशन भइरहेकाले त्यसप्रति सञ्चार माध्यम सजग हुँदै नागरिकलाई सही र तथ्यपूर्ण सूचना दिएर सरकारलाई सहयोग गर्न उहाँले आग्रह गर्नुभयो । बजार, व्यवसाय तथा उद्योग सञ्चालन गर्दा स्वास्थ्य संकट बढ्ने, नखोल्दा आर्थिक संकट बढ्ने अवस्था रहेकाले नागरिकहरु आफैँ जिम्मेवार र कोभिड–१९ लाग्न नदिनप्रति सजग हुनुपर्ने प्रवक्ता ज्ञवालीले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter