भिरमह बेचेर गाउँमा भित्रियो ४० लाख

गलेश्वर,असोज ६ गते। म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा यो वर्ष भीरमौरीको मह विक्रीबाट रु ४० लाख भित्राएका छन् । कुइनेमङ्गलेका ३९ वटा साना–ठूला भीर पहरामा भीरमौरी पाइन्छ । ठूलो भीरमा एक सय घार, रुम भन्ने ठाउँमा ६०, जिर्जा भीरमा ५०, पन्थेडम्बार भीरमा ४० घार काटेर मह निकालेको मह ब्यापारी समेत रहनुभएका स्थानीयवासी चित्र छन्त्यालले बताउनुभयो ।

ठूलो भीरमा मेहनत धेरै लाग्ने भएकाले एउटा भीरमा दिनभरी खर्चिनुपर्ने उहाँले बताउनुभयो । झण्डै १५ सयदेखि २५ सय मिटरको उचाइका पहाडमा यो वर्ष करिब दुई हजार लिटर मह निकालिएको उहाँको भनाइ छ । बजारमा भीरमह प्रतिलिटर रु दुई हजारमा विक्री भइरहेको उहाँले बताउनुभयो ।

मह निकाल्नका लागि भीरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा शिकारी बाँडिएका हुन्छन् । एक समूहले भीरको माथीबाट तल भुईंसम्म डोरी झुन्डाउँछन् भने भीरको तलपट्टी रहेका अर्को समूहले मह थाप्ने र स्याहार्ने गर्छन् । मह निकाल्ने स्थानीय भाषामा भिरौटेलाई व्यापारीले दैनिक रु तीन हजार, मह तान्ने टाउकेलाई रु एक हजार आठ सय र मह छान्ने सिपालुलाई रु एक हजार पाँच सयसम्म ज्याला दिनुपर्ने छन्त्यालको भनाइ छ ।

अन्तर्राष्ट्रियस्तरमा भीरमहको माग उच्च छ । एक सिजनमा ज्याला, राजस्व र अन्य व्यवस्थापन गरी करिब रु २५ लाखभन्दा बढी खर्च हुन्छ भने मह विक्रि गरेर रु ४० लाखको हाराहारीमा आम्दानी भएको मह व्यापारीको भनाइ छ । ठूलो भीरमा १० र सानोमा ६ जनाको जनशक्ति व्यवस्थापन गर्नुपर्ने उनीहरुले बताएका छन् । बस्तीबाट धेरै टाढा विश्वकै सातौं अग्लो धौलागिरी हिमालको फेद आसपासका क्षेत्रमा पछिल्लो समय भीरमौरीको बथान बढ्दै गएकाले उत्पादनमा वृद्धि भएको बताइएको छ । भरीमौरीको संरक्षणमा समेत विशेष ध्यान दिने गरेको पुराना भीरमह शिकारी रिबहादुर विकले बताउनुभयो ।

वसन्त र शरद ऋतु मह शिकारका लागि उपयुक्त समय मानिन्छ । वसन्त ऋतुमा वेशी र शरदमा लेकमा पुगेर भीरमह निकाल्ने गरिन्छ । भीर मह काढ्दा परङमार्फत गएका शिकारीले गोलामा धुवाँ झोस्ने भएकाले थोरै गल्ती भएमा ज्यान पनि जान सक्ने हुन्छ । अनुमति लिएर भीर मह निकाल्नेहरुबाट वडा कार्यालयले राजस्व सङ्कलन गरी गाउँपालिकामा पठाउने गरेको वडाध्यक्ष गमन छन्त्यालले बताउनुभयो । आकाशमा उड्ने चरो समेत बस्न नसक्ने ठाउँमा युवाहरु डोरीको सहायताले पुग्ने गरेको दृश्यले विदेशी पर्यटकलाई समेत आकर्षित गर्ने उहाँको भनाइ छ ।

कुईनेमङ्गले वाहेक गूर्जा, लुलाङ, चिमखोला, दग्नाम, उत्तरी क्षेत्रमा दाना, शिख, हिस्तानको दोसल्लेलगायत स्थानमा भीर मह पाइन्छ । गुलियो र स्वादिलो हुने भीर मह विशेषगरी यौनवद्र्धक, शक्ति र हाडजोर्नीका रोगीका लागि अचुक औषधि मानिन्छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter