सीमासम्बन्धी समस्या दुईपक्षीय सहमतिमा टुङ्ग्याउन दुई देश सहमत

काठमाडौं, मंसिर १२ गते । नेपाल–भारतले आफ्नो सीमासम्बन्धी विषयमा आवश्यक परामर्श गरी समस्या समाधान गर्ने सहमति जनाउनुभएको छ । भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गला नेतृत्वको भारतीय प्रतिनिधि टोलीसँग भएको छलफलमा सो सहमति जनाउनुभएको हो ।

सीमामा व्यापार र बाणिज्यको सहज र निर्बाध गतिविधि तथा विकास परियोजनाहरुको सक्रिय कार्यान्वयनको सुनिश्चित गर्न भारतीय सरकारले खेलेको भूमिकाको नेपाल सरकारले प्रशंसा गरेको छ । नेपालस्थित भारतीय राजदूताबासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “दुवै परराष्ट्र सचिवले सीमासम्बन्धी विषयमा छलफल गर्नुका साथै बाँकी खण्डमा सीमासम्बन्धी कार्यहरु सम्पन्न गर्नेबारे आफ्ना विचारहरु साटासाट गर्नुभयो ।”

उच्चस्तरीय दुईपक्षीय सम्बन्धमा नयाँ गतिलाई कायम राख्न र दुवै देशबीचको परम्परागत रुपमा घनिष्ठ, मैत्रीपूर्ण र बहुपक्षीय साझेदारीलाई अझ मजबुत बनाउन दुवै देश सहमत भएको दूताबासद्वारा जारी विज्ञप्तिमा भनिएको छ । छलफलमा दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ, मैत्रीपूर्ण र मजबुत बनाउन दुवै देशका नेतृत्व सहमत हुनुभएको छ ।

विदेश सचिव श्रृङ्गलाले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षीदल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग शिष्टाचार भेट गर्नुभयो । भेटका क्रममा दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ, दुई देशबीचको सम्बन्धमा गति दिन जनता–जनताबीचको सम्बन्ध बढाउने विषयमा छलफल भएको छ ।

भेटकाक्रममा विदेश सचिव श्रृङ्गलाले राष्ट्रपति तथा प्रधानमन्त्रीको सन्देश सुनाउनुभएको थियो । नेपाल–भारतको आपसी हितका लागि सारतभूत एवम् रणनैतिक दुईपक्षीय पहल र आपसी हितका विषयहरुको ठोस प्रगतिका लागि दुवै पक्षबीच सहमति आवश्यक रहेको चर्चा गर्नुभएको नेपालस्थित भारतीय राजदूताबासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

भूकम्पपछिको पुनःनिर्माणमा सहयोग गर्न पाउँदा खुशी लागेको छः भारतीय विदेश सचिव

भारतीय विदेश सचिव हर्षवर्धन शृङ्गलाले भूकम्पपछिको पुनःनिर्माणमा नेपाललाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभएको छ । भारत सरकारको सहयोगमा गोरखा नगरपालिकाभित्र भूकम्पले क्षति पु¥याएका तीन विद्यालय पुनःनिर्माण सम्पन्न भएसँंगै आज नवनिर्मित भवनको उद्घाटन गर्दै उहाँले यस्ता खालका सहयोगले नेपाल र भारतबीचको वर्षाँदेखि सम्बन्ध झन् प्रगाढ हुने बताउनुभयो ।

भूकम्पले क्षति पु¥याएका निजी आवास, सामुदायिक विद्यालय र स्वास्थ्यचौकी पुनःनिर्माणमा भारत सरकारले सहयोग गर्दै आइरहेको जनाउँदै विदेश सचिव शृङ्गलाले नेपाललाई भारतको सहयोग सधैँ रहने बताउनुभयो । उहाँले नेपाल एकीकरणको उद्गम थलो गोरखामा आउन पाउँदा आफूलाई गर्व लागेको बताउँदै भन्नुभयो, “नेपालीहरु विश्वभरि साहसीका रुपमा चिनिन्छन्, तत्कालीन राजा पृथ्वीनारायण शाहले एकीकरण शुरुआत गरेको ठाउँमा आउन पाउँदा मलाई गर्व लागेको छ ।”

भारत सरकारको सहयोगमा गोरखा नगरपालिकामा महालक्ष्मी माध्यमिक विद्यालय, रत्नलक्ष्मी माध्यमिक विद्यालय र तारा माध्यमिक विद्यालय छेपेटारको भवन पुनःनिर्माण सम्पन्न भएको हो । तीनै नवनिर्मित विद्यालय भवनको महालक्ष्मी मावि लक्ष्मीबजारमा आयोजित कार्यक्रमका बीच विदेश सचिव शृङ्गलाले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा गोरखा नगरपालिका प्रमुख राजनराज पन्त, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण सचिव रामकृष्ण सापकोटा, जिल्ला समन्वय समिति गोरखाका प्रमुख अशोक गुरुङलगायतले भारतको सहयोगको प्रशंसा गर्नुभएको थियो । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालगायतको पनि सहभागिता थियो ।

भारतले नेपालमा भूकम्पपछि गोरखा र नुवाकोट जिल्लामा गरी कुल ५० हजार घर निर्माण गर्ने प्रतिबद्धता जनाएको थियो । सोअनुसार दुई जिल्लामा गरी ४६ हजार पाँच सय घर निर्माण सम्पन्न भई लाभग्राहीलाई हस्तान्तरण गरिसकिएको छ । तीमध्ये गोरखा जिल्लामा २५ हजार १७ घरधुरी निर्माण भएको छ ।

नेपाल आवास पुनर्निर्माण परियोजना, भारत सरकारको आर्थिक सहयोगमा सन् २०१८ मार्च महिनादेखि युएनडिपीका समन्वयमा गोरखा जिल्लामा कार्यक्रम सञ्चालनमा रहेको छ । सो परियोजनामा स्थानीय साझेदारी संस्थाका रुपमा पद्धति विकास केन्द्र र स्वाराँ सघन गाउँ विकास केन्द्रमार्फत जिल्लाका गोरखा र पालुङटार नगरपालिका तथा धार्चे, गण्डकी, अजिरकोट, आरुघाट , सिरानचोक र शहीद लखनसहित ६ गाउँपालिकाका ४२ वडामा सञ्चालन भइरहेको छ । परियोजनालले २६ हजार ९१२ घरधुरीका लागि सामाजिक प्राविधिक सहजिकरणअन्तर्गत काम गरिरहेको छ । तीमध्ये भदौ मसान्तसम्म २५ हजार १७ घर निर्माण सम्पन्न भइसकेको तथा ६७७ निर्माणाधीन रहेको परियोजना गोरखा प्रमुख राम सापकोटाले जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter