सौराहामा पर्यटक भित्र्याउन अभियान चलाइने; पर्वतीय उडानमा एयरलाइन्सको आकर्षक छुट

रत्नननगर, मङ्सिर १४ गते । कोरोनाका कारण भएको बन्दाबन्दीले थला परेको सौराहाको पर्यटनलाई उठाउन ‘घुमौँ सौराहा’ अभियान चलाइने भएको छ । जिल्ला समन्वय समिति चितवन, रत्ननगर नगरपालिका र क्षेत्रीय होटल सङ्घ सौराहाको संयुक्त पहलमा अभियान चलाउन लागिएको हो । यसका लागि व्यवसायी अन्तिम तयारीमा जुटेका छन् । नेपालको सातवटै प्रदेशमा पुगेर ‘सौराहा सुरक्षित छ’ भन्ने सन्देश प्रवाह गर्ने योजना बनाइएको छ ।

पर्यटन दिवसको दिनदेखि लामो समयदेखि बन्द रहेका यहाँ होटल तथा रेष्टुरेण्ट खुलेका थिए । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले दशैँअघि नै यो अभियान चलाउन छलफल भए पनि कोरोनाका कारण स्थगित गरिएको बताउनुभयो । उहाँका अनुसार देशका विभिन्न शहरमा सौराहा आउन निमन्त्रणा दिने गरी यहाँका पर्यटकीय गतिविधिसहितको दृश्य देखाइने छ । कोरोनाका कारण सुनसान रहेको यहाँ आन्तरिक पर्यटक भने आउने क्रम भने छिटफुट देखिन थालेको छ । “दशैँ तिहारमा ठूलो अपेक्षा थियो तर पर्यटक आएनन् । स्वास्थ्य मापदण्ड पूर्ण पालना गरेर पर्यटकलाई सुरक्षित साथ राखिरहेका छौँ तर आवागमन कम छ”, भट्टराईले भन्नुभयो ।

यो समय सौराहाका होटलमा खचाखच पर्यटक हुन्थे । व्यवसायीलाई पर्यटकको स्वागतदेखि निकुञ्ज घुमाउन भ्याइनभ्याई हुन्थ्यो । होटल तथा रेष्टुरेण्टले कोभिड प्याकेजअन्तर्गत २५ देखि ३० प्रतिशतसम्म छुट भने दिइरहेका छन् । भट्टराईले पाँचदेखि सात प्रतिशत मात्रै पर्यटक आएको जानकारी दिनुभयो । कोभिड–१९ र त्यसपछिको लकडाउनले रोजगार गुम्यो । व्यापार व्यवसाय ठप्प भए । त्यसैले नेपालीको क्रयशक्तिमा कमी आयो कि भनेर पर्यटन व्यवसायीले पनि साविकको दरमा २० देखि ३० प्रतिशत छुट दिइरहेका छन् । सामूहिकभन्दा व्यक्तिगत छुट प्याकेज गर्ने र त्यसबाट पर्यटक बढे सामूहिक कार्यक्रम ल्याउने सल्लाह भएको भट्टराइको भनाइ छ तर पनि छुटमा पर्यटक आकर्षित नभएको व्यवसायीको गुनासो छ ।

होटलभन्दा रेष्टुरेन्टमा पर्यटक केही धेरै छन् । रेष्टुरेण्ट एण्ड बार एशोसियशन नेपाल सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले अन्तर जिल्लाका पर्यटकको आवागमन रहेको र करिब ३० प्रतिशत पर्यटक रेष्टुरेण्टमा आउने बताउनुभयो । यद्यपि जुन अपेक्षा गरेर १५ प्रतिशतसम्म छुट दिइएको छ त्यो अनुरुप पर्यटक आएका छैनन् । छुटसहितका प्याकेज दिँदा पनि आन्तरिक पर्यटक आकर्षित नभएको भन्दै सरकारले चाँडै अन्तर्राष्ट्रिय हवाई उडान खोल्नुपर्नेमा व्यवसायीको माग छ । सौराहामा ठूला साना १४० वटा होटल छन् भने करिब ५० वटा रेष्टुरेण्ट सञ्चालनमा छन् ।

पर्वतीय उडानमा एयरलाइन्सको आकर्षक छुट

बन्दाबन्दीको आठ महिनापछि शुरु भएको पर्वतीय उडान (माउन्टेन फ्लाइट) मा यात्रुलाई आकर्षण गर्न एयरलाइन्सबीच प्रतिस्पर्धा नै चलेको छ । निजी क्षेत्रका अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर र यती एयरलाइन्सले पर्वतीय उडानमा विशेष छुट र ‘अफर’सहितका योजना बनाएका छन् । दुवै एयरलाइन्सले एक टिकट खरिदमा अर्को टिकट निःशुल्क उपलब्ध गराउने घोषणा गरेका छन् ।

कोभिड–१९ महामारीका कारण अझै पनि विदेशी पर्यटकको चहलपहल बढ्न नसकेका बेला एयरलाइन्सले आन्तरिक पर्यटकलाई लक्षित गर्दै आफ्ना छुट प्याकेज घोषणा गरेका हुन् । दुवै एयरलाइन्सले आगामी डिसेम्बर ५ तारिखदेखि औपचारिकरुपमा पर्वतीय उडान सञ्चालन गर्ने ती कम्पनीले आज छुट्टाछुट्टै विज्ञप्तिमार्फत जनाएका छन् । हरेक शनिबार पर्वतीय उडान हुनेछ ।

बुद्ध एयरले कात्तिक १३ गते शनिबारबाटै पर्वतीय उडान शुरु गरिसकेको छ । सो उडानमा १८ यात्रु सहभागी थिए । बन्दाबन्दीपछि पुनःपर्वतीय उडान शुरु गरेको बुद्ध एयरले स्थिर अवस्थामा रहेको पर्यटनलाई गतिशील बनाउने उद्देश्यले आगामी शनिबारदेखि नियमित पर्वतीय उडान गर्ने जनाएको छ ।

यती एयरलाइन्सले पनि हिजोदेखि नै शुरु गर्ने तयारी गरेको भए पनि केही प्राविधिक कारण अर्को मिति तय गरिएको कम्पनीले उल्लेख गरेको छ । यती एयरलाइन्सले आन्तरिक पर्यटन प्रवर्धनका लागि पर्वतीय उडानमा विशेष अफर बनाएको छ । यसले पनि एक टिकट खरिदमा अर्को सित्तैमा उपलब्ध गराउने जनाएको छ । यती एयरलाइन्सका उडान सुरक्षा विभाग प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले आन्तरिक उडानका यात्रुलाई आकर्षण गरी पर्यटन क्षेत्रलाई चलायमान बनाउने उद्देश्यले अफर ल्याइएको बताउनुभयो ।

‘गाउँदै नेपाली गाथा हेराँै आफ्नै सगरमाथा’ भन्ने सन्देशसहित यतीले आगामी मङ्सिर २० गतेदेखि प्रत्येक शनिबार पर्वतीय उडान सञ्चालन गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ । सुपथ मूल्यमा सगरमाथा उडान प्रारम्भ गर्न लागिएको र बुकिङका लागि नजिकको टिकट काउन्टर तथा ट्राभल एजेन्सी, वेबसाइट वा मोबाइल एप्समार्फत सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ । यतीले पर्वतीय उडानका लागि रु आठ हजार ९९९ भाडा निर्धारण गरेको छ ।

पर्वतीय उडान करिब एक घण्टाको हुनेछ । त्रिभुवन विमानस्थलबाट शुरु हुने यो उडानबाट सगरमाथा, मकालु, नुप्त्से, गौरीशङ्करलगायत अन्य हिमशृङ्खलाको मनोरम दृश्य हेर्न सकिन्छ । अझ पदयात्रा जान नसक्नेका लागि यो गज्जबको अफर भएको व्यवसायीले बताएका छन् । बुद्ध एयरले पनि पर्वतीय उडानका लागि रु आठ हजार ९०० भाडा तोकेको छ । यसमा झ्यालसहितसँगैको अर्को सिट (झ्यालबिना) सित्तैमा उपलब्ध गराउनेछ । यो अफर तत्कालका लागि नेपाली नागरिकलाई मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ । टिकटका लागि बुद्ध एयरको काउण्टर तथा ट्राभल एजेन्सीलाई सम्पर्क गर्न विज्ञप्तिमा भनिएको छ ।

सर्वोच्च शिखर सगरमाथासहितका आकर्षक एवं मनोरम हिमशृङ्खला दृश्यावलोकनका लागि पर्वतीय उडान निकै आकर्षक मानिन्छ । पर्वतीय उडानका लागि स्वदेशी तथा विदेशी यात्रु निकै लालायीत हुन्छन् । अनुकूल मौसमले पनि पर्वतीय उडानको आकर्षण बढ्दो छ । विशेषगरी शरद ऋतु पर्वतीय उडानका लागि उपयुक्त मानिन्छ ।

नेपालमा कोभिड नियन्त्रणका लागि देशभर लागू भएको बन्दाबन्दी र पछिल्लो निषेधाज्ञाका कारण हवाई उडान खुलेको थिएन । असोज ५ देखि आन्तरिक उडान सञ्चालनमा आएको थियो भने भदौ १६ देखि अन्तर्राष्ट्रिय नियमित उडान शुरु भएको थियो । सगरमाथासहितका अग्ला हिमालसँगै महाभारत पर्वत शृङ्खलाको रमणीय दृश्य हेर्न स्वदेशी तथा विदेशी पर्यटक लालायित हुन्छन् । वायुसेवा सञ्चालक सङ्घ नेपालका अनुसार आन्तरिक उडानका लागि हाल १० हेलिकप्टर कम्पनीसहित १९ वटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter