• Wednesday, May 28, 2025

चक्रपथ दोस्रो खण्ड विस्तारः निर्माणस्थल खाली गर्ने काम सकिँदै

काठमाडौँ, फागुन ११ गते । कलङ्की–धोबीखोला सडक विस्तारका लागि निर्माणस्थल खाली गर्ने काम दुई प्रतिशत बाँकी छ । चीन सरकारको सहयोगमा विस्तार गरिने सो सडकमा पर्ने महाराजगञ्ज क्षेत्रमा पर्ने केही घरका कारण निर्माणस्थल पूरै खाली भइनसकेको हो ।

ती घरको मुआब्जाका विषयमा छलफल भइरहेको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ । योजनाले जिल्ला प्रशासन कार्यालय र काठमाडौँ महानगरपालिकालगायतका निकायसँग छलफल गरिरहेको योजनाका प्रमुख अर्जुन सुवालले जानकारी दिनुभयो । उहाँका अनुसार त्यहाँ रहेका घरमध्ये सात घरको शहरी विकास तथा भवन निर्माण विभागबाट क्षतिपूर्तिको मूल्याङ्कन प्राप्त भएको छ । उहाँले भन्नुभयो, “मूल्याङ्कन भइसकेको घरको प्रक्रिया अघि बढाइनेछ ।”

तीमध्ये १२ घरको घरधनीसँग सम्पर्क हुन नसकेको बताइएको छ । वडा कार्यालयले ती घरधनीसँग सम्पर्क गर्न खोजे पनि नसकेको उहाँको भनाइ छ । वडाध्यक्षले सम्पर्क गर्दा कतिपय व्यक्ति विदेशमा रहेकाले पनि सम्पर्क हुन नसकेको हो । घरहरु चीन सरकारले निर्माण गर्ने आठ लेनभित्रै भएकाले निर्माण अघि बढाउन समस्या हुने उहाँले जानकारी दिनुभयो । ती घरहरुमा नक्सा लिएर मूल्याङ्कन गर्ने कि भन्ने छलफल भएको छ । कतिपय घर नक्साभन्दा फरक हुनसक्ने भएकाले त्यहीँ जाँदा मात्रै सही कुरा आउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “घरधनीले पछि विवाद निकाल्न सक्ने सम्भावना छ ।”

जम्मा ११ दशमलव छ किमी लम्बाइको सडकमध्ये २४४ मिटरमा निर्माणस्थल खाली गराउन नसकिएको योजनाले जनाएको छ । अरू कतिपय संरचना हटाइरहेको भए पनि त्यसले चिनियाँ टोलीलाई निर्माण अघि बढाउन बाधा नपुग्ने प्रमुख सुवालले बताउनुभयो । सो सडकमा विद्युत् प्राधिकरणले तार जमिनमुनि राख्ने काम गरिरहेकामा त्यो मुख्य सडकबाहेकको सहायक सडकमा पर्छ । प्राधिकरणले तार सार्ने काम गत वर्षबाटै शुरुआत गरेको थियो । बाँकी स्थानमा पनि ठेक्का सम्झौता भइसकेको छ । उहाँले भन्नुभयो, “मुख्य लेनमा काम भइरहँदा पनि सहायक लेनको काम गर्न सकिन्छ ।”

चक्रपथ विस्तारका लागि अहिले यस सडकखण्डमा रूख काट्ने, विद्युत्का पोल सार्ने, खानेपानीका पाइप सार्नेलगायत आवश्यक तयारीका काम गतवर्ष शुरु भएको थियो । सडक पहिले खाली गराएपछि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) गरेर निर्माणको काम शुरु हुने सडक विभागले जनाएको छ । यसअघि कोटेश्वर–कलङ्की सडक निर्माणका क्रममा विभिन्न अवरोध आएकाले यस सडकको निर्माण शुरु पहिले नै सबै अवरोध हटाएर निर्माण शुरु गरिएको हो ।

अहिले उक्त सडकको अधिकार क्षेत्रमा रहेका रूख काटिएको छ भने झण्डै ४०० पोल सार्ने काम सकिएको छ । उहाँका अनुसार विद्युत् प्राधिकरणले पोल त्यहाँबाट सारिरहेको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडमार्फत खानेपानीका पाइप सार्ने काम भइरहेको छ । सडकको अधिकार क्षेत्रमा घरसँगै अस्थायी टहरालगायत संरचना हटाउनु पहिलो चरणको विस्तारमा जस्तै यो चरणमा पनि समस्या हुनसक्ने देखिएको योजनाले जनाएको छ ।

स्वयम्भू, ठूलोभ¥याङ, महाराजगञ्ज चोकलगायत स्थानमा सडक छेउमा संरचना हटाउनुपर्ने देखिएको छ । कोटेश्वर–कलङ्की सडक निर्माण गरेसँगै चीन सरकारले चक्रपथको दोस्रो खण्डका रुपमा कलङ्की–महाराजगञ्ज सडक विस्तारमा चासो देखाएको थियो । भूकम्प पहिले नै कोटेश्वर–कलङ्की सडक विस्तारको काम शुरु भए पनि भूकम्प र त्यसपछि नाकाबन्दीका कारण समयमै निर्माण सम्पन्न हुन सकेको थिएन । सडकमा रहेका खानेपानीका पाइप, ढल, विद्युत्का पोल र रूख समयमै हटाउन नसकिएकाले पनि काममा बाधा पुगेको थियो ।

सडकमा दुई ‘अन्डर पास’, प्रत्येक किलोमिटरमा आकाशे पुल र मुख्य लेनमा बीचमा डिभाइडर हुने गरी सडक विभागले प्रस्ताव गरेको छ । सडक निर्माणस्थल खाली गरेर विभागले हस्तान्तरण गरेपछि मात्रै चिनियाँ टोलीले निर्माण शुरु गर्ने बताइएको छ । पहिलो चरणको विस्तार सडकमा रहेको कमीकमजोरी हुन नदिने गरी डिजाइन गरिएको सडक विभागले जनाएको छ ।

आठ लेनको सडकमा कोटेश्वर–कलङ्की सडकमा जस्तै मुख्य चार लेन र सहायक चार लेन गरेर जम्मा आठ लेन नै रहनेछ । पहिलो चरणमा मुख्य सडकमा दायाँबायाँ सडकलाई सडक चिह्नले मात्रै छुट्याइएकामा यस सडकमा डिभाइडर राखिने भएको छ । पहिलो चरणमा डिभाइडर नहुँदा दुर्घटना भएका गुनासो आएकाले यस खण्डमा राख्न लागिएको हो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter