• Thursday, June 12, 2025

पशुपतिनाथमा सुनको पीठिकाः राष्ट्रपतिद्वारा प्राणप्रतिष्ठा पूजा

काठमाडौँ, फागुन १२ गते । पशुपतिनाथ मूलमन्दिरको ज्योतिर्लिङ्गमुनि सुनको पीठिका (जलहरी) स्थापना गरिएको छ । राष्ट्रवासीका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले १०८ किलो सुनबाट बनेको पीठिकामा आज बिहान पूजा एवं प्राण प्रतिष्ठा गर्नुभयो ।

प्राणप्रतिष्ठासहितको पूजा एवं अनावरणपछि पशुपतिनाथका मूलभट्टसहित भट्टहरुले ज्योतिर्लिङ्गमुनि सुनको पीठिका स्थापना गर्नुभएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो । ज्योतिर्लिङ्ग भएका स्थानमा पशुपतिनाथका पुजारीबाहेक अरुले छुन नपाउने विधि छ ।

विसं १८३८ मा रणबहादुर शाहका पालामा माघ शुक्ल पञ्चमीका दिन राखिएको चाँदीको पीठिका जीर्ण भएपछि २०२४ साल माघ शुक्ल पञ्चमीकै दिन मर्मत गरिएको अभिलेख पशुपतिमा रहेको पनि उहाँले जानकारी दिनुभयो । विसं २०२४ मा चाँदीको पीठिकामा गरिएको मर्मत फेरि जीर्ण भएपछि सुनको पीठिका निर्माण गरिएको कोषले जनाएको छ ।

सुनको पीठिका स्थापना गर्नुअघि गत शनिबारदेखि पशुपतिनाथ मूल मन्दिरमा १२५ ब्राह्मणले क्षमा पूजा गरेको कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले बताउनुभयो । पूजा गर्न २५ ब्राह्मण दक्षिण भारतबाट ल्याइएको थियो ।

सो अवसरमा रुद्राभिषेक, चार वेद र शिवपुराण पाठपारायण एवं वास्तु र तन्त्र विधिबाट समेत पूजा आराधना गरिएको पनि उहाँले बताउनुभयो । सोक्रममा राष्ट्रपति भण्डारीले दक्षिण भारतबाट विशेष निमन्त्रणा गरिएका पाँच ब्राह्मणबाट गरिएको शान्तिपाठ श्रवण गर्नुभएको कोषले जनाएको छ ।

प्राणप्रतिष्ठापछि राष्ट्रपति भण्डारीले राष्ट्रको शान्ति र अमनचयनका लागि सङ्कल्प प्रार्थना गर्नुभएको थियो । उहाँका सञ्चार तथा सूचनाविज्ञ टीका ढकालका अनुसार उक्त पूजाआजा करीब ४५ मिनेट चलेको थियो । त्यसपछि राष्ट्रपतिले सो क्षेत्रका शक्तिपीठको दर्शनसमेत गर्नुभयो ।

समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकाल र सचिव यादव कोइराला, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम, कोषका पदाधिकारीलगायत अधिकारीको उपस्थिति थियो ।
पीठिकापछि पशुपतिनाथस्थित मूल मन्दिरको छाना र बसाहामा समेत सुनको लेप लगाउन लागत स्टिमेटको काम भइरहेको छ ।

यसका लागि २० किलोसम्म सुन लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । पशुपतिमा सुनको पीठिका निर्माण, छाना र बसाहामा सुनको लेपन एवं चाँदीको काम गर्न करीब रु एक अर्ब लाग्ने कोषको प्रारम्भिक अनुमान छ । यसका लागि सरकारले संस्कृति मन्त्रालयका तर्फबाट रु ३० करोड सहयोग गरेको थियो । अरु स्रोत कोषले नै जुटाएको हो ।
यसैगरी पशुपतिका चार ढोकामा रहेको चाँदीसमेत मर्मत गरिने भएको छ । पशुपतिनाथको मूल मन्दिरका चार ढोका र वरिपरि चाँदीको लेप लगाइएको छ ।

यसका लागि हाल लागत अनुमानको काम भइरहेकाले लगत्तै छाना र बसाहामा सुनको लेप एवं चाँदीको काम शुरु गरिने कोषले जनाएको छ । महाशिवरात्रिअघि नै पशुपतिनाथ मन्दिरलाई नयाँ स्वरुपमा परिणत गर्ने कोषको तयारी छ । यस वर्ष यही फागुन २७ गते महाशिवरात्रि पर्व परेको छ ।

पशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिङ्गमा सुनको जलहरी राख्नु प्राचीन स्मारक संरक्षण ऐन २०१३ विपरीत रहेको जनाउँदै कोषका पूर्वकोषाध्यक्षसमेत रहनुभएका वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता नीलम ढुङ्गानाले सोमबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।

कोषले भने सम्पदा मास्ने गरी ऐन विपरीत काम नभएको जिकिर गरेको छ । अदालतको शिरोपर गरिने कोषका सदस्य सचिव डा ढकालले बताउनुभयो । उहाँका अनुसार यसअघिको चाँदीको जलहरी नहटाई त्यसैमाथि सुनको जलहरी राखिएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter