राष्ट्रपति भण्डारीबाट मेलम्चीको पानी वितरण शुभारम्भ; तीन वर्षपछि याङ्ग्री र लार्केको पानी काठमाडौंमा आउँछः प्रधानमन्त्री

सपना थामी / काठमाडाैं, चैत २० गते । राष्ट्रपति विद्यादेवी भण्डारीबाट चैत १५ गते उपत्यकाबासीको धारामा झरेको मेलम्चीको पानीको औपचारिक उद्घाटन भएको छ । शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित एक विशेष कार्यक्रममा राष्ट्रपति भण्डारीद्वारा तीनवटा ढुंगेधारासहित निर्माण गरिएको स्मारकमा धाराको टुटी खोली उद्घाटन गर्नुभएकाे हो । अब सो सार्वजनिक ढुंगेधाराको पानी सर्वसाधारणाले उपभोग गर्न पाउनेछन् । ढुंगेधारा नजिकैको पानीको फोहोराको पनि राष्ट्रपति भण्डारीले स्वीच थिची औपचारिक उद्घाटन गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले बहुप्रतिक्षित मेलम्ची खानेपानी राजधानीबासीका लागि नयाँ उपहार भएको बताउनुभयो । राष्ट्रपति भण्डारीले बढ्दो जनसंख्याका कारण खानेपानी समस्या देखिदै आएकोमा मेलम्चीको पानीले नागरिकलाई खुशी प्रदान गरेको बताउनुभयो ।

उहाँले विकास निर्माणमा यदाकदा अवरोध सिर्जना हुनु चिन्ताको विषय भएपनि सरकार र सम्बन्धित सबैले देश विकासको विषयमा सबै गम्भीर हुनुपर्ने धारणा राख्नुभयो ।

खानेपानी तथा सरसफाइ मन्त्री मणिचन्द्र थापाले भने स्वास्थ्य प्रतिकूलताका कारण कार्यक्रममा उपस्थिति हुनुभएकाे छैन । खानेपानी मन्त्रीमार्फत दृश्य सन्देश भने प्रवाह भएकाे छ ।

काठमाडौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पहिलो चरणको काम सम्पन्न हुनु काठमाडौ उपत्यकाबासीको लागि एक पर्व भएको बताउनुभएको छ । पहिलो चरणमा मेलम्चीको १७ करोड लिटर पानी आएसँगै वर्तमान सरकारकै पालामा याङ्ग्री र लार्केको पानी काठमाडौ आउनुपर्ने अपेक्षा पनि काठमाडौबासीको रहेको उहाँले बताउनुभयो ।

मेयर शाक्यले आफूले आफ्नो नेतृत्वमा मेलम्चीको पानी काठमाडौं आउने प्रतिबद्धता जाहेर गरेको ४ वर्षपछि काठमाडौंमा मलम्चीको पानी आएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले जे बोल्नुहुन्छ, त्यो गर्नुहुन्छ र जे गर्नुहुन्छ, त्यो बोल्नुहुन्छ भन्दै बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको काम पनि छिटोभन्दा छिटो सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री कृष्णगोपाल श्रेष्ठ, परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली लगायत अधिकांश मन्त्रीहरुको उपस्थिति रहेको छ । सरकारका विभिन्न ओहोदाका प्रमुखहरुको सहभागिता छ । कार्यक्रममा मेलम्ची र राष्ट्रियता सम्बन्धित विभिन्न साँस्कृतिक झाँकीहरुको प्रस्तुती देखाइएकाे छ ।

तीन वर्षपछि याङ्ग्री र लार्केको पानी काठमाडौंमा आउँछः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना औपचारिक रुपमा काठमाडौं उपत्यकामा भित्रिएसँगै देशमा नयाँ सफलता प्राप्त भएको बताउनुभएकाे छ । उहाँले आगामी तीन वर्षपछि याङ्ग्री र लार्केको पानी काठमाडौ आउने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले आगामी वि.सं. २०८१ साल सम्ममा दुई नदीको पानी काठमाडौ आउने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले मन्त्रालयलाई यसै अनुसार काम अगाडि बढाउन निर्देशन समेत दिनुभयो ।

राजधानीमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट भृकुटीमण्डपस्थित नयाँ निर्माण गरिएको ३ ढुंगेधारासहितको स्मारकमा मेलम्चीको पानी औपचारिकरुपमा उद्घाटन गर्ने कार्यक्रममा प्रधानमन्त्री ओलीले वर्तमान सरकारले पूर्वाधार विकासमा भएका प्रयासका सन्दर्भममा पनि आफ्नो धारणा राख्नुभएको छ ।

उहाँले पूर्वाधार विकासमा सरकारले चौतर्फीरुपमा प्रगती गरेको बताउनुभयो । प्रधानमन्त्री ओलीले विकास निर्माणका कामहरु एक–अर्काेसँग नबाँझिने गरि विभिन्न मन्त्रालय र अन्तर–मन्त्रालयहरुसँग प्रभावकारी रुपमा समन्वय गर्दै विकास निर्माणको काम अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री औलीले आगामी नयाँ वर्षमा पुननिर्मित धरहरा पनि उद्घाटन हुने बताउनुभयो । यससँगै प्रधानमन्त्रीले सरकारलाई काम गर्न नदिएकै कारण देशमा विभिन्न अन्यौलता उत्पन्न भएको अवस्थामा सरकारलाई फेरि पनि काम गर्न नदिन विभिन्न बाधाहरु उत्पन्न भएको बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter