किसानको मेहनतले बगर बगैंचा बन्दै

नगेन्द्रकुमार कर्ण / जलेश्वर, चैत ३१ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नम्बर ८ को कुशमाडीस्थित मरहा नदीको ५० हेक्टरको जग्गा विगतमा बगरको रुपमा रहे पनि केही महिनादेखि भने हरियालीमय बनेको छ । त्यहाँ प्याज, भिन्डी, करैला, घिरौंला, लौका, काँक्रो, भन्टा, मकै, कोदो, खुर्सानीसहित विभिन्न जातका आँप, लिची, कटहरका बिरुवा छन् ।

यो क्षेत्र हरियालीमय होला भन्ने विश्वास नभएको समयमा विभिन्न संस्थाहरुको सहयोग तथा किसानहरुको मेहनतको कारणले यो क्षेत्र अहिले हरियालीमय मात्रै होइन घुम्ने लायकको ठाउँको रुपमा समेत चिनिन थालेको स्थानीय युवा राजेश सिंहले जानकारी दिनुभयो ।

कोडिभ–१९ को कारणले रोजगारी गुमाएका अति विपन्न परिवारहरुलई आयआर्जन तथा रोजगारी विकास परियोजना अन्तर्गत विभिन्न समुहहरु बनाएर त्यहाँ विभिन्न खेतीहरु शुरु गरिएपछि यो ठाउँ अहिले हरियालीले ढाकिएको उहाँले बताउनुभयो ।

त्यहाँ एक दुई जना नभएर दुईसयभन्दा बढी किसानहरु आ–आफ्नो जग्गा छुटयाएर विभिन्न तरकारी तथा खेतीहरु गरिरहनुभएको छ । विगतमा अरुहरुको खेतलाई अँधिया (बटैया) मा लिएर खेती किसानी गर्ने स्थानीय केदार राउत सो ठाउँमा ७ कठ्ठा जग्गामा विभिन्न तरकारीहरु लगाउनुभएको छ । उहाँले लौका, करैला, भन्टा, खुर्सानीलगायतका तरकारी खेती गरेको जानकारी दिनुहुँदै लौकाको राम्रो उत्पादन भएकोले बजार पनि राम्रो पाएको बताउनुभयो । उहाँले यसको कमाइबाट अहिले घर चलाउन समस्या नभएको जानकारी दिनुभयो ।

त्यस्तै, किराना पसल चलाएर जिविकोपार्जन गरिरहनुभएका सोही ठाउँका परमेश्वर साह पनि सो ठाउँमा प्याज, भिन्डी, करैला, घिरौला, लौका, काँक्रो, भन्टालगायतका खेती गर्नुभएको जानकारी दिनुहुदै उब्जाउ राम्रै भएको बताउनुभयो । करिब आठ कठ्ठा मध्ये पाँच कठ्ठामा तरकारी खेती तथा अरुमा मकै, कोदो लगाएको बताउनुहुँदै उहाँले बगरमा पनि राम्रो उब्जाउ भएकोमा मख्ख हुनुहुन्छ ।

गौशाला नगरपालिका तथा युएनडिपीको आर्थिक सहयोग र सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिवासको संयोजनमा सो ठाउँमा कृषि वन उपभोक्ता समिति र सोनी खोला मगर सामुदायिक उपभोक्ता समिति बनाएर खेती गर्न प्राविधिक सहयोग गरिरहेको जानकारी मञ्चका अध्यक्ष नागदेव यादवले जानकारी दिनुभयो । उहाँले आफूहरुको सानो सहयोगले गरिब तथा अति विपन्न वर्गका परिवारहरुलाई जीविकोपार्जनमा सहयोग पुगिरहेको वताउनुहुँदै किसानहरुको आफ्नै मेहनत र लगनले बगर हरियालीमा परिणत भएको बताउनुभयो ।

गौशाला नगरपालिकाले पनि किसानहरुको उत्पादनलाई बढोत्तरी गर्न परियोजनाबाहेकका अन्य सहयोग गरिरहेको बताउनुहुँदै उहाँले विद्युतीकरणमा नगरपालिकाको सहयोगले गर्दा सिंचाइमा समेत सहयोग पुगेकोले बगर बगैंचामा परिणत भएको बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter