प्रतिकूल अवस्थामा पनि २०७७ लाई खेर जान दिएनौंः प्रधानमन्त्री ओली

काठमाडौं, वैशाख १ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिकूल अवस्थामा पनि २०७७ साललाई खेर जान नदिइएको बताउनुभएको छ । नयाँ वर्ष २०७८ को अवसरमा बुधबार बिहान देश विदेशमा रहनुभएका सबै नेपालीमा शुभकामना व्यक्त गर्नुहुँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभयो । अव आगामी दिनमा थप योजनाबद्ध ढङ्गले सरकारले काम गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

कोभिड १९ ले मुलुक संकटग्रस्त अवस्थामा पुगेकाले चिकित्सकको परामर्शलाई शिरोधार्य गरेर अघि बढ्न, आफू र समाजलाई सुरक्षित राख्न उहाँले आग्रह गर्नुभयो । कोभिड १९ ले २०७७ सालमा केही राजनीतिक अस्थिरता देखिए पनि विकास निर्माणमा प्रतिकुल असर नपारेको उहाँले बताउनुभयो । यद्यपि त्यसको असर अहिलेसम्म बाँकी रहेकाले सबैलाई सचेत रहन उहाँले आग्रह गर्नुभयो । गत वर्षमा मेलम्चीको पानी उपत्यकाबासीको घरघरमा पु¥याउने काम भएको उहाँले प्रष्ट पार्नुभयो । प्रतिकूल अवस्थामा पनि २०७७ लाई व्यर्थ जान दिएनौं उहाँले भन्नुभयो ।

कोभिड १९ दुनियाँमा कसैका लागि पनि यो पहिचान भएको रोग नभएकाले सामना गर्न समस्या परेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले सरकारले जनताको जीवनलाई पहिलो प्राथमिकता दिएर काम गरिएको बताउनुभयो । “नागरिकको जीवन नै रहेन भने कुनै काम सुचारु हुन सक्दैन, नागरिक सुरक्षित भएमा सबै काम सुचारु गर्न सकिन्छ” यही मुलमन्त्रका साथ सरकारले महत्वदिएर काम गरिरहेको उहाँले प्रष्ट पार्नुभयो ।

सरकारको सही नीतिका कारण कोभिड १९ मा असफल नभएको बताउनुहुँदै उहाँले सामाजिक जनजीवन तथा आर्थिक क्रियाकलापमा खासै समस्या नपरेको बताउनुभयो । कोभिडका बीच पनि अर्थतन्त्र ऋणात्मक हुन नपाएको उहाँले प्रष्ट पार्नुभयो । व्यापारघाटा सन्तुलनतर्फ फर्काउने काम भइरहेको चर्चा गर्नुहुँदै उहाँले व्यापार घाटाको ग्यापलाई कम गर्नेमा सफलता प्राप्त भइरहेको बताउनुभयो ।

अघिल्लो वर्ष राजनीतिक हिसावले पृथकतावादी सोचलाई देशबाट अन्त्य गरी राष्ट्रिय एकता कायम गर्नमा महत्वपूर्ण सफलता भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “हिंसाको बाटो लिइरहेको शक्तिलाई शान्तिको बाटोमा फर्काउने सफलता प्राप्त गरेका छौं, अब मुलुकमा हिंसाको राजनीति बाँकी छैन ।” अब जनतामा सार्वभौमसत्ता फर्किएको उहाँले बताउनुभयो । हिंसा होइन, जनताको अभिमत नै वास्तवमा राजनीतिको निर्धारक तत्व रहेको चर्चा गर्नुभयो ।

गएको वर्ष नयाँ काम धेरै भएको उहाँले बताउनुभयो । २०७७ सालमा धेरै सभागृह निर्माण भएको बताउनुभयो । लुम्बिनीमा ५ हजार क्षमताको ध्यानकेन्द्र निर्माण भएको, गोदावरीमा ३ हजार क्षमताको सभाहल निर्माण भइरहेको बताउनुभयो । हामीकहाँ ७० वर्षअघि ठूलो परिवर्तन भयो, जनप्रतिनिधित्वको युगमा पुगेका थियौं तर जनप्रतिनिधिहरु सामेल हुने सर्वोच्च संस्थाको भवन (संसद भवन) थिएन । गत वर्षदेखि निर्माणकार्य जारी रहेको र सम्पन्न हुने चरणमा रहेको उहाँले बताउनुभयो ।

केही पक्षले सरकारले केही गरेन, केही पनि भएन भनेर जनतामा मिथ्या हल्ला फैलाउने काम गरेको भए पनि त्यसबाट विचलित नहुन उहाँले आग्रह गर्नुभयो । दिनमा साढे पाँच किलोमिटर बाटो यसबीचमा बनेको उहाँले जानकारी दिनुभयो । सम्बोधनका क्रममा उहाँले भन्नुभयो, “एक दिनमा कम्तीमा १२ वटाका दरले आवास निर्माण भएका छन्, आठ प्रकारका सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या ३० लाखभन्दा बढी छ ।”
महिनाको १ सयबाट शुरु भएको सामाजिक सुरक्षा भत्ता आगामी बजेटबाट बृद्धि गरिने उहाँले बताउनुभयो । अहिले करिब पाँच लाखको संख्यामा सामाजिक सुरक्षा भत्ता पाउनेको सूची थपिएको उहाँले जानकारी दिनुभयो । पुल, झोलुङ्गे पुल निर्माणमा उल्लेख्य प्रगति भएको उहाँले चर्चा गर्नुभयो । मध्येपहाडी राजमार्गको तिव्र निर्माण भइरहेको, मदन भण्डारी राजमार्ग निर्माण भइरहेको, हुलाकी सडकको निर्माण कार्य अन्तिम चरणमा रहेको, पूर्व–पश्चिम राजमार्गको स्तरोन्नतिको काम भइरहेको उहाँले चर्चा गर्नुभयो ।

राजमार्गबाट सदरमुकाम जोड्ने बाटाहरु ६ लेनमा निर्माण भइरहेको, जनकपुरमा आएको रेल यही महिनाबाट सुचारु हुने उहाँले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले छिटै पूर्व–पश्चिम रेलको काम पनि अघि बढ्ने बताउनुभयो । त्यसका लागि जग्गा अधिग्रहणको काम भइरहेको उहाँले बताउनुभयो । सरकारले यस अवधिमा ठूलो प्रगति गरेको उहाँले बताउनुभयो ।

पुनर्निर्माण प्राधिकरणले असाधारण काम गरिरहेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले रानीपोखरीको निर्माण भएको, धरहरा वैशाख ११ गते विधिवतरुपमा उदघाटन हुने जानकारी दिनुभयो । हवाई मैदानको स्तरोन्नति भएको, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँपन ल्याएको बताउनुभयो । थुप्रै विद्यालयको पुनर्निर्माण भएको उहाँले बताउनुभयो । दरबार हाइस्कूलदेखि अन्य विद्यालयको पुनर्निर्माण सकिएको उहाँले चर्चा गर्नुभयो ।

हामी जस वा श्रेय लिने होडबाजीमा छैनौं, देशबाट गरिबी हटाउने, आधुनिकीकरण गर्ने, समृद्ध नेपाल निर्माण गर्ने चरणमा छौं प्रधानमन्त्री ओलीले थप्नुभयो, “एउटै ठाउँबाट विभिन्न आयोजना निर्माणको काम सिंहदरवारबाटै हेर्न सकिने डिजिटल प्रविधिको विकास गरेका छौं ।” यसअघि फागुन ३ गते सरकारको तीन वर्ष पुगेको सन्दर्भमा धेरै चर्चा गरिसकिएको उहाँले बताउनुभयो ।

आगामी दिनमा पर्यटन क्षेत्रको पुनरत्थानका लागि काम गरिने उहाँले प्रतिवद्धता जनाउनुभयो । त्यसको सफलताका लागि सबै लाग्नुपर्ने उहाँले बताउनुभयो । कोभिड १९ बाट सुरक्षित हुँदै त्यो काम गर्नुपर्ने भएकाले कोभिड १९ संक्रमणबाट बच्न सबैमा सचेत हुन उहाँले आग्रह गर्नुभयो । “सरकार सकेसम्म लकडाउनमा जान चाहँदैन, तर समस्या बढ्यो भने त्यसमा जानुपर्ने हुन्छ ।” परिस्थितिलाई विग्रन नदिन सबै सचेत हुनुपर्ने उहाँले बताउनुभयो ।

जमिनको डिजिटल सोइल म्याप बनाउने काम भएकाले माटोको परीक्षण गर्न सहज भएको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले मालपोत कार्यालयलाई समेत जिडिटलाइज्ड गरिएको बताउनुभयो । २०७७ साल राजनीति, आर्थिक, सामाजिक हिसावले पनि असफल नभएको उहाँले चर्चा गर्नुभयो । सडक बालबालिका रहित मुलुकको रुपमा नेपाल अगाडि बढेको उहाँले बताउनुभयो । अभिभावक गुमाएका बालबालिकाका लागि अभिभावक सरकार रहेको, ज्येष्ठ नागरिकको अभिभावक पनि सरकार रहेको उहाँले बताउनुभयो । सम्मानित जीवन बाँच्न पाउने स्थितिको निर्माण सरकारले गरेको उहाँले बताउनुभयो ।

एसिड आक्रमणका विरुद्ध सरकारले अध्यादेशमार्फत कडा कानुन ल्याउने काम गरेको तर लडेर ल्याएको संसद चल्न नदिएर अध्यादेश रोकिएको उहाँले बताउनुभयो । एमसीसीमा काँग्रेस र माओवादी सरकारको नेतृत्वमा रहँदा सम्झौता गरेका थिए तर त्यसलाई अहिले निर्णयार्थ प्रस्तुत गर्न नदिइएको बताउनुभयो । फाटोको खेती होइन, आजको हाम्रो आवश्यकता राष्ट्रिय एकताको पक्षमा काम गर्नुपर्छ प्रधानमन्त्री ओलीले थप्नुभयो, “राष्ट्रिय एकतालाई कायम गर्दै देश बनाउनेमा हाम्रो सामथ्र्य र शक्ति लगाउनुपर्छ ।”

अब सरकारले नयाँ नयाँ थप काम गर्ने तयारीमा रहेको उहाँले बताउनुभयो । मेरो कित्ता कार्यक्रमको पनि चाँडै शुभारम्भ हुने उहाँले जानकारी दिनुभयो । घरमै बसेर जनताले आफ्नो जग्गाको कित्ता हेर्न सकिने उहाँले बताउनुभयो । लोकतान्त्रिक आन्दोलनमा पीडित भएका व्यक्तिहरुलाई प्रतिकात्मक ढंगले सम्मान गर्ने कार्यक्रमको पनि प्रारम्भ भइरहेको उहाँले बताउनुभयो । नयाँ आत्मविश्वासका साथ हामी नयाँ वर्षमा प्रवेश गरिरहेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले देशलाई अव दुर्गम हुन नदिइने बताउनुभयो । हुम्लालाई पनि अब यसै वर्ष सडक सञ्जालबाट जोडिने उहाँले जानकारी दिनुभयो ।

३९७ वटा अस्पतालको शिलन्यास भएको र त्यसको निर्माण कार्यमा तिव्रता दिइने उहाँले बताउनुभयो । विभिन्न विश्वविद्यालय, अस्पताल, विद्यालय, प्राविधिक शिक्षालाई व्यापक मात्रामा स्थापनाको काम भइरहेको चर्चा गर्नुहुँदै जनताको मनोबल बढाउने काम सरकारले गरिरहेको बताउनुभयो । दक्षिण एसियाली खेलकुदमा प्राप्त पदकले पनि नेपालीको मनोबल बढेको प्रमाणित गरेको उहाँले चर्चा गर्नुभयो ।

गत वर्षमात्र देशको नयाँ नक्सा जारी गरिएको र त्यसले जनतामा आत्मविश्वास बढाएको प्रधानमन्त्री ओलीले चर्चा गर्नुभयो । आगामी दिनमा योजनाबद्ध ढंगले काम गरिने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । हामी पुग्ने गन्तव्यको निर्धारण गरेर सरकारले काम गरिरहेको छ उहाँले भन्नुभयो, “समाजका कुनै पनि पक्ष (सेवा, पर्यटन, उद्योग) सातै वटा प्रदेशमा नयाँ औद्योगिक क्षेत्रको शुरुवात भएको छ, लगानीका निम्ति अनुकूल वातावरण निर्माण गरेका छौं ।”

देशलाई विकास निर्माणको बाटोमा लग्ने काम सरकारले गरेको उहाँले प्रष्ट पार्नुभयो । सबै नेपालीलाई हल्लाको पछाडि नलागी राष्ट्र निर्माणमा ढुक्कसाथ लाग्न आग्रह गर्नुभयो । मनमा आशावादिता लिएर काम गर्न आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “राष्ट्रिय हितको पक्षमा जहिले पनि हामी सजग छौं, न्यायसहितको, अन्तर्राष्ट्रिय उत्तरदायित्वसहितको अन्तर्राष्ट्रिय सम्बन्धको पक्षपोषण गरिरहेका छौं ।” विकासका लागि शान्ति अपरिहार्य रहेकाले त्यसकालागि सरकारले काम गरिरहेको बताउनुभयो ।

अवको विश्वलाई भयमुक्त, त्रासमुक्त बनाउने अभियानमा सरकारले काम गरिरहेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले सुरक्षित र सम्मानित जीवन बाँच्ने वातावरण बनाउनमा सरकार लागेको बताउनुभयो । सामाजिक न्यायको क्षेत्रमा सरकारले काम गरिरहेको उहाँले बताउनुभयो । सरकार सजगकताकासाथ युवशक्तिलाई साथ लिएर काम गरिरहेको उहाँले प्रष्ट पार्नुभयो । विदेश अहिले बढी असुरक्षित छ, त्यसैले अब युवाहरु देश भित्रै बसेर देश निर्माणको काममा लाग्नुपर्छ प्रधानमन्त्री ओलीले भन्नुभयो, “उपयुक्त रोजागरीको अवसर खोजी गर्दै अघि बढ्न उहाँले युवामा आग्रह गर्नुभयो ।

नयाँ वर्ष २०७८ को अवसरमा सबैको सुख, शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभयो । कोभिड १९ बाट बच्न र बचाउन सबैमा उहाँले आग्रह गर्नुभयो । नयाँ वर्षले सबैको खुशीको वर्ष बनोस्, सुस्वास्थ्य तथा दीर्घायुको वर्ष बन्न सकोस् उहाँले शुभकामना व्यक्त गर्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter