कोरोना संक्रमितको उपचारमा डोर टु डोर टिम बन्ने : सरकारका प्रवक्ता

काठमाडौं, वैशाख २४ गते । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कोभिड–१९ संक्रमितको उपचारका लागि सरकारले डोर टु डोर टिम निर्माणको तयारी गरिरहेको बताउनुभएको छ ।

विश्वव्यपाीरुपमा फैलिएको दोस्रो लहरको कोरोना महामारीले देशमा अप्ठ्यारो परिस्थती सिर्जना गरिरहेको अवस्थामा परिवारका सबै सदस्यहरु पनि कन्ट्रयाक्ट् ट्रेसिङमा परिरहेका बेला बेसहारा बनेका संक्रमितहरुको उपचारका लागि यसखाले टिमको निर्माण हुन लागेको मन्त्री गुरुङले बताउनुभयो ।

वीर अस्पतालमा पाँच सय शैयाको उपचार गर्न मिल्ने संरचना निर्माण भइरहेको पनि उहाँले बताउनुभयो । छैठौं राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा उहाँले कोभिड संकटको अवस्थामा जनमानसमा त्रास नफैलाउने र सकारात्मक र सहयोग पुग्ने खालको समाचार सम्प्रेषण गरेर संकट समाधानका लागि भूमिका खेल्नका लागि पत्रकारहरुको विशेष टिम समेत निर्माण हुने बताउनुभयो । ता कि, कोरोना कै समाचार सुनेर विगतमा जस्तो कसैले पनि आत्महत्या गर्न नपरोस्, यसका लागि मन्त्रालयले आवश्इक पहल गरिरहेको मन्त्री गुरुङले जानकारी दिनुभएको छ ।

१६ पत्रकार सम्मानित हुने

यसैबीच राससका अनुसार छैटौँ राष्ट्रिय पत्रकारिता दिवस–२०७८’ का अवसरमा सरकारले १६ पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । दिवसका अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा यहाँ आज आयोजित कार्यक्रममा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले ‘वरिष्ठ पत्रकार सम्मान–२०७६’ अग्निशिखा, मरणोपरान्त (काठमाडौँ) र हर्ष सुब्बा(सुनसरी) लाई प्रदान गरिने घोषणा गर्नुभयो ।

त्यसैगरी मन्त्रालयले २०७७ सालको सोही पुरस्कार रघु मैनाली (काठमाडौँ) र शार्दूल भट्टराई (काठमाडौँ) लाई प्रदान गर्ने छ । पुरस्कारको राशि जनही रु दुई लाख हुने छ । ‘राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७६’ उजिर मगर, बाग्लुङ), मात्रिका पौडेल (रामेछाप), सङ्गीता खड्का (काठमाडौँ), शेषराज दाहाल (सिन्धुली), हेमकान्तबहादुर बिक (बाँके) र शीतल शाह (धनुषा) लाई प्रदान गरिने भएको छ । विसं २०७७ को सोही पुरस्कार दिलीप थापा मगर (भक्तपुर), दीपेश न्यौपाने (मोरङ) दुर्गाप्रसाद शर्मा (पर्वत), शुरोजङ्ग पाण्डे (दोलखा), नितु पण्डित (नुवाकोट) र पुनम पौडेल (ललितपुर) लाई प्रदान गरिने भएको छ । पुरस्कारको राशि जनही रु एक लाख रुपैयाँ रहने छ । सो पुरकार उपयुक्त समयमा प्रदान गरिने छ ।

सोही अवसरमा सञ्चारमन्त्री पार्वत गुरुङले कोरोना भाइरस नियन्त्रण र रोकथाम गर्न सरकार संवेदनशील र जिम्मेवार भएर लागिपरेको जानकारी दिनुभयो । सरकारका प्रवक्ता गुरुङले भन्नुभयो, “उपचारका क्रममा कमी देखिएका औषधि, अक्सिजन, सिलिण्डरलगायत सामग्री चीन र भारतबाट ल्याउने तयारी भइरहेको छ, त्यसैगरी आइयियु बेड बढाउनेबारे काम भइरहेको छ ।”

उहाँले कोरोनाबारे भ्रम र आतङ्क फैलाउनेभन्दा पनि जनतामा आशा जगाउने गरी सकारात्मक सन्देश र समाचार सामग्री सम्प्रेषण गर्न आमसञ्चारमाध्यम र सोसल मिडिया प्रयोगकर्तालाई आह्वान गर्नुभयो । मन्त्री गुरुङले भन्नुभयो, “पत्रकारले जस्तो लेखेप नि हुन्छ भन्ने हुँदैन, उसले निश्चित दायरा, मापदण्ड र आचारसंहिताभित्र रहेर लेख्नुपर्ने हुन्छ, सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि आग्रह गर्दछु, जनतालाई आतङ्कित हुने गरी सामग्री पोष्ट नगर्नुहोस् ।” सञ्चारमाध्यमले कोरोनाबारे सकारात्मक सन्देश दिने खालका भन्दा पनि भ्रम सिर्जना गर्ने गरी क्षणिक बिक्री हुने समाचार सामग्री सम्प्रेषण गरेको उहाँको भनाइ थियो ।

उहाँले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना, पत्रकारको प्रेस पास व्यवस्थापन र पत्रकार कल्याणकारी कोषलगायत विषयलाई आगामी नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकताका साथ समावेश गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले कोरोना व्यवस्थापनका निम्ति सबै राजनीतिक दल एक जुट हुनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले पत्रकारिता क्षेत्रलाई संस्थागत गर्दै जीवन्त पेशाका रुपमा अगाडि बढाउनुपर्ने बताउँदै कोरोनाका समयमा मिडियाले सकारात्मक सन्देश सम्प्रेषण गर्ने अपेक्षा गर्नुभयो ।

मन्त्रालयले ‘अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कौँ’, ‘बेलाबेलामा साबुनपानीले हात धोऔँ’, ‘सेनिटाइजरले हात सफा गरौँ’, हात नमिलाऔँ बरु टाढैबाट नमस्कार गरौँ’ र ‘कोरोना संक्रमणको शंका लागे तुरुन्त परीक्षण गरौँ’ जस्ता सन्देश सम्प्रेषण गर्न मिडियालाई आह्वान गरेको छ । मन्त्रालयले कोरोनाबारे जनचेतनामूलक समाचार र कार्यक्रमबारे योजना बनाउन सम्बन्धित संघसंस्थाका सहभागितामा सचिवालय पनि गठन गरेको छ ।

नेपालमा गोरखापत्र प्रकाशनको पहिलो दिन वैशाख २४ गतेलाई राष्ट्रिय पत्रकारिता दिवसका रुपमा मनाउने गरिएको छ । विसं १९५८ देखि साप्ताहिक रूपमा गोरखापत्र प्रकाशन शुरु भएको थियो ।

गोरखापत्रको १२१ औँ वार्षिकोत्सव तथा छौौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा मन्त्री गुरुङले सम्पूर्ण सञ्चारकर्मीमा शुभकामना व्यक्त गर्नुभएको छ । सरकारले ६ वर्षअघि राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरेको थियो । हरेक वर्ष विविध कार्यक्रमका साथ दिवस मनाइँदै आए पनि यस वर्ष कोरोना भाइरसका कारण मनाउन नसकिएको मन्त्रालयले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter