पर्यटकीय गन्तव्य हिल स्टेसन

जुद्धबहादुर गुरुङ /‘हिल स्टेसन’ भन्नासाथै पहाडी बस्ती वा डाँडामा अवस्थित सानो बस्तीको झझल्को गराउँछ । हिल स्टेसनको ठ्याक्कै मिल्ने नेपाली शब्द नभेटिए पनि पहाडी बस्ती वा शीतल बस्ती÷टापुभन्दा अत्युक्ति नहोला । हिल स्टेसन भारतीय उपमहाद्वीपमा समयअनुसार विभिन्न उद्देश्यका लागि स्थापना गरिएको पाइन्छ ।

यो स्थानलाई सन् १८०० भन्दा अघि भारतमा बेलायती अधिकृतहरूका परिवारका सदस्यहरूलाई उपचार गरिने केन्द्रको रूपमा प्रयोग गरिन्थ्यो । बेलायती अधिकृतका परिवारका सदस्य बिरामी हुँदा मात्र होइन, अधिकृत सैनिकहरू घाइते भएमा पनि उपचार गरिने ठाउँ थियो यो ।

बेलायतीहरूले भारतका विशाल समथर मैदानको बीचमा विद्यमान ठूला ठूला सहर वा घना बस्तीभित्र रन्किरहेको घामको राप छल्न र शीतलताको खोजीमा उत्तरी भारततर्फ अवस्थित पहाडी क्षेत्रलाई रोजे, जसलाई अङ्ग्रेजीमा ‘हिल स्टेसन’ भन्न थालियो । त्यसबेला बेलायती अधिकारीहरूले हिल स्टेसनलाई सप्ताहान्तको बिदा मनाउने उपयुक्त गन्तव्यको रूपमा पनि प्रयोग गरे । उनीहरूले ग्रीष्मकालीन प्रचण्ड गर्मीबाट थकित शरीरलाई केही दिनका लागि छुटकारा दिलाउन वा शीतल बिहारका लागि वा बिदा मनाउन तथा आराम गर्नका लागि यी थलोहरू प्रयोग गर्दै आएका थिए ।

यसरी विभिन्न प्रयोजनका लागि स्थापित भारतको प्रख्यात हिल स्टेसनहरूमा हालको हिमाञ्चल प्रान्तको राजधानी सिम्लालाई पनि लिन सकिन्छ । अझ प्राकृतिक सुन्दरताले भरिपूर्ण तथा आनन्दमयी शीतल हावापानीका कारणले नै होला सिम्लालाई बेलायतीहरूले सन् १८६४ मा भारतको ‘ग्रीष्मकालीन राजधानी’ भनी घोषणा समेत गरे । यसपश्चात् सिम्लालाई राजनीतिक तथा रणनीतिक महŒवको केन्द्रको रूपमा पनि परिणत गरे ।

विगतमा विभिन्न उद्देश्यका लागि स्थापना गरिएका हिल स्टेसनहरू मुख्यगरी पर्यटन वा मनोरञ्जनात्मक गतिविधिसँग सम्बन्धित छन् । चिसो हावापानी भएको युरोपेली मुलुकबाट आएका बेलायतीहरू प्रचण्ड गर्मी हुने उष्णप्रदेश भारतको तातो खप्न नसकी शीतलता खोज्दै पहाडी भेकतिर लागे । सामान्यतया यस किसिमको स्थानहरूका लागि समुद्री सतहबाट लगभग एक हजारदेखि पच्चीस सय मिटरसम्मको उचाइलाई छनोट गरिएको पाइन्छ । हिल स्टेसनहरू आफ्नो मौलिक पहिचान दिन सफल भई विश्व बजारमा समेत स्थापित भएका छन् । भारतको दार्जिलिङ, सिक्किमको गान्तोक सहरलगायत विभिन्न प्रान्तहरूमा छरिएर रहेका श्रीनगर, नैनिताल, माइसुरी, मनाली, सिलोङ, मुनार, गुलमार्ग, महावलेश्वर, हल्दावनी, अमरकान्टक लगायतका हिल स्टेसनहरू भारतका उत्कृष्ट १० गन्तव्यभित्र पर्छन् ।

विश्वभर विभिन्न महादेशमा हिल स्टेसनहरू स्थापना भएका छन् । बेलायती–भारतीय शैलीको सिको गरेर होला विश्वभर हिल स्टेसनलाई पर्यटकीय गन्तव्यको रूपमा स्थापित गरिएको छ । एसियामा अन्य महादेशभन्दा धेरै हिल स्टेसन छन् । यहाँ तीन सयभन्दा बढी हिल स्टेसन रहेको पाइन्छ । यद्यपि अफ्रिका महादेशमा आठ, दक्षिण अमेरिकामा दुई, युरोपमा दुई, उत्तर अमेरिकामा पाँच, अस्ट्रेलियामा २५ हिल स्टेसनहरू सञ्चालनमा छन् । एसिया महादेशको भारतमा मात्र १५० भन्दा बढी हिल स्टेसनहरू छन् । यसैगरी पाकिस्तान र इन्डोनेसियमा पनि दुई दर्जनभन्दा बढी छन् । चीनजस्तो विशाल देशमा भने पाँच वटा मात्र छन् ।

नेपाल सानो भए पनि यहाँको भौगोलिक विविधता बढो गजबको छ । भौगोलिक रूपमा हिमाल, पहाड र समथर मैदान रहेको नेपालमा विभिन्न किसिमका हावापानी पाइन्छ । यसले सिर्जित जैविक तथा सामाजिक विविधतालगायत अन्य कारणहरूले मात्र नभई भारतमा बेलायती शासकको सांस्कृतिक प्रभावले पनि होला यहाँ लगभग तीन दर्जनभन्दा बढी हिल स्टेसनहरू छन् । पोखरा, सराङकोट, लुम्ले, काँडे, बागलुङ, जोमसोम, घोडेपानी, गोर्खा, तानसेन, तम्घास, बन्दीपुर, धुलिखेल, नगरकोट, ककनी, दामन, चरिकोट, स्याङ्बोचे, लुक्ला, नाम्चेबजार, धरान, भेडेटार, धनकुटा, इलाम, सिमिकोट आदि नेपालका प्रख्यात तथा प्रचलित हिल स्टेसन हुन् ।

सरकारको प्रयास

नेपाली समाजको आर्थिक सामाजिक परिस्थितिमा व्यापक परिवर्तन भएको छ । नयाँ पुस्ताका मानिसहरू भ्रमणमा रुचि राख्छन् । यसैले आन्तरिक पर्यटकको सङ्ख्या पनि दिनहँु बढिरहेको छ । साथै केही दशक अघिदेखि नेपालको भौतिक विकास तीव्र गतिमा भएको छ । नेपालका महाभारत क्षेत्रका अधिकांश डाँडापाखाहरूमा पुग्न धेरैजसो आधारभूत पूर्वाधार जस्तै सडक, खानेपानी, विद्युत्, आवास (होटेल र रिसोर्ट), रेस्टुरेन्ट, आधुनिक सञ्चारजस्ता सुविधाको पहुँच तथा विस्तार भएको छ । त्यसैले विद्यमान दुई दर्जनभन्दा बढी हिल स्टेसनलाई अझ व्यवस्थित गर्दै नयाँ गन्तव्यको खोजी गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ । विगत दुई दशकदेखि नेपालमा घरबास कार्यक्रम सञ्चालनमा छन् । यस कार्यक्रमले नयाँ हिल स्टेसन विकास गर्न सकिने सम्भावना ह्वातै बढेर गएको छ । अझ गण्डकी प्रदेश सरकारले तीन सय घरबास कार्यक्रम स्थापना गर्ने अभियान नै सञ्चालनमा ल्याएको छ । यसैगरी बागमती र लुम्बिनी प्रदेश सरकारले पनि हिल स्टेसनहरूको परिकल्पना गरी योजनाहरू तयार गरेका छन् । बागमती प्रदेशले आर्थिक वर्ष २०७५÷०७६ देखि क्रमशः नुवाकोटको ककनी, मकवानपुरको चित्लाङ, रामेछापको शिवालय, सिन्धुपाल्चोकको मुडे, दोलखाको जिरी, सिन्धुलीको सिन्धुलीगडी, धादिङको रुवी उपत्यका, रसुवाको आमाछोडिमो, चिवतनको सिराइचुली र ललितपुरको कालोश्वर महादेवलाई यही प्रयोजनका लागि छनोट गरेको छ । यसैगरी लुम्बिनी प्रदेशले आ. व. २०७७÷०७८ देखि पाँच स्थान छनोट गरेको छ । ती स्थान क्रमशः रोल्पाको होलेरी, प्युठानको स्वर्गद्वारी, आर्घखाँचीको नरपानी, गुल्मीको रेसुङ्गा हुन् । यी स्थानमा हिल स्टेसन बनाउने योजना रहेको छ ।

सङ्घीय सरकारले व्यवस्थित तथा सुविधा सम्पन्न नयाँ हिल स्टेसनहरू तयार गर्ने योजना अघि सारेको छ । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष २०७७÷०७८ मा प्रत्येक प्रदेशमा न्यूनतम एक हिल स्टेसनको योजनाअन्तर्गत सात स्थानको सम्भाव्यता अध्ययन गरेको छ । प्रस्तावित यी हिल स्टेसनहरूले छिमेकी देशका भारतीय पर्यटकलाई लक्षित गरेको छ । त्यसैले प्रस्तावित यिनै हिल स्टेसनहरूको छनोटमा चुरे पर्वत केही उत्तरतर्फको क्षेत्रलाई लक्षित गरेको छ । तराईको समथर मैदानभन्दा केही उच्च स्थान, शीतल हावापानी, मनोरम दृश्यावलोकन (खासगरी हिमाल, वनजगङ्ल, नदीनाल, तालतलाउ तथा रमाइला बस्तीहरू) र सहर वा घनाबस्तीबाट केही किलोमिटर दूरी, यातायातको सुविधालाई मापदण्ड बनाएको छ । सरकारबाट प्रस्तावित हिल स्टेसनहरू प्रदेश १ मा इलामको श्रीअन्तु डाँडा, प्रदेश २ मा सिराहाको उत्तरबाहिनी क्षेत्र, बागमती प्रदेशमा सिन्धुलीको सिन्धुलीगढी, गण्डकी प्रदेशमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को होप्सीकोट क्षेत्र, लुम्बिनी प्रदेशमा अर्घाखाँचीको नरपानी÷मसिनेडाँडा क्षेत्र, कर्णाली प्रदेशमा दैलेखको गुराँसे डाँडा क्षेत्र, सुदूरपश्चिमको खानीडाँडा÷भातकाँडा क्षेत्रको सम्भाव्यता अध्ययन सम्पन्न भइसकेका छन् । सङ्घ र प्रदेश सरकारका हिल स्टेसन स्थापना गर्ने यी योजनाहरू क्रमगत हुन् । त्यसैले स्थानीय तहको समन्वयमा प्रभावकारी कार्यान्वयन हुनेछ । यसरी प्रादेशिक तथा सङ्घीय सरकारले लक्ष्य गरेको हिल स्टेसनहरू छिट्टै कार्यान्वयनमा आउने अपेक्षा गर्न सकिन्छ ।

कहाँ बनाउने ?

नेपालको महाभारत पर्वत शृङ्खला क्षेत्र हिल स्टेसनका लागि उपयुक्त स्थान हो । सहरी कोलाहल तथा व्यस्त जीवनबाट केही समय छुटकारा लिनका लागि यस्तो क्षेत्र उपयुक्त हुन्छ । घनाबस्तीबाट केही किलोमिटर टाढा हुनुका साथै समुद्री सतहबाट केही मिटर उचाइ (न्यूनतम एक हजार मिटरभन्दा बढीको उचाइ) मा अवस्थित, चिसो हावापानी, मनोरम दृश्य, खानाको स्थानीय परिकार र न्यूनतम एक दिन सहजै बिताउन सकिने गन्तव्य छनोट गर्नु उचित हुनेछ । छनोट गरिएका पहाडी थलोहरूमा खासगरी सानो बस्ती, पहुँचको सुविधा, रात बिताउन आधारभूत सुविधा जस्तै– पानी, बिजुली बत्ती, होटल वा रेस्टुरेन्ट, शौचालय, स्वच्छ तथा शान्ता वातावरणलगायत आधुनिक सुविधा वाईफाई वा इन्टरनेट भएको क्षेत्रलाई रोज्नु उपयुक्त हुनेछ । स्थानीय कृषि उत्पादनलाई प्राथमिकता दिँदै आर्थिक तथा सामाजिक विकासमा समेत सकारात्मक प्रभाव पार्ने गन्तव्यहरू छनोट गर्नु अझ उत्तम हुनेछ । यस अभियानमा सरकारको मात्र प्रयास नभई निजी क्षेत्र पनि संग्लन हुनुपर्छ । उदाहरणका लागि काठमाडौँ उपत्यकाको पश्चिममा अवस्थित चन्द्रागिरि हिललाई पनि लिन सकिन्छ ।

हाल सञ्चालित घरवास कार्यक्रमका थुप्रै गन्तव्यमा भौतिक पूर्वाधारले पूर्ण भई आन्तरिक तथा बाह्य पर्यटकलाई गुणस्तरीय सेवा र सुविधा प्रदान हुँदै आएका छन् । त्यसैले केही विशेष किसिमका निश्चित मापदण्ड बनाएर सञ्चालित घरबास कार्यक्रमहरूलाई हिल स्टेसनको रूपमा रूपान्तरण गर्न सकिन्छ । यसरी हेर्दा गण्डकी प्रदेशमा लमजुङको घलेगाउँ र काउलेपानी, स्याङ्जाको सिरुवारी, म्याग्दीको घोडेपानी र पुन हिल, कास्कीको घान्द्रुक, ल्वाङ, कालावाङ र सिक्लेस, गोर्खाको बारपाक, तनहुँको, बन्दीपुर र मनाहुकोटका क्षेत्र आदि स्थानहरूलाई हिल स्टेसनको रूपमा विकासित वा रूपान्तरण गर्न सकिन्छ ।

विगतदेखि प्रचलनमा रहेका हिल स्टेसनहरूको गुणस्तर सुधार गरी प्रवद्र्धन गर्नु पनि अर्को एक उत्तम विकल्प हुनेछ । सङ्घीय सरकारले लक्षित गरी प्रस्तावित हिल स्टेसनलाई आधुनिक सुविधाले सम्पन्न गराउन जरुरी छ । त्यसमा स्थानीय परिकारको मिठो स्वाद, हार्दिकता, आतिथ्यता, पदयात्रा, चरा अवलोकन, योग, खेलकुद, नाचगान, बगैँचा वा पार्क, प्राकृतिक तथा सांस्कृतिक सङ्ग्रहालय तथा बस्ती अवलोकन, स्थानीयसँग अन्तत्र्रिmयालगायतका मनोरञ्जनात्मक क्रियाकलापले पर्यटकलाई थप आर्कषण गराउन सहयोग गर्नेछ । यसबाट कोरोना महामारीबाट थला परेको पर्यटन क्षेत्रलाई उठाउन सहज हुनेछ । साथै देशको आर्थिक विकासमा उल्लेखनीय योगदान पुग्ने विश्वास पनि गर्न सकिन्छ । देशले लक्षित गरेको आर्थिक उन्नति र दिगो विकास लक्ष्य प्राप्तिका लागि सहयोग पुग्नेछ । 

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

TOP NEWSview all

Sunapati Rural Municipality provided assistance

COVID-19 prohibitory measures causes huge loss for Bhaktapur Vegetable farmers

KMC to build 100-bed special hospital

Nepal’s proposal to graduate from LDC status to be presented in UNGA for endorsement

World Bank to provide US $ 60 million to strengthen Nepal’s higher education




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter