कुखुराको सुलीबाट बिजुली ! ६२ केभिएको जेनेरेटर

नारायण अधिकारी / चितवन, साउन ३१ गते । कुखुराको सुलीबाट ६२ केभिएको जेनेरेटर चलिरहेको छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । पूर्वी चितवनका व्यवसायी अर्जुन अर्यालले आफ्नै फर्ममा सङ्कलन भएको कुखुराको सुलीबाट बिजुली उत्पादन गरी नयाँ कामको सुरुआत गर्नुभएको छ । उत्पादित बिजुली कुखुराका खोरमा प्रयोग गरिइएको छ । उहाँका अनुसार सुलीबाट मासिक रु. एक लाख हाराहारीको विद्युत् उत्पादन भएको छ ।

खैरहनी नगरपालिका– १ ज्यामिरेमा रहेको अन्नपूर्ण पोल्ट्री बिडर्स फार्म प्रालीमा जडित बायोग्यास प्लान्टबाट विद्युत् उत्पादन हुँदै आएको हो । फार्मले ६२ केभिएको जेनेरेटर ग्यासबाटै सञ्चालनमा ल्याएको छ । यससँगै तीन फार्मलाई आवश्यक पर्ने विद्युत् यहीबाट उत्पादन भएको छ । फार्मका सञ्चालक अर्यालका अनुसार सुरुमा रु. १२ लाख खर्च गरेर ग्यास उत्पादन थालिएको हो । यसको प्रभावकारिता राम्रो देखिएपछि रु एक करोड ६५ लाख खर्च गरेर अत्याधुनिक सिएसटिआर प्रविधिअन्तर्गत ५०० घनमिटरको आधुनिक डोमबाट ग्यास उत्पादन हुँदै आएको छ । यसका लागि विश्व बैंकले ऊर्जा विकास कम्पनीमार्फत रु. ५२ लाख अनुदान दिएको उहाँको भनाइ छ ।

सुलीबाट ग्यास उत्पादन भएपछि गन्ध हराउने र मल थप प्रभावकारी हुने भएपछि उहाँ यसप्रति आकर्षित हुनुभएको हो । यससँगै इन्धन बचाउने काममा ग्यास प्रभावकारी भएको छ । निकट भविष्यमा दुई हजार घनमिटरको डोमबाट बायोग्यास उत्पादन गर्ने तयारी उहाँको छ ।

उहाँका अनुसार बैंकले प्रस्ताव स्वीकृत गरेको छ । यो परियोजना सम्पन्न हुँदै गर्दा दुई लाख १५ हजार कुखुरालाई आवश्यकपर्ने सम्पूर्ण इन्धन ग्यासबाट पूरा हुनेछ । यसका लागि करिब रु १२ करोड खर्च हुनेछ । सोमध्ये रु चार करोड विश्वबैंकले अनुदान दिने उहाँको भनाइ छ । यसबाट २५० केभिएको जेनेटर चल्नेछ । यसले अत्याधुनिक वातानुकूलित खोरमा आवश्यक विद्युत् पूरा गर्ने उहाँले बताउनुभयो ।

अहिले खोरमा एक लाख कुखुरा छन् । केही महिनाभित्रमा दुई लाख १५ हजार पु¥याउनका लागि आधुनिक खोर बनिरहेका छन् । नेपालमा उच्चस्तरको केज प्रविधि भित्र्याउने अर्याल सरकारको जागिर छाडेर यो पेशामा लाग्नुभएको हो । विसं २००८ असार ११ गते काठमाडौँको ज्याठामा जन्मिनुभएका उहाँले अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । बुबा अदालतमा जागिर गर्ने हुँदा उहाँले देशका विभिन्न जिल्लामा रहेका जेपी हाइस्कुल, भुटनदेवी हाइस्कुल, ठाकुरराम क्याम्पस, त्रिचन्द्र कलेज, शङ्करदेव क्याम्पसलगायतमा अध्ययन गर्नुभएको हो ।

अठार वर्ष नेपाल बैंकमा जागिर खाएपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अर्याललाई विसं २०५० मा माध्यमिक शिक्षा विकास परियोजनाको निर्देशकमा नियुक्त गरेसँगै उहाँ राजनीतिक नियुक्तितर्फ लाग्नुभएको थियो । लम्जुङका नेपाली काँग्रेसका नेता श्रीकान्त अधिकारी र उदयनाथ अधिकारी लगायतको नाता सम्बन्धका कारण राजनीतिमा प्रवेश गर्नुभएका उहाँ निर्देशक पदबाट हटेसँगै आफ्नै व्यवसाय थाल्नुभएको हो ।

उहाँकी बहिनी डिना उपाध्याय अहिले पनि काँग्रेसको केन्द्रीय नेता हुनुहुन्छ । विसं २०५२ मा चितवन झरेर उहाँले कुखुरापालन व्यवसाय शुरु गर्नुभएको हो । उहाँका श्रीमती सुमा अर्यालले जनकपुर चुरोट कारखानाको अधिकृतको जागिर छोडेर यो पेशा अँगाल्नुभएको हो ।

अध्ययनका कारण उहाँहरुले सामान्य नभएर अत्याधुनिक प्रविधिमा जानुपर्छ भन्ने सोचका साथ व्यवसाय शुरु गर्नुभएको हो । सो ठाउँमा दुई बिघा १० कठ्ठा जग्गा खरिद गरेर उहाँले अटोमेटिक केजमार्फत व्यवसाय शुरु गर्नुभएको हो । उहाँले भन्नुभयो, “नेपालमा हामीले पहिलो पटक आटोमेटिक केज भित्र्याएका हौँ ।” उहाँहरुको क्लोज हाउसमा कटनले बारिएको छ भने पूर्णरुपमा क्लोजहाउस विकास गरिने जनाइएको छ ।

उहाँले सुुरुमा ६० हजार कुखुरापालनबाट पेशा थाल्नुभएको हो । केजमा उत्पादन भएको अण्डा ठूलो र आकर्षक हुने हुँदा उहाँको अण्डाको माग राम्रो छ । भविष्यमा यस पेशालाई आधुनिक बनाउने उहाँको योजना छ । सत्तरी वर्षका उमेरमा पनि युवाहरुसँग व्यावसायिक प्रतिस्पर्धा गर्न सफल उहाँ पोल्ट्री क्षेत्रमा नेपालमा चिनिएका व्यक्ति हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “खेर जाने सुलीलाई उपयोग गर्न सक्यौँ भने कसैका खोरमा विद्युत् किन्नुपर्दैन ।” यसो त बायोग्यास बनाउनुपूर्व गन्धका कारण स्थानीयले समयसमयमा विरोध गर्दै आएकामा अहिले खोरभित्रमात्रै होइन, बायोग्यासपछि निस्किएको मलमा गन्ध आउँदैन । यो मलमा नाइट्रोजन प्रशस्त हुने हुँदा उर्वर मानिन्छ । यद्यपि उहाँले खोर वरिपरि अग्लो बार र हरियाली बनाउनुभएको छ । उहाँको फार्म पुग्दा जोकोहीलाई तारे होटल पुगे जस्तो भान हुन्छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter