पन्ध्र लाख युवालाई उत्पादनमा लगाउने योजना बनाउन आग्रह

योङ कम्युनिस्ट लिग नेपालले शनिबार भर्चुअल रूपमा आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै मन्त्री शर्माले युवालाई सङ्गठित गरी समाजवादी अर्थतन्त्र निर्माणमा परिचालन गर्न आग्रह गर्नुभएको हो ।
उत्पादन अभियानमा युवा दिलोज्यानले नलागेसम्म संविधानले निर्दिष्ट गरेको समाजवादी अर्थतन्त्रमा जान सम्भव नभएको भन्दै उहाँले देशका १५ लाख युवालाई उत्पादन र रोजगारीमा लगाउने गरी सङ्गठित गर्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै समाजमा भएका सांस्कृतिक विभेदका विरुद्ध लड्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणको बाटोमा अग्रसर हुन मन्त्री शर्माले आग्रह गर्नुभयो । भ्रष्टाचारको अन्त्य र सदाचारको संस्कृति निर्माणका लागि युवाको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै उहाँले त्यसतर्फ अघि बढ्ने गरी कार्यक्रम तय गर्न सुझाव दिनुभयो ।