• Tuesday, April 15, 2025

दश दिनमै दुई करोड २८ लाख रुपियाँ आरोहण शुल्कबापत राजस्व संकलन



काठमाडौं, भदौ २६ गते । हिमाल आरोहण शुल्क बापत पर्यटन विभागले १० दिनमा दुई करोड २८ लाख १३ हजार ४९४ रुपैयाँ राजस्व संकलन गरेको छ । विभागले भदौ १५ गतेदेखि आरोहण अनुमति दिन शुरु गरेसँगै शुक्रबारसम्ममा मनास्लु, धौलागिरी, कञ्चनजंगा र मरियाङ हिमाल आरोहण शुल्कबापत ठूलो मात्रामा राजस्व संकलन गरेको जनाएको छ ।

यीमध्ये सबैभन्दा धेरै मनास्लु हिमाल आरोहण शुल्कबापत एक करोड ८० लाख ९९ हजार ७२० रुपियाँ, धौलागिरी हिमाल आरोहण शुल्कबापत ४२ लाख १० हजार ६०९ रुपियाँ, कञ्चनजंगा हिमाल आरोहण शुल्कबापत तीन लाख १४ हजार ६८५ रुपैयाँ र मरियाङ हिमाल आरोहण शुल्कबापत एक लाख ८८ हजार ४८० रुपियाँ संकलन भएको पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले जानकारी दिनुभयो ।

मरियाङ हिमाल आरोहणका लागि आठ जना, कञ्चनजंगा हिमाल आरोहणका लागि तीन जना, धौलागिरी हिमाल आरोहणका लागि ४० जना र मनास्लु हिमाल आरोहणका लागि १८६ जना गरी जम्मा २३७ जना आरोहीले हिमाल आरोहणका लागि अनुमति लिइसकेको पर्यटन विभागले जनाएको छ ।

कोरोना संक्रमणको दर कम भएसँगै पर्वतीय पर्यटकहरुको संख्या पनि बढ्दै गएकाे व्यवसायीहरुले जनाएका छन् । यो महिना मनास्लु हिमाल आरोहणका लागि १८६ आरोहीले अनुमति लिएसँगै आधारशिविरमा भीड लाग्न शुरु गरेको छ । आरोही, गाइड, किचन टिम लगायत गरी एक हजारभन्दा बढी आधारशिविरमा पुग्ने आरोहण आयोजना गर्ने कम्पनीहरुले जनाएका छन् ।

लामो समय खर्च गर्नुपर्ने भएकाले अग्रिम बुकिङ पनि सहज हुँदा पर्वतीय पर्यटक (आरोही) आउन सहज भएको तर पदयात्रामा आउने पर्यटकहरु भने सरकारले १० दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने नियम बनाएपछि बुकिङ नभएकाले शुन्यजस्तै भएको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालका अध्यक्ष खुम सुवेदीले बताउनुभयो ।

छोटो समय अर्थात् एक महिनाका लागि नेपालका विभिन्न क्षेत्रको पदयात्रामा आउने पर्यटकहरु क्वारेन्टिनकै व्यवस्थाले बुकिङ रद्ध गर्दा पर्यटक अगमनमा कमी आएको उहाँको भनाइ छ । यता, कोभिड महामारीकै वीचमा पनि यस वर्ष सगरमाथा आरोहणका लागि आउनेको संख्या हालसम्मकै उच्च रहेको थियो । यस अवधिमा ३७६ जना विदेशी आरोहीले आरोहणका लागि अनुमति लिएका थिए ।



Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter