कार्वन उत्सर्जन कम गर्न सम्बद्ध पक्षकाे जोड

काठमाडौँ, असोज १८ गते । कार्वन उत्सर्जन कम गर्ने गरी शहरी पूर्वाधार निर्माणका योजना निर्माण गरिनुपर्नेमा जोड दिइएको छ । विश्व बसोवास दिवसका अवसरमा आज शहरी विकास तथा भवन निर्माण विभाग र संयुक्त राष्ट्र सङ्घीय मानव बसोवास कार्यक्रम (यूएन ह्याविट्याट) को संयुक्त आयोजनामा भएको कार्यशालामा राष्ट्रिय योजना आयोगका सदस्य डा पुष्परमण वाग्लेले भवन निर्माणमा स्थानीय साधनको उपयोग गरी ५८ प्रतिशत कम कार्वन उत्सर्जन गर्न सकिने बताउनुभयो ।

देशभरका २९३ नगरपालिकामा ६२.२ प्रतिशत मानिस बसोवास गर्ने भएकाले वातावरण मैत्री विकास निर्माणमा जोड दिन उहाँले आह्वान गर्नुभयो । शहरी विकास मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंहले सन्तुलित रुपमा शहरको विकास गर्ने गरी नीति तथा कार्यक्रम तय गरिएको जानकारीदिनुभयो । काठमाडौँ उपत्यकाका नगर प्रमुखहरु काठमाडौँ उपत्यका विकास प्राधिकरणको बैठकमा नआई प्रतिनिधिमात्र पठाउँदा कतिपय विकास निर्माणका काममा प्रभाव परेको उहाँको भनाइ थियो । छरिएका शहरलाई एकीकृत रुपमा विकास गर्न मन्त्रालयले कम्प्याक्ट सिटीको अवधारणा अघि सारेको छ ।

विभागका महानिर्देशक नवराज प्याकुरेलले शहरी क्षेत्रमा जनघनत्व बढ्दै गएकाले वातावरण मैत्री विकास गर्न आवश्यक नीति निर्माण गरी कार्यान्वयनमा लैजान लागिएको बताउनुभयो ।

पूर्व सचिव किशोर थापाले कार्वन उत्सर्जन कम गर्न निजी सवारी साधन र शहरी क्षेत्रमा भवन निर्माणलाई व्यवस्थित गरिनुपर्नेमा जोड दिनुभयो । पौराणिककालको द्वारका शहर समुद्रमुनिमा डुब्नुमा जलवायु नै कारक बनेकाले त्यसबाट पाठ सिकेर वातावरण मैत्री विकास निर्माणमा सरोकार भएका निकायको ध्यान जानुपर्ने उहाँले बताउनुभयो ।

इञ्जिनीयरिङ अध्ययन संस्थानका अजयचन्द्र लालले पुराना ५८ नगरपालिकाले मात्र कुल गार्हस्थ उत्पादनमा ५८ प्रतिशतभन्दा बढी योगदान गरेकाले त्यसको निश्चित प्रतिशत जलवायु परिवर्तनको व्यवस्थापनमा खर्च गर्न आग्रह गर्नुभयो ।

काठमाडौँ उपत्यका विकास प्राधिकराणका जिल्ला आयुक्त एकराज अधिकारीले उपत्यकाको विकास निर्माणका लागि एकीकृत रुपमा काम गर्ने गरी स्थापना भएको प्राधिकरणको कानून पुरानो भएकाले कतिपय विषयमा अस्पष्टता भई काम गर्न अप्ठ्यारो हुन थालेको बताउनुभयो । नेपालीपनको शहरी विकासको नमूना नभएकाले पनि वातावरण बिग्रन थालेको उहाँको भनाइ थियो ।

ललितपुर महानगरपालिकाका शहरी विकास विज्ञ प्रदीप अमात्यले उपत्यकालाई इको सिटी बनाउन १८ वटै नगरपालिकाका प्रमुखलाई बोलाएर छलफल गरिएको बताउनुभयो । नगर प्रमुखहरुको सुझावका आधारमा ललितपुर महानगरलाई इको सिटीका रुपमा विकास गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

स्मार्ट सिटीसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुहुँदै शहरी विकास तथा भवन निर्माण विभागका वरिष्ठ डिभीजनल इञ्जिनीयर मीरा ज्ञवालीले वातावरण मैत्री रुपमा नयाँ शहरी आयोजना अघि बढेकाले जलवायु परिवर्तनका असरलाई न्यून गर्न सहयोग गर्ने बताउनुभयो ।

सबैका लागि उपयुक्त आवास सुनिश्चित गर्दै दिगो शहरी विकास प्रवद्र्धन गर्ने उद्देश्यले विश्वको ध्यानाकर्षण गर्न विश्व बसोवास दिवस मनाउन शुरु गरिएको हो । सन् १९८६ देखि अक्टोबर महिनाको पहिलो सोमबार यो दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउन शुरु गरिएको हो । नेपालमा भने सन् २००१ देखि सरकारी एवम् गैर सरकारी क्षेत्रबाट यो दिवस मनाउन शुरु गरिएको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।

‘तीव्र शहरी क्रियाकलापको लक्ष्य ः कार्वनरहित विश्व’ नाराका साथ यस वर्षको विश्व बसोवास दिवस मनाइएको विश्व बसोवास दिवस मूल तयारी समितिका संयोजक विष्णुप्रसाद शर्माले बताउनुभयो । दिगो विकास लक्ष्यको लक्ष्य १.१ ले समावेशी तथा दिगो शहरीकरण गर्ने लक्ष्य लिएको छ । यस वर्षको नाराले शहरको बनोट, भवन तथा पूर्वाधार निर्माण, सवारी व्यवस्थापन, हरियाली क्षेत्र व्यवस्थापन आदि क्रियाकलाप गर्दा दिगो शहरीकरण तथा दिगो विकास लक्ष्यलाई ध्यानमा राखी न्यून कार्वन उत्सर्जन गर्ने गरी वातावरण मैत्री विकास गर्नुपर्नेमा जोड दिएको छ ।

वातावरण मैत्री शहरी विकास निर्माणमा तीनै तहका सरकारको ध्यान जानुपर्ने विभागको भनाइ छ । विश्व बैङ्कको तथ्याङ्क अनुसार सन् १९९० देखि हालसम्म शहरी जनसङ्ख्या चार गुणाले बढेर ४.२ अर्बभन्दा धेरै पुगेको छ । शहरीकरणका कारण वायुमण्डलमा कार्वनडाइअक्साइडको मात्रा बढी विश्व तापमान एक तिहाइभन्दा धेरै भएको विभागले जनाएको छ । विश्वका सबै सबै देशले बजेटको ठूलो हिस्सा शहरीकरणमा खर्च गर्दै शहरी व्यवस्थापनलाई मुख्य कार्यसूची बनाएका छन् ।

यस अवसरमा आवास कम्पनी लिमिटेड, युएन ह्याविट्याट, नगर विकास कोष, विभिन्न नगरपालिकाले समेत विविध कार्यक्रम आयोजना गर्न लागेको विभागले जनाएको छ । दिगो र वतावरण मैत्री शहरी विकासमा जोड दिँँदै ती कार्यक्रम गरिने छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter