मानवसेवामा रमाउँदै ‘बेसहाराकी आमा’

गलकोट, मङ्सिर ७ गते । बाइस वर्षको उमेरसम्म हेटौँडाकी सुमिरा लामालाई मानवसेवाबारे त्यति चासो थिएन । उमेरका कारण हुने चञ्चल स्वभाव, अध्ययनका लागि क्यापस आउजाउ र रमाइलोमै उहाँको दिनचर्या चलिरहेको थियो ।

उहाँ कहिले कलेज पढ्न छाडेर घुमघाम त कहिले आमाबासँग पैसा मागेर चलचित्रघरमा रमाउनुहुन्थ्यो । केही वर्ष यस्ता नियमितताबाट लामाको स्वभाव र दैनन्दिनमा परिवर्तन हुन समय नै लागेन । उनन्तीस वर्षीया लामा अहिले मानवसेवामा समर्पित भएको सात वर्ष पुग्यो । यस क्षेत्रमा एकछिनको रमाइलो र कसैलाई देखाउनका लागि मात्रै लागेको भए उहाँ अहिले यस क्षेत्रबाट अलग भइसक्नु हुन्थ्यो । उहाँमा जागेको मानवसेवा भाव झन्झन् बढ्दै गइरहेको छ । लाग्छ, लामाको बाँकी जीवन सेवामै समर्पित हुनेछ ।

एक सामान्य परिवारमा जन्मनुभएका लामाका आमाबाबुले उहाँका साथीहरूले जस्तै उहाँलाई जागिर खाएको देख्ने इच्छा थियो । तथापि उहाँ जागिरे साथीहरूभन्दा मानव सेवाको काम, त्याग र समर्पणका कारण अब्बल सावित हुन पुग्नुभयो । लामा चार वर्षदेखि मानव सेवा आश्रममा बागलुङ शाखाका संयोजकका रूपमा सडक मानवको उद्धार, अभिभावकविहीनका अभिभावक र बेसहाराको सहारा बनेर सेवामा समर्पित हुनुहुन्छ । मानव सेवाका दौरानमा थुप्रै कठिनाइ र समस्या झेल्दै आउनुभएका लामा अहिले आश्रममा स्वतःस्फुर्त रुपमा खटिरहनुभएको छ । “म आफैँ आश्चर्यमा छु, त्यो क्याम्पस पढ्दाको लक्ष्य, जीवन र क्षण अनि अहिलेको भोगाइ, मानव सेवाप्रतिको समर्पण, सोच र बेसहाराको सहारामा इँटा थप्दै हिँड्न पाएकामा भिन्नै अनुभव हुन्छ”, लामाले भन्नुभयो “मानिस जुन क्षेत्रमा लाग्छ, त्यही क्षेत्रमा आफ्नो सन्तुष्टि खोज्नुपर्छ, म मानव सेवामा सन्तुष्ट भएँ, अभिभावकविहीनहरूको अभिभावक बन्ने प्रयत्न गरेको छु, सकेजति मानव सेवामै समय खर्चनेछु ।” उहाँ अहिले साना बेसहारा बालबालिकाका आमा र हेरचाहका अभावमा बरालिएका मानिसहरूको अभिभावक बनिरहनुभएको छ । उहाँ अहिले अभिभावकविहीनहरूको जिम्मेवार र परिपक्व अभिभावक बन्न सफल हुनुभएको छ ।

लामालाई क्याम्पस छेउमै मानव सेवा आश्रम खुलेको तीन वर्ष भएको पत्तो नै थिएन । स्नातक अध्ययनरत लामाका साथीहरूले एउटा तालिम सञ्चालन हुँदैछ भन्ने खबर पु¥याए । नौदिने तालिम आश्रममै थियो । त्यसबेला अचानक लामामा तालिम लिने इच्छा पलायो तर मानव सेवा होइन, जागिरका लागि थप अनुभव आर्जन गर्न भनेर मात्रै । बाबाआमाको सोचसमेत छोरीलाई जागिरे बनाउने नै थियो । ज्ञान हस्तान्तरण तालिममा सहभागी भएको पहिलो दिनबाटै उहाँको मन बदलिन थाल्यो । उहाँमा मानवसेवाको भाव झल्कँदै गयो । उहाँले आश्रममा रहेका बालबालिका र आमाबुबाको अनुहारमा आफूलाई देख्न थाल्नुभयो । तालिमभरका अवधिमा उहाँका मनमा मानवसेवाको भाव भरिसकेको थियो । “तालिमका क्रममा आश्रमको काम, सेवा तथा उद्धार र उपचारका विषयमा ज्ञान लिएँ”, लामाले भावुक हुँदै भन्नुभयो “मलाई कुन बेला आश्रमले तान्यो पत्तै भएन, नौ दिनको दिनदेखि आश्रम छाड्नै मन लागेन ।”

एउटा प्रमाणपत्रका लोभमा सहभागी भएको तालिमले लामाको जीवन, सपना र योजना नै बदलिएको छ, अहिले मनबाट ‘जागिर’ हटिसकेको छ । उहाँ अहिले अनाथ, असहाय तथा सडक मानवका सेवामा अन्तर्मनले समर्पित हुनुहुन्छ । उहाँले आफ्नो व्यक्तिगत जीवनका बारेमा सोच्ने फुर्सदै पाउनुभएको छैन । अहिले तालिममा सहभागी लामा र आदर्श ढकाल मानव सेवामै हुनुहुन्छ । लामाले आश्रममा समय दिँदै स्नातक अध्ययन भने सकाउनुभयो । उहाँ घर छाडेर आश्रममा दिनरात व्यतीत गर्नुहुन्छ । उहाँले सेवा गरिरहेको आश्रम नै पहिलो आश्रम थियो । उहाँलाई मानव सेवा आश्रम यति छोटो समयमै राष्ट्रव्यापी हुनेछ भन्ने लागेको थिएन न यसलाई सबैले रुचाउने र सहयोग गर्नेछन् भन्ने थियो । एउटा जागिर खाएको भए लामाले परिवारलाई दुईचार पैसा दिन सक्नुहुन्थ्यो होला, सीमित साथीभाइले चिन्थे होला, आफ्ना आमाबुबाको लक्ष्य पूरा हुन्थ्यो होला तर मानव सेवामा लागेपछि उहाँको पृथक् परिचय बनिसकेको छ ।

लामाले आश्रममा सेवा गर्दै गर्दा हेटौँडा शाखा राम्रो हुँदै गयो । केन्द्रीय अध्यक्ष रामजी अधिकारीका सल्लाहमा उहाँलाई चितवन पठाइयो । त्यहाँ शुरुआती अवस्थामा उहाँलाई निकै सकस भयो । हेटौँडामा घर नजिकै थियो तर चितवन आएपछि उहाँलाई केही न्यास्रोसमेत लाग्यो । चितवनमा आश्रम व्यवस्थापन गर्न निकै कठिनाइसमेत भएको उहाँको अनुभव छ । “शुरुआती अवस्था थियो, आश्रमको दोस्रो शाखा थियो, व्यवस्थापन गर्न निकै चुनौती थियो, शुरुमा कसैको सहयोग थिएन”, लामाले भन्नुभयो “आश्रमबाटै भागेर जाऊँ जस्तै भयो तर ती अबोध बालबालिका र सहाराविहीन मानिसहरूको अवस्था देख्दा मन सम्हालेर सेवामा लागेँ ।”

उहाँ केही समयपछि काठमाडौं शाखामा जानुभयो । त्यहाँ पुगिसक्दा आश्रमका विषयमा केही सकारात्मक समाचार बाहिर आउन थाल्यो, सबैले चिन्न थाले आश्रमलाई सहयोग आउन थाल्यो । पछि २०७४ सालमा बागलुङ शाखाका लागि अध्यक्ष अधिकारीले तीन महिनाका लागि उहाँलाई बागलुङ पठाउनुभयो । तर, त्यस यता लामा बागलुङमै हुनुहुन्छ ।

जीवनकै लक्ष्य मानवसेवा

लामा आफ्नो जीवनको लक्ष्य नै मानवसेवा रहेको बताउनुहुन्छ । उहाँ आफू अब मानवसेवामै समर्पित भएर लाग्ने सुरमा हुनुहुन्छ । बागलुङ शाखालाई आफ्नै भवनबाट सेवा दिने बनाउने र अन्य शाखा विस्तारमा समेत भूमिका खेल्ने उहाँले बताउनुभयो । “जीवनको लक्ष्य नै मानवसेवा हो, भविष्यको कुरा त कसले देखेको छ र ? म सात वर्षदेखि यसै क्षेत्रमा छु, बागलुङ शाखाको भवनसमेत निर्माण गर्न शुरु भएको छ”, लामाले भन्नुभयो “कहिले गोरखा त कहिले पोखराको शाखामा तालिम तथा गोष्ठी चलाउन पुगेको छु, कहिले सडक नाटक चलाउन देश दौडाहामा ।” सडक नाटकमार्फत मानवीय सेवाको भाव झल्काउन ठूलो मद्दत पुगेको उहाँको अनुभव छ ।

सानै उमेरमा ४९ जना ‘बेसहाराकी आमा’ बन्न पाउँदा खुशी लागेको उहाँ बताउनुहुन्छ । मुठ्ठी दानबाट सञ्चालित बागलुङ शाखामा अहिले सडकापेक्षी, बेसहारा, अपाङ्गता र मनोरोगी आश्रित छन् । आश्रम स्थापनाका लागि शुरुआती चरणमा मनिष रायमाझी अहिले शिव खड्काका नेतृत्वमा सामाजिक स्वयंसेवी टोलीको सहयोग स्मरणीय रहेको लामा बताउनुहुन्छ ।

आश्रम नै घर

लामालाई आफू जन्मेको घर बिर्सिसके जस्तो लागेको छ । अहिले उहाँलाई आश्रम नै घर जस्तो लाग्छ । बाबाआमा भेट्न घर जान समेत उहाँलाई फुर्सद छैन । “अहिले त आश्रम आफ्नै घर जस्तो लाग्छ, बालबालिका आफ्नै छोराछोरी जस्तो लाग्छ”, लामाले भन्नुभयो । आफ्नो जन्मघर जानै फुर्सद नभएको बताउने लामाले घर पुगेपछि आमाले सुमिराका छोराछोरीले के खालान् भनेर सिन्कीको गुन्द्रकसहितका सामग्री पोको पारेर पठाउने गर्नुभएको छ ।

मकवानुपर, हेटौँडा–८ कमानेमा जन्मनुभएका लामाका बाबाआमाले शुरुआती चरणमा मानवसेवाप्रतिको छोरीको रुचिलाई नकार्नुभएको थियो । पढाइ, लेखाइ भएकी छोरी अर्काको सेवामा समय खेर फालेको भनी उहाँहरु रुष्ट हुनुभएको थियो । “एक पटक बाबाआमाले आश्रममा आउँदा शौचालय सफा गर्दै गरेको देख्नुभएछ, घरमा गएर पढेको छोरी यस्तो काम गर्छे भन्दै रुनुभएछ”, लामाले स्मरण गर्दै भन्नुभयो, “पछि विस्तारै गाउँलेबाट मेरो कामको प्रशंसा सुनेपछि चित्त बुझाउँदै जानुभएको रहेछ ।”

पछिल्ला वर्षमा मानवसेवामा समर्पित आफ्नी छोरीको साहस, योगदान र भूमिकाको चौतर्फी चर्चा, परिचर्चापछि अभिभावकले गर्व गर्ने गरेको लामा बताउनुहुन्छ । आश्रम स्थापनाको १० वर्षमा मानवसेवा आश्रमका २२ शाखा सञ्चालित छन् । अहिले बागलुङ शाखाको भवन निरयघाटमा निर्माणाधीन छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter