बेतबाँसका सामग्रीको बजार बढ्दै

एकिन्द्र तिमिल्सेना / टीकापुर (कैलाली), मङ्सिर १३ गते । कञ्चनपुरको पुनर्बास नगरपालिकाका भरतलाल विश्वकर्माले कैलालीको टीकापुर नगरपालिका–७, सत्तीमा तिलगङ्गा बेतबाँस उद्योग सञ्चालनमा ल्याउनुभएको छ । कैलालीस्थित सत्ती कर्णाली सामुदायिक वनले बेतलाई खेतीका रूपमा उत्पादन गरी नियमित आपूर्ति हुन थालेपछि यहाँ उद्योग खुल्न थालेका हुन् । बेतलाई अर्को जिल्लामा लैजान वनसम्बन्धी कानुनले झन्झटिलो बनाएकाले पुनर्बासका भरतलाल वन नजिकै उद्योग खोलेर बस्नुभएको हो ।

साढे आठ वर्ष मलेसिया बस्दा बेतबाँसका सामान बनाउन सिकेका भरतलालले मलेसियामै रहँदा नेपाल पुगेपछि बेतकै काम गर्ने सोचसाथ मेसिनका सबै पार्टपुर्जाका फोटो खिचेर राख्नुभएको थियो । नेपाल फर्केपछि मेसिन बनाउन एक वर्ष लागेको र पछि उद्योग सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो ।

भरतलालको उद्योगमा बेतका सामग्री बनाउनुुअघि बेत खुर्किने, चोया निकाल्ने र चोया सफा गर्ने तीनथरी मेसिन प्रयोग भएका छन् । मलेसियामा बनेका चोया भारतको कोलकातासम्म आएको देखेका भरतलालले आफूले बनाएका मेसिन कसैलाई नदिने बरु चोया निकालेर भारतका र अन्य उद्यागीलाई प्रतिकिलो ८०० रुपियाँमा बेच्ने गरेको बताउनुहुन्छ ।

भरतलाल आफू मेसिन चलाउनुहुन्छ, उहाँकी श्रीमती बेतका सामान बनिसकेपछि रङ लगाउनुहुन्छ । उद्योगमा दैनिक १० देखि १२ जनाले काम गरिरहेका छन् । १२ लाखजतिको लगानीमा सुरु भएको भरतलालको उद्योगमा राम्रो काम गर्ने कर्मचारीले मासिक ४० हजार रुपियाँसम्म कमाइरहेका छन् ।

सुरुमा सिक्न आएका व्यक्तिहरू नै सिकिसकेपछि उत्पादन गरेअनुसार पारिश्रमिक पाउनेगरी काम गरिरहेका छन् । मलेसियामा मासिक ७० हजार तलब पाएका भरतलाल आफ्नै देशमा पनि त्यत्तिको कमाइ भइरहेकामा खुसी हुनुहुन्छ ।
टीकापुर बजारमै रहेको अनुज बेतबाँस उद्योगले पनि सामग्री उत्पादन गरी बजारमा ल्याएको छ । धनगढी उपमहानगरपालिका फूलबारीका दिलकुमार र अनिता चौधरीले यो उद्योग सञ्चालनमा ल्याउनुभएको हो । १२ वर्षजति दिल्लीको एक आर्ट ग्यालरीमा फोटो फ्रेमिङको काम गर्नुभएका दिलकुमारले नेपाल फर्केपछि सात वर्षअघि २५ हजार जतिको लगानीमा बेतको मुढा, टोकरी र ऐना फ्रेमिङ सुरु गर्नुभएको थियो । अहिले बेतका १५ भन्दा बढी सामान उत्पादन भइरहेका छन् ।

दिलकुमारले घरेलु तथा साना उद्योग कार्यालयबाट तालिम पाएपछि यस क्षेत्रमा प्रशिक्षकका रूपमा काम गर्नुभएको छ । श्रीमती अनिता चौधरी पनि श्रीमानसँगै सिकेर अहिले प्रशिक्षक बन्नुभएको छ । श्रीमान श्रीमती दुवैसँगै काम गर्नुहुन्छ, दुवै प्रशिक्षक भएकाले कुनै संस्थाले बोलाएमा आलोपालो प्रशिक्षकको काम पनि गर्नुहुन्छ । दिलकुमारको उद्योगमा सात जनाले दैनिक काम गरिरहेका छन् । दिलकुमार र अनिताको उद्योगमा मेसिन नभएकाले उत्पादन भने ढिलो छ ।

कैलालीका बेतबाँस उद्योगहरूले ३०० रुपियाँ पर्ने मुढादेखि कुर्सी, फूलदानी, ह्याङ्गर, ¥याक र ५० हजार मूल्य पर्ने सोफासेटसम्मका सामान उत्पादन गरिरहेका छन् । कैलालीका टीकापुर, धनगढी, अत्तरिया र सुखडमा १३ वटा जति बेतबाँसका सामग्री बनाउने उद्योग चलेका छन् । यहाँ उत्पादिन बेतका सामान नेपालगञ्ज, दाङ, बुटवल, काठमाडौँलगायतका बजारमा जाने गरेका उद्योगी बताउँछन् । पानी (मसिनो) बेत यही प्राप्त भए पनि बेतका सामग्री बनाउँदा आवश्यक पर्ने राइडिङ र फेग्रा जातको मोटो बेत भने अहिले पनि भारतबाटै आइरहेको छ । नेपालको वन प्रशासन वा सामुदायिक वनले मोटो बेत पनि यही विस्तार गर्नसके सहज हुने व्यवसायीको भनाइ छ ।

पछिल्लो समय वन कटानी भई काठको अभाव बढ्दै गएकाले निरन्तर उत्पादन हुने बेतका सामान उपलब्ध हुँदै आएका छन् । गर्मीमा नतात्ने, चिसोमा धेरै नचिसिने भएकाले पनि उपभोक्ताको रोजाइमा बेतका कुर्सी, सोफासेट पर्न थालेका छन् । बेतका सामान पानीबाट जोगाउने हो भने २० देखि २५ वर्षसम्म चल्ने व्यवसायी बताउँछन् । टीकापुर नगरपालिका ब्लक नम्बर १२ का मोहनबहादुर साउद बेतबाँसका सामग्री मानव स्वास्थ्यका लागि लाभदायक, सस्ता र आकर्षक भएकाले एकदमै रुचाइएका हुनसक्ने बताउनुभयो ।
सत्ती कर्णाली सामुदायिक वनका कोषाध्यक्ष मनिराम ढुङ्गाना उपभोक्तालाई प्रतिकिलो ४५ रुपियाँ र उद्योगलाई प्रतिकिलो ६५ रुपियाँ दरले बेत उपलब्ध भइरहेको बताउनुहुन्छ । उहाँले वर्षमा एक हजार ५०० क्विन्टलजति बेत सङ्कलन हुने र त्यसबाट क्विन्टलजति बेत स्थानीय उद्योगहरूमा जाने गरेको बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter