पर्यटन क्षेत्रमा सुधारको सङ्केत : पर्यटकको सङ्ख्या र आम्दानी दोब्बर

विश्वास रेग्मी / काठमाडौँ, फागुन २९ गते । कोभिड–१९ सङ्क्रमणको तेस्रो लहर मत्थर भइरहेको र धेरै देशले यात्रा प्रतिबन्ध खुकुलो बनाइसकेको अवस्थामा नेपाल भित्रिने पर्यटकको आवागमन बढ्न थालेको छ । पर्यटक आगमन बढेसँगै पर्यटन आय पनि क्रमशः बढ्दो क्रममा छ ।

अध्यागमन विभागको तथ्याङ्कअनुसार सन् २०२२ को फेब्रुअरीमा मात्रै १९ हजार ७६६ विदेशी पर्यटक नेपाल आएका छन् । जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा ११६ प्रतिशतले बढी हो । सन् २०२१ को फेबु्रअरीमा नौ हजार १४६ पर्यटक नेपाल आएको विभागको तथ्याङ्कले देखाउँछ ।एकै वर्षको अन्तरमा पर्यटकको सङ्ख्या दोब्बर मात्र भएको छैन, त्यसबापत नेपालले प्राप्त गर्ने आम्दानी पनि दोब्बरले बढेको छ ।

नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको माघ महिनासम्मको तथ्याङ्कअनुसार पर्यटनमार्फत नेपालले माघसम्म ११ अर्ब ३५ करोड रुपियाँ आर्जन गरेको छ । यो आम्दानी अघिल्लो वर्षको माघको तुलनामा करिब तीन गुणाले बढी हो । गत माघमा तीन अर्ब ८८ करोड रुपियाँ मात्र आर्जन भएको थियो । आव २०७७/७८ भरको पर्यटन आय केवल सात अर्ब २६ करोड रुपियाँ थियो ।

कोभिड–१९ सङ्क्रमणका कारण विश्वका अधिकांश देशले बन्दाबन्दी गरेसँगै यात्रा प्रतिबन्ध लाग्दा त्यसको सबैभन्दा ठूलो असर पर्यटनक्षेत्रले बेहोरेको थियो । कोभिड सङ्क्रमणको दोस्रो लहरसम्म विश्वका प्रमुख पर्यटकीय बजार करिब बन्द अवस्थामा थियो ।

तेस्रो लहरपछि भने अवस्था सामान्य बन्दै गएकाले पर्यटकीय गतिविधि पनि फस्टाउन थालेका छन् । फलस्वरूप नेपाल आउने पर्यटक पनि उल्लेख्य वृद्धि हुँदै गएको तथ्याङ्कले पुष्टि गर्छ । पर्यटक सङ्ख्यामा आएको सुधारले तत्काल नै व्यापक लाभ नभए पनि यसले भविष्यमा पर्यटनक्षेत्रमा सुधार हुँदैछ भन्ने सन्देश दिएको नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी प्रमुख दीपकराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “यसले आउँदो सिजनमा धेरै पर्यटक आउने सङ्केत पनि गरेको छ । सुधार जारी रहे सन् २०१९ भन्दा बढी पर्यटक नेपाल आउन सक्ने देखिन्छ।”

धेरै पर्यटकीय गतिविधि प्रकृतिमा आधारित भएको र धेरै भीडभाड पनि नहुने भएकाले नेपालमा पर्यटक आउन खोजिरहेको उहाँले बताउनुभयो । यद्यपि भ्रमणका लागि नेपाल सुरक्षित रहेको सन्देश र ‘कनेक्टिभिटी’ बढाउनेतर्फ नेपालले प्रभावकारी कदम चाल्नुपर्ने उहाँको सुझाव छ ।

कोभिड–१९ सङ्क्रमण नबढे आगामी सिजनमा पर्यटकीय गतिविधि बढ्नेमा आशावादी रहेको पर्यटन व्यवसायी सीएन पाण्डेले बताउनुभयो । कोभिडसँग सम्बन्धित प्रोटोकल खुकुलो बन्दै गएकाले अहिले नेपालबारे जानकारी लिने पर्यटकको सङ्ख्या बढिरहेको उहाँले जानकारी दिनुभयो ।“अहिले खासगरी भारत, युरोपेली मुलुक र अमेरिकाबाट नेपालबारे जानकारी लिने क्रम बढेको छ,” उहाँले भन्नुभयो ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का पूर्वअध्यक्षसमेत रहनुभएका पाण्डेका अनुसार नेपालका लागि ठूलो बजारसमेत रहेको चीनतर्फबाट अझै यात्रा खुकुलो नभएकाले पूर्ण रूपमा पर्यटन क्षेत्रमा सुधार आउन भने समय लाग्ने देखिन्छ । यद्यपि आगामी सिजन (अक्टोबर, नोभेम्बर र डिसेम्बर)मा भने सामान्य अवस्थामा पुग्न सक्ने आँकलन छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter