वाणिज्य बैङ्कमा तलब असमानता उच्च

सीता शर्मा / काठमाडौँ, वैशाख २२ गते । वाणिज्य बैङ्कमा कार्यरत कर्मचारीबीच तलब र सुविधामा धेरै असमानता रहेको पाइएको छ । प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले मासिक १५ लाख रुपियाँसम्म तलब लिने गरेका छन् भने क्यासियरको १४ हजार आठ सय रुपियाँ मात्रै रहेको अध्ययनले देखाएको छ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले २७ वटा वाणिज्य बैङ्कमा गरेको अध्ययनले उक्त तथ्य उजागर गरेको हो ।

धेरैजसो सुविधा प्रबन्धक समूहमा केन्द्रित भएकाले वाणिज्य बैङ्कमा चरम पारिश्रमिक असमानता रहेको उक्त अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । सो अध्ययनअनुसार श्रम ऐनले काम सुरु गरेको मितिदेखि नै कर्मचारीले सञ्चय कोष प्राप्त गर्ने व्यवस्था गरेको भए पनि स्थायीबाहेकका कर्मचारीलाई यो सुविधा दिन बैङ्कले कन्जुस्याइँ गरेको पाइएको छ । करार, आउटसोर्स र तालिमी (इन्टर्न)का रूपमा कार्यरत कर्मचारीले सो सुविधा पाएका छैनन् । अध्ययनमा समेटिएका २७ बैङ्कमध्ये सात बैङ्कले मात्र काम सुरु गरेदेखि नै सञ्चय कोषको सुविधा दिएका छन् ।

सञ्चय कोषको रकम उपलब्ध गराउने बैङ्कमध्ये १० बैङ्कले सञ्चय कोषमा, दुुई बैङ्कले नागरिक लगानी कोषमा रकम जम्मा गरेको देखिएको छ भने १३ बैङ्कले आफ्नै अवकाश कोष बनाई रकम राख्ने गरेको देखिएको जिफन्टको अध्ययनले स्पष्ट पारेको छ ।

उपदानको व्यवस्थामा पनि बैङ्कमा असमान व्यवस्था रहेको देखिएको छ । २७ वाणिज्य बैङ्कमध्ये १७ वटा बैङ्कमा काम सुरु गरेको मितिबाट नै लागू हुने व्यवस्था रहेको अध्ययनमा उल्लेख छ । एउटा वाणिज्य बैङ्कले मात्रै स्थायी भएको मितिदेखि उपदान दिने गरेको पाइएको छ । यसैगरी चारवटा बैङ्कले स्थायी भएको पाँच वर्षपछि मात्र उपदान दिन्छन् भने पाँचवटा बैङ्कले तीन वर्षपछि उपदान दिने गरेका छन् ।

सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध बैङ्कमा कार्यरत कर्मचारीले खाइपाइ आएको सुविधा घट्छ भन्ने भ्रम फैलाई श्रम शोषणको दुष्चक्र चलाउने अवस्थाको अन्त्य हुनुपर्ने जिफन्टको माग छ ।

जिफन्ट महासचिव जनक चौधरीले जति बढी सामाजिक सुरक्षा त्यति नै बढी श्रम लचकताको नीति नेपालका ट्रेड युनियनले अपनाएको र सोहीअनुरूप योगदानमा आधारित सामाजिक सुरक्षासम्बन्धी ऐन र श्रम ऐन सँगसँगै आएको चर्चा गर्दै श्रमिकको पारिश्रमिकमा रहेको यो खाडल पुर्न आवश्यक रहेको बताउनुभयो ।

योगदानमा आधारित सामाजिक सुरक्षा जिफन्टको लामो समयको सङ्घर्षको प्रतिफल रहेको भन्दै यसको प्रभावकारी कार्यान्वयनका लागि जिफन्टले अभियान सञ्चालन गरेको दाबी उहाँको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter