देशभर १४ हजार ४०२ महिला जनप्रतिनिधि निर्वाचित

काठमाडौं, जेठ १२ गते । स्थानीय तह सदस्य निर्वाचन २०७९ मा ५५ हजार ६९९ महिला उम्मेदवार रहेकोमा १४ हजार ४०२ महिला निर्वाचित हुनुभएको छ । निर्वाचन आयोगको पछिल्लो तथ्याङ्कअनुसार सो संख्यामा महिला निर्वाचित भएको देखिएको हो ।

प्रमुख र उपप्रमुख महिला

तीन वटा पालिकामा प्रमुख र उपप्रमुख दुवैजना महिला निर्वाचित हुनुभएको छ । सोमध्ये झापाको गौरीगञ्ज गाउँपालिका प्रमुखमा फूलवति राजवंशी र उपप्रमुखमा पूजन न्यौपाने कुँवर निर्वाचित हुनुभएको छ । राजवंशी नेपाली काँग्रेस र न्यौपाने नेकपा (एमाले) बाट उम्मेदवार बन्नुभएको थियो ।

सोहीअनुसार दैलेखको भैरवी गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा महिला निर्वाचित हुनुभएको छ । सो पालिकाको प्रमुखमा रीता शाही र उपप्रमुखमा देवी भण्डारी निर्वाचित हुनुभएको छ । दुवैजना काँग्रेसबाट उम्मेदवारी दिनुभएको थियो ।

त्यस्तै, कैलालीको लम्की–चुहा नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा महिला निर्वाचित हुनुभएको छ । सो नगरपालिका प्रमुखमा सुशीला शाही र उपप्रमुख पदमा जुना चौधरी निर्वाचित हुनुभएको छ । प्रमुख काँग्रेसबाट र उपप्रमुख एमालेबाट उम्मेदवारी दिनुभएको थियो ।

कुन प्रदेशमा कति महिला

प्रदेश १ मा ८ हजार १९६ उम्मेदवार भएकोमा २ हजार ४५५ जना महिला निर्वाचित हुनुभएको छ । त्यस्तै, मधेस प्रदेशमा १५ हजार ७८० उम्मेदवार रहेकोमा २ हजार ७७० जना निर्वाचित हुनुभयो । सोहीअनुसार बागमति प्रदेशमा ८ हजार ३४४ महिला उम्मेदवार रहेकोमा २ हजार ३४७ जना निर्वाचित हुनुभयो ।

यसैबीच गण्डकी प्रदेशमा ४ हजार ६४९ महिला उम्मेदवार रहेकोमा १ हजार ६२२ जना निर्वाचित हुन सफल हुनुभयो । सोहीअनुसार लुम्बिनी प्रदेशमा ८ हजार ७६७ महिला उम्मेदवार रहेकोमा २ हजार १२४ जना निर्वाचित हुन सफल हुनुभयो ।

आयोगको तथ्याङ्कअनुसार कर्णाली प्रदेशमा ४ हजार ८७८ महिला उम्मेदवार रहेकोमा १ हजार ५२४ जना निर्वाचित हुनुभयो । त्यस्तै, सुदूरपश्चिम प्रदेशमा ५ हजार ८५ उम्मेदवार रहेकोमा १ हजार ५६० जना निर्वाचित हुनुभयो ।

प्रमुख पदमा महिला

देशभरबाट २५ वटा पालिका प्रमुखमा महिला निर्वाचित हुनुभएको छ । आयोगको तथ्याङ्कअनुसार झापाको विर्तामोड नगरपालिका प्रमुखमा पवित्रा महतारा निर्वाचित हुनुभएको छ । त्यस्तै, झापाकै गौरीगञ्ज गाउँपालिका प्रमुखमा फूलवति राजवंशी निर्वाचित हुनुभयो ।

त्यस्तै, मोरङको कानेपोखरी गाउँपालिका प्रमुखमा राजमति इङनाम निर्वाचित हुनुभएको छ । सोलुखुम्बुको लिखु पिके गाउँपालिका प्रमुखमा मिनादेवी कार्की निर्वाचित हुनुभएको छ । खोटाङको जन्तेढुंगा गाउँपालिका प्रमुखमा अरुणादेवी राई विजयी हुनुभएको छ । सोही जिल्लाको हलेसी तुवाचुङ नगरपालिका प्रमुखमा विमला राई निर्वाचित हुनुभयो ।

सोहीअनुसार सप्तरीको सुरुङ्गा नगरपालिका प्रमुखमा गीता चौधरी निर्वाचित हुनुभएको छ । सर्लाहीको बरहथवा नगरपालिका प्रमुखमा कल्पनाकुमारी कटुवाल निर्वाचित हुनुभयो । त्यस्तै, रौतहटको ईशनाथ नगरपालिका प्रमुखमा कौशल्या देवी र सोही जिल्लाको मौलापुर नगरपालिका प्रमुखमा रिनाकुमारी साह निर्वाचित हुनुभयो ।

त्यस्तै, सिन्धुलीको फिक्कल गाउँपालिका प्रमुखमा पार्वती सुनुवार निर्वाचित हुनुभएको छ । सोही जिल्लाको सुनकोसी गाउँपालिका प्रमुखमा दीपा बोहरा दाहाल निर्वाचित हुनुभयो । काभ्रेपलान्चोकको चौरीदेउराली गाउँपालिका प्रमुखमा रेणुका चौलागाई, मकवानपुरको हेटौडा उपमहानगरपालिका प्रमुखमा मीना लामा, चितवनको भरतपुर महानगरपालिका प्रमुखमा रेणु दाहाल, सोही जिल्लाको माडी नगरपालिका प्रमुखमा ताराकुमारी काजी महतो (थारु), निर्वाचित हुनुभएको छ ।

यसैबीच नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को हुप्सेकोट गाउँपालिका प्रमुखमा लक्ष्मी पाण्डे, सोही जिल्लाको सुनवल नगरपालिका प्रमुखमा विमला अर्याल, बागलुङको बडिगाड गाउँपालिका प्रमुखमा गण्डकी थापा अधिकारी निर्वाचित हुनुभएको छ । त्यस्तै, पर्वतको मोदी गाउँपालिकामा हीरादेवी शर्मा निर्वाचित हुनुभएको छ ।

त्यस्तै, पाल्पाको बगनासकाली गाउँपालिका प्रमुखमा सरस्वती दर्लामी, सुर्खेतको बीरेन्द्रनगर नगरपालिका प्रमुखमा मोहनमाया ढकाल र अछामको पञ्चदेवल विनायक नगरपालिका प्रमुखमा अम्बिका चलाउने निर्वाचित हुनुभयो । त्यस्तै, दैलेखको भैरवी गाउँपालिका प्रमुखमा रीताकुमारी शाही निर्वाचित हुनुभएको छ । सोहीअनुसार कैलालीको लम्की–चुहा नगरपालिका प्रमुखमा सुशीला शाही निर्वाचित हुनुभएको छ ।

सोहीअनुसार आयोगको हालसम्मको तथ्याङ्कअनुसार दलित महिला सदस्यमा १२३ स्थानीय तह खाली रहेको छ । त्यस्तै १ जना महिला सदस्य स्थानीय तहमा खाली रहेको छ । त्यस्तै, ४ वटा पालिकाको परिणाम आउन बाँकी छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter