अध्यक्ष चढ्ने गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्न सुरु

चन्द्र पन्दाक / ताप्लेजुङ, जेठ १५ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न सुरु गरिएको छ । गाउँपालिका अध्यक्षले प्रयोग गर्ने अर्थात चढ्ने गाडी (सवारी साधन) लाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न सुरु गरिएको हो ।

गाउँपालिकाको गाडी आफू नचढी एम्बुलेन्सको रुपमा प्रयोग गर्ने घोषणा गर्नुभएका नवनिर्वाचित अध्यक्ष राजन लिम्बू (मुक्ति) ले पालिकाको सवारी साधनमार्फत बिरामीको उद्दार गर्न थाल्नुभएको हो ।

आफू चढ्ने सवारी साधनमा चढाएर गाउँपालिका अध्यक्ष लिम्बू आफैँले शनिबार एक बिरामीलाई उपचारका लागि स्वास्थ्य संस्था पठाउनुभएको छ ।

अध्यक्ष लिम्बूले फक्ताङ्लुङ गाउँपालिका–४ इखाबु खुपातालकी ६३ वर्षीया रामप्यारी लिम्बूलाई पालिकाको सवारी साधनमार्फत् ताप्लेजुङ जिल्ला अस्पतालसम्म पुग्ने प्रवन्ध मिलाउनुभएको हो ।

पथरिया र जन्डिसको समस्या भएकी बिरामी लिम्बूलाई छिरुवा बजारदेखि गाउँपालिकाको गाडी चढाएर जिल्ला अस्पताल पठाएको जनाइएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) फक्ताङ्लुङ गाउँपालिका कमिटी अध्यक्षसमेत नवनिर्वाचित पालिका अध्यक्ष लिम्बूले आफ्नो निर्वाचन घोषणापत्रमै आफू चढ्ने गाडीलाई एम्बुलेन्स बनाउने भनी सार्वजनिक गर्नुभएको थियो ।

उहाँले निर्वाचित भएपश्चात पदभार ग्रहण गर्दै पालिकाका बासिन्दा कोही बिरामी भएमा सवारी साधनका लागि आफू सम्पर्क गर्न आह्वान गर्नुभएको थियो । उहाँको घोषणाअनुसारको योजना शनिबारदेखि कार्यान्वयनमा आएको पाइएको छ ।

यता, नवनिर्वाचित अध्यक्ष लिम्बूको घोषणा तथा प्रतिवद्धता कार्यान्वयनमा आएसँगै चौतर्फी प्रसंशा सुरु भएको छ । जिल्लाकै एक बिकट भौगोलिक क्षेत्र भएको फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष चढ्ने गाडी एम्बुलेन्सका रुपमा प्रयोगमा आउनुले पालिकावासीका लागि ठूलो राहत पुगेको समाजका अगुवा बताउँछन् ।

त्यस्तै, स्थानीय जनताको सुविधाका लागि गाउँपालिको एक एम्बुलेन्स खरिद गर्ने योजना बनाएको पनि अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter