पश्चिम सेती आयोजनाको काम प्राथमिकताका साथ अगाडि बढेको छ : प्रधानमन्त्री देउवा

अविनाश चौधरी / धनगढी, मङ्सिर २२ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशको विकास र समृद्धिमा टेवा पुर्‍याउने उद्देश्यले पश्चिम सेती जलविद्युत आयोजना निर्माणको काम प्राथमिकताका साथ अगाडि बढेको बताउनुभएको छ। बिहीबार धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो। कैलाली उद्योग वाणिज्य सङ्घले आयोजना गरेको महोत्सवमा सहभागी हुन पाउँदा खुसी लागेको बताउनुभयो ।

पश्चिम सेतीसँगै उहाँले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, रानीजमरा–कुलरिया सिँचाई आयोजना, महाकाली तेस्रो सिँचाई आयोजना लगायत ठूला परियोजनाका साथै मझौला तथा साना आयोजनाको निर्माण र सञ्चालनका लागि सरकार प्राथमिकताका साथ अगाडि बढेको उल्लेख गर्नुभयो। यी आयोजनाको निर्माण सम्पन्न भएपछि यो क्षेत्रको विकास हुने उहाँको भनाइ छ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘‘सुदूरपश्चिम प्रदेशको समग्र विकास र समृद्धिमा टेवा पुर्‍याउने उद्देश्यले पश्चिम सेती जलविद्युत आयोजना, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, रानीजमरा–कुलरिया सिँचाई आयोजना, महाकाली तेस्रो सिँचाई आयोजना, चमेलिया जलविद्युत आयोजना, दोधारा–चाँदनी क्षेत्रमा सुख्खा बन्दरगाह, महाकाली करीडोर निर्माणजस्ता ठूला परियोजनाका साथै अन्य मझौला तथा साना आयोजनाहरूको निर्माण र सञ्चालनका लागि सरकारले प्राथमिकताका साथ प्रक्रिया अगाडि बढाएको छ। उक्त आयोजनाहरूको निर्माण सम्पन्न भएपछि यस क्षेत्रको आर्थिक विकासले तीव्र गति लिनेमा विश्वस्त छु।’’

सुदूरपश्चिमको आर्थिक, सामाजिक, राजनीतिक एवं प्रशासनिक केन्द्रबिन्दुको रूपमा रहेको कैलालीको धनगढीमा आयोजना हुन गइरहेको यो महोत्सवले यहाँका उत्पादन र सिर्जनाहरू व्यवस्थित तवरले प्रस्तुत गर्न, एक आपसमा ज्ञान तथा अनुभवको आदान प्रदान गर्न र सहकार्यका क्षेत्रहरू पहिल्याउन सहयोग पुग्ने प्रधानमन्त्री देउवाको विश्वास छ।

महोत्सवमा राखिएका कृषि तथा औद्योगिक उत्पादनले त्यसको आन्तरिक तथा बाह्य बजार विस्तार हुने उहाँले बताउनुभयो। ‘‘महोत्सवको प्रदर्शनीमा राखिएका कृषि तथा औद्योगिक उत्पादनहरूले आम उपभोक्तामाझ ती वस्तुहरूको आन्तरिक तथा बाह्य बजार विस्तार गर्न मद्दत पुग्नेछ’’, प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘‘महोत्सवले यस क्षेत्रमा उत्पादन भएर निकासी गर्न सकिने वस्तुहरूको पहिचान र प्रवर्द्धन तथा तिनको बजार विस्तार गर्न समेत मद्दत पुग्ने छ।’’

सुदूरपश्चिमको केन्द्रको रूपमा रहेको धनगढी उपमहानगरपालिका र यस वरपरको क्षेत्र कृषि, पशुपालन, शैक्षिक र औद्योगिक व्यवसायको विकासको दृष्टिले व्यापक सम्भावना बोकेको सहर भएको उहाँको भनाइ छ। प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘‘सुदूरपश्चिम प्रदेश आर्थिक र पर्यटकीय विकासमा ठूलो सम्भाव्यता बोकेको क्षेत्र हो। खप्तड र रामारोशन लगायतका धेरै मनोरम पर्यटकीय स्थलदेखि तराईका सुन्दर हरिया फाँटहरू भएको यो प्रदेशमा पर्यटन तथा कृषिको विकासमार्फत आर्थिक समृद्धिलाई द्रुतगतिमा अघि बढाउन सकिन्छ।’’

दुवैतिरका छिमेकी मुलुकसँग सिमाना जोडिएको यो प्रदेशमा पर्यटन प्रवर्द्धन, औद्योगिक वस्तुको उत्पादन र निकासी, कृषि र पशुपालन क्षेत्रको विस्तार, जडीबुटी उत्पादन र प्रशोधन तथा शैक्षिक विकासलाई प्रवर्द्धन गरी यस क्षेत्रलाई मुलुककै एउटा आर्थिक हबको रूपमा विकास गर्ने प्रशस्त सम्भावना रहेकोसमेत उहाँले बताउनुभयो।

‘‘उत्तर र दक्षिणतर्फका दुवै मित्र राष्ट्रसँग यातायातले जोडेर यस प्रदेशलाई प्रमुख प्रवेशद्वारका रूपमा विकास गर्न सकिन्छ। यसका लागि यो क्षेत्रको प्रदेश सरकार र स्थानीय तहले एकआपसमा समन्वयात्मक ढङ्गले काम गरी अगाडि बढ्न आवश्यक छ’’, प्रधानमन्त्री देउवाले भन्नुभयो।

सुदूरपश्चिम प्रदेशको आर्थिक र पूर्वाधार विकासका लागि नेपाल सरकारको तर्फबाट उपलब्ध गराउनुपर्ने सहयोगका लागि समेत उहाँले प्रतिबद्धता जनाउनुभएको छ। उहाँले स्पष्ट कार्ययोजना ल्याए आफूले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो।

स्थानीय सम्भावना र स्रोतको उचित सदुपयोग गर्दै आर्थिक क्रियाकलापलाई विस्तार गर्न र यस क्षेत्रको विभिन्न भाषा, मौलिक संस्कृति, रहनसहन, परम्पराका साथै प्राकृतिक सम्पदाको संरक्षण र संवर्द्धनका निम्ति ठोस कार्ययोजना बनाउन आग्रहसमेत उहाँले गर्नुभएको छ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter