अब सातै प्रदेशबाट श्रम स्वीकृति

काठमाडौँ, पुस २३ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौँबाट मात्रै दिँदै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सातवटै प्रदेशबाट दिने तयारी गरेको छ ।

प्रदेश १ र मधेश प्रदेशबाट मात्रै श्रम स्वीकृति सेवा सुरु हुन सकेको छैन । प्रदेश १ को विराटनगर र मधेश प्रदेशको जनकपुरमा रहेको श्रम तथा रोजगार कार्यालयबाट पुस २४ गते आइतबारदेखि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति दिने भएको हो । यी कार्यालयबाट पुनः श्रम स्वीकृति मात्रै हुँदै आएकोमा आइतबारदेखि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति पनि दिने तयारी भएको श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिनुभयो ।

आगामी आइतबारदेखि विराटनगर र जनकपुरमा रहेको श्रम तथा रोजगार कार्यालयबाट समेत सबै किसिमका श्रम स्वीकृति दिने गरी तयारी पूरा भएको वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले जानकारी दिनुभयो । जनकपुर र विराटनगरमा सेवा गरेसँगै सातै प्रदेशबाट सबैखाले श्रम स्वीकृति लिन सकिने व्यवस्था भएको महानिर्देशक आचार्यको भनाइ छ ।

श्रम मन्त्रालयले विज्ञप्तिमार्फत वैदेशिक रोजगारीमा जानेका लागि श्रम स्वीकृति लिन भौतिक रूपमा कार्यालयमै उपस्थित हुनुपर्ने र विभिन्न झन्झट हुने समस्या हटाई अनलाइनबाट सबैखाले श्रम स्वीकृति लिन सकिने व्यवस्था गरिएको छ । सबैभन्दा बढी वैदेशिक रोजगारीमा जाने मधेश प्रदेश र प्रदेश १ का नागरिकलाई आआफ्ना प्रदेशका श्रम रोजगार कार्यालयबाट सबैखाले श्रम स्वीकृतिका सेवा लिन विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

सबै प्रदेशमा श्रम तथा रोजगार कार्यालय स्थापना गरी क्रमिक रूपमा सेवा दिन थालिएको थियो । अन्य प्रदेशका कार्यालयबाट सबै सेवा सञ्चालन हुन थाले पनि प्रदेश १ र मधेश प्रदेशमा जनशक्ति अभावका कारण यो सेवा सुरु हुन सकेको थिएन ।

सचिव अर्यालका अनुसार वैदेशिक रोजगार कार्यालय गण्डकी प्रदेशको पोखरा र लुम्बिनी प्रदेशको बुटवलबाट गएको असोजदेखि नै संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृति सेवा दिँदै आएको छ । यसैगरी कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा रहेको श्रम तथा रोजगार कार्यालयबाट पनि पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति प्रदान हुन थालिसकेको वैदेशिक रोजगार विभागका महानिर्देशक आचार्यले जानकारी दिनुभयो । बागमती प्रदेशमा ताहाचलस्थित श्रम तथा रोजगार कार्यालयबाट सेवा प्रदान हुँदै आएको छ ।

कम्प्युटर प्रणालीबाट नै निर्धारण हुने मिति र समयका आधारमा स्वीकृति प्रदान गर्ने प्रणाली भएकाले समयमै आवेदन नदिने र अन्तिम समयमा श्रम स्वीकृति लिन खोज्दा समस्या हुँदै आएको छ । त्यसैले श्रम स्वीकृतिका लागि समयमा नै अनलाइन आवेदन दिएर बिनाझन्झट सेवा लिन मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ । पछिल्लो समय श्रम मन्त्रालय र यस मातहतका निकायबाट प्रदान हुने सेवालाई छिटो र सरल रूपमा लिन मिल्ने गरी अनलाइन प्रणालीको विकास गरिएको जनाइएको छ ।

सबैखाले श्रम स्वीकृति पूर्ण रूपमा अनलाइनमार्फत नै प्रदान हुन्छ । पुनः श्रम स्वीकृतिदेखि व्यक्तिगत र संस्थागत श्रम स्वीकृति पनि पूर्ण रूपमा अनलाइनबाट मात्र प्रदान हुन्छ । श्रम स्वीकृति लिनका लागि कोही पनि कार्यालयमा गएर लाइन लाग्न पर्दैन ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter